बङ्गलादेश नेपालको लागि लाभदायक बजार

38

विश्वराज अधिकारी

चीन र भारतपछि नेपालको सबैभन्दा नजीकको छिमेकी देश बङ्गलादेश हो। बङ्गलादेशसँग सिमाना नजोडिएको भए पनि यो देश नेपालको निकट छिमेकी हुन पुगेको छ। भौगोलिकरूपमा बङ्गलादेश भूटानभन्दा पनि नेपालबाट नजीक छ। बङ्गलादेशको सिमाना नेपालसँग जोडिएको भए वा नेपालले आफ्नै जलमार्ग प्रयोग गरेर बङ्गलादेशसम्म पुग्न सक्ने स्थिति भएको भए बङ्गलादेश नेपालको लागि एउटा भरपर्दो बजार हुन सक्थ्यो। तर बङ्गलादेशसम्म पुग्न नेपालको लागि सीमा जटिलता (भारतको भूमि प्रयोग गरेर जानुपर्ने) भएकोले यो मुलुक नेपालको लागि भरपर्दो एवं लाभदायक बजार हुन सकेको छैन। नेपालले बङ्गलादेशसम्म पुग्न भारतको भरपर्नु पर्ने र बेलाबेलामा भारत र नेपालबीच कटुता उत्पन्न हुने भएकोले बङ्गलादेश नेपालको लागि लाभदायक बजार हुन सकेको छैन। यस किसिमको खास स्थितिमा नेपालको बङ्गलादेशसँगको व्यापारिक सम्बन्ध भारतले नेपाललाई गर्ने व्यवहारमा निर्भर हुन पुगेको छ। तर नेपालले बङ्गलादेशसँग व्पापारिक साझेदारी गरेर ठूलो लