देवी स्थानबाट होलीको उत्सव शुरू हुन्थ्यो

159

राजेश मिश्र

उहिले देहातमा हार्मोनियम, ढोलक, नाल, झाल, कटझाल, मृदङ्ग र उपङ्गलगायतका साङ्गीतिक ध्वनि गाउँँ–गाउँँमा सुनिन्थ्यो। त्यो सुन्दर माहोल प्रत्यक्ष अनुभूति गर्नेबाहेकले कल्पना मात्र गर्न सक्छन्। लोकसंस्कृतिको संरक्षणप्रति जनआस्था प्रबल थियो। खेतीपातीको थकानमाझ पनि रातिको समय कीर्तन र कथा निरन्तर हुन्थ्यो। सत्यनिष्ठामा आधारित देहाती जीवनशैलीमा लोककथा, प्रवचन, कीर्तन आदिको उच्च महत्व थियो। उहिले अहिलेको जस्तो देखावटीपन अपवादबाहेक थिएन। उहिलेका पुस्तालाई अहिलेको आधुनिक प्रविधिसँग तारतम्य मिलाउन सहज छैन। त्यसैले अघिल्लो पुस्ताका अमूल्य रचना संरक्षणको अभावमा लोपोन्मुख हुने अवस्था छ।
यस दैनिकका प्रधान सम्पादक आदरणीय जगदीश (शर्मा) अङ्कलले पारम्परिक लोकगीतहरू आजकाल सुन्न छाडेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नवपुस्ताका सञ्चारकर्मीहरूले सकेसम्म हराइरहेको लोकसंस्कृतिको खोजबिन गर्नुपर्छ, चासो लिनुपर्छ, बाहिर ल्याउनुपर्छ।” उहाँको चिन्तनले मेरो दिमागमा तरङ्ग प्रवाहित भयो। ग्रामीण परिवेशमा हुर्केको म बाल्यकालमा मन छुने लोकगीतहरू मेरो हजुरबुबा (स्व भागवत मिश्र)बाट असीमित सुनेको छु। झन्डै चार दशकअघि कीर्तन सुन्दै हजुरबुबाको काँखमा निदाएको म बिहान ‘निर्गुन’को रागले आँखा खुलेको अझै स्मरण छ मलाई। गाउँका पुराना पुस्ताका अधिकांश लोकगायक परलोकवासी भइसके। बाँचिरहेका लोकगायकहरू लोकसंस्कृतिको संरक्षण र निरन्तरताको सवालमा चिन्तामग्न छन्।यही सेरोफेरोमा पोखरिया नगरपालिका वडा नं ४ का ‘व्यास’ लक्ष्मणप्रसाद चौहान तथा उनको मण्डलीसँग साक्षात्कार गरें। उनको मण्डलीमा आबद्धमध्ये शिवपूजनप्रसाद चौहान (सहायक), गेन्दा पटवा (गायक एवं ढोलकवादक), बृजराजप्रसाद चौहान (ढोलकवादक) पनि उपस्थित थिए। विगतका बारेमा कुरा गरिरहँदा उनीहरू अत्यन्तै भावविभोर भएको मैले अनुभूति गरें। आधुनिकतासँगै विलुप्त हुन लागेको लोकपरम्पराप्रति प्रतीक दैनिकको चासो र जिज्ञासाले उनीहरूको अनुहारमा खुशीको भाव प्रस्ट झल्किरहेको थियो। आजको यस स्तम्भमा विशेषतः होलीको सन्दर्भ कोट्याउने प्रयास गरिएको छ। होलीका पारम्परिक लोकगीतमध्ये एक मधुर गीतसँगै शुरू भएको संवादको संक्षिप्त अंश प्रस्तुत छ।
श्रीराम लिए अवतार, सुरन हर खाई,
आनद बधाव अवधपुर बाजे,
सखिया मङ्गल गाइ।।१।।
हे विप्र बोलाई के वेद उचारत,
कर–करचन देत लुटाई।।२।।
मण्डलीका प्रमुखसमेत रहेका चौहानले भने, “प्राविधिकरूपले उपरोक्त लोकगीतलाई ‘चौताला’ भनिन्छ, लय र तालमा कहिल्यै नसुनेकाले उपरोक्त पङ्क्तिमा अक्षर मात्र देख्ने सम्भावना छ।” अघिअघि चौहान गाइरहेका थिए भने पछिपछि तालीको ताल ठोक्दै अन्य सबैले दोहो–याइरहेका थिए। उहिले होलीमा गाइने लोकगीतहरू अहिले लोपप्रायः छन्। चौहानले आफ्ना हस्तलिखित धेरै रचना देखाए। होलीको लोकगीत कानमा पुग्ने बित्तिकै स्थानीय नेता चौहान पनि आइपुगे। त्यसको केहीबेरपछि सोही बाटो भई घरतर्फ गइरहेका गुल्टेनी चौहान पनि त्यहीं अड्किए। लयमा लय मिलाउँदै सघाउन थाले।
बृज नारी सिंगर बनाई, चलो दधी बेंचे।।१।।
चीर चरन के चोली पेन्हे, ओढे पीताम्बर के साडी।।२।।
हर हुमेल अमोल के डन्डा हो।।३।।
नाक में नकबेसर धाई।।४।।देहातमा पुरानो पुस्ताका अहिले पनि कतिपय मानिस छन्, जोसँग आफैंले रचेका अनेकौं रचना छन्। झन्डै साढे चार दशकदेखि चौहानको अभिभावकत्वमा पौराणिक लोकसंस्कृतिको मूल तत्व जीवन्त छ। निरन्तरता पाइरहेको छ। विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा असीमित प्रस्तुति दिएको उनलाई सम्झना छ। झन्डै दुर्ई वर्षदेखि पक्षघातका कारण निरन्तरता अवरुद्ध भएकोप्रति उनले खेद प्रकट गरे। यद्यपि उनी हतोत्साहित छैनन्। उनी भन्छन्, “जबले सास बा, तबले आस बा।” उहिले खेतीकिसानीसँगै लोकसंस्कृतिप्रति मानिसहरूको रुचि स्वस्फूर्त थियो। मनोरञ्जनको सवालमा भजनकीर्तन, प्रेरणदायी कथा, पुराणवाचन आदि गाउँँ–गाउँँमा हुन्थ्यो। पछिल्लो नवपुस्तामा अपवादबाहेक हस्तान्तरणको क्रम चिन्ताजनक छ। यद्यपि गाउँँकै पछिल्लो पुस्ताका सञ्जय सिंह क्षेत्री पुरानो अस्तित्व जगेर्नाकोे निम्ति अघि सरेकोप्रति पुरानो पुस्ता खुशी छ। क्षेत्रीले पनि लोकसंस्कृतिप्रति आधारित मण्डली खडा गरेका छन्। निरन्तरता दिंदै आइरहेका छन्। कुराकानीसँगै पुनः ‘चहकी’ प्रविधिमा आधारित एक होली गीत गुञ्जायमान भयो।
बम भोला ने होली मचाए हैं
खांक भभुत शिव अङ्ग लगाए
डमरु हो डमरु डिमिक बजाए हैं
अघिल्लो पुस्ताका मंगनी साह, इनर महतो, सुरुज महतो, भिखारी महतो, चुल्हाई महतो तथा भवनाथ पण्डितलगायतबाट आफूहरूले प्रेरणा पाएको उनीहरू बताउँछन्। विगतलाई स्मरण गर्दै उनीहरूको सामूहिक स्वर गुञ्जित भयो, “हामीलाई प्रेरणा दिने पुस्ताले अघिल्लो पुस्ताबाट प्रेरणा पाएर संस्कृतिलाई जोगाए र हामीलाई हस्तान्तरण गरे।” अर्को एक प्रसङ्गमा उनले भने, “उहिले प्रत्येक रात्रि भजनकीर्तन गाइन्थ्यो, बजाइन्थ्यो, हामीले पनि सुन्दै र सिक्दै विद्या आर्जन ग–यौं, हार्मोनियम र ढोलक आदि सिक्यौं।”
शिवपूजनप्रसाद चौहानले भने, “उहिले यति विघ्न मदिरासेवन हुँदैन थियो। सेवन गर्ने मानिसले जथाभावी घुम्न पाइँदैन थियो। होहल्ला गर्ने वा जथाभावी उपद्रव मच्चाउने प्रवृत्ति पूर्णतः प्रतिबन्धित थियो। होलीमा सम्पूर्ण गाउँँवासीले एकत्रित भएर रमाइलो गर्ने संस्कार थियो। अचेल असामाजिक गतिविधि बढ्दो छ। आधुनिकताको नाममा मूल संस्कृति विकृतिमा रूपान्तरित हुन थाल्नु दुःखद छ।” यसैबीच पुनः एक चहकी विधाका रागिनी गुञ्जायमान भयो।
नइया घुमवलें जमुना कन्हैया
नइया घुमवलें जमुना कन्हैया
काथी कर नइया काथी केरुवारी
केइ हो केइ खेवन हारा…
नइया घुमवलें जमुना कन्हैया
तनी दधी के कारन कन्हैया, नइया घुमवलें जमुनों
के–के बाहन नैया चढतु हैं, केइ हो खेवन हारा कन्हैया
राधे रुकमीन नइया चढतु हैं, कृष्ण हो कृष्ण खेवनींया
मण्डलीमा आबद्ध सदस्यहरूले आआफ्नो घरमा होली खेलेपछि सातोमाईको मन्दिरमा जम्मा हुन्थे। प्रथमतः देवीको स्थानबाट होलीको उत्सव प्रारम्भ हुन्थ्यो। आलोपालो प्रत्येक घरमा पुग्नुपथ्र्यो। गाउनुपथ्र्योे। अबिर र रङ्गले चिन्न नसकिने भइन्थ्योे। ‘मसला’
(नरिवल, छोहोडा, बदाम र सुपारीको मिश्रण)का साथै दक्षिणास्वरूप नगद पनि दिन्थे। अबेर राति पोखरिया बजारस्थित शिवमन्दिरको प्राङ्गणमा देव आराधनासँगै फगुवाको विसर्जन हुन्थ्यो।
शिवशङ्कर ब्याहन आए, हेमञ्चल द्वारे।।१।।
साजी बारात चले शिवशङ्कर डमरु देत बजाई।।२।।
है अङ्ग में भभुती सङ्ग दोऊ बालक।।३।।
गले शेषनाग लपटाई।।४।।
पुर्खाजनले ‘भुसौली’ र ‘घारीघरमा’ मा बसेर पारम्परिक संसाधनबाट अभ्यास गर्दथे। अमूल्य लोकगीतहरूको रचना गर्दथे। अहिले आधुनिकतासँगै समाजमा भव्य पण्डाल र सिंहासनमा आसीन पात्रहरूको प्रशस्ती छ। आममनोविज्ञान सामान्यभन्दा पनि आडम्बरतर्फ बढी आकर्षित छ। आडम्बर किन भनिएको हो भने विश्वप्रसिद्ध कथित सन्त आशाराम र रामरहिम जस्ता प्रवृत्ति जगजाहेर छ। यस सन्दर्भमा देहातको एक प्रचलित कहावत मेल खान्छ, ‘रोगिया के भावे, उ वैदा फुर्मावे’ अर्थात् मनुष्यको स्वभाव अनुकूल हिंड्ने कुटिल पात्रको बजारीकरण फस्टाउँदो छ। आम मानसिकतालाई ‘हिप्नोटाइज’ गर्ने र फाइदा कमाउने उद्यम बढ्दो छ। पश्चिमा संस्कृतिमा रमाउने हामी आफ्नै संस्कृतिको उत्थानप्रति गैरजिम्मेवार छौं।
होलीको शुभकामना आदानप्रदान गर्ने प्रवृत्तिलाई उत्तम र सराहनीय भन्नुपर्छ। यद्यपि त्यस्ता कार्यक्रमहरूमा लोकसंस्कृतिको उत्थानभन्दा राजनीतिक रङ्ग हावी छ। लोकसंस्कृतिको संरक्षणप्रति बेवास्ता किन ? जिम्मेवारी कसको हो ? स्थानीय सरकारको अग्रसरता पनि स्थानीय संस्कृतिको संरक्षण र उत्थानको सवालमा सन्तोषप्रद छैन।
वीरगंजमा बेला–बेला ठूला धार्मिक महोत्सव आयोजना गरिन्छ। उद्योगीहरूबाट चन्दा सङ्कलन गरेर ठूलो धनराशि खर्च गरिन्छ। यद्यपि स्थानीय लोकसंस्कृतिको उत्थान हुने प्रकृतिका कार्यक्रम कहिल्यै प्राथमिकतामा पर्दैनन्। लोपोन्मुख लोकसंस्कृतिको उत्थानप्रति सामाजिक र राजनीतिक नेतृत्व अपरिहार्य छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्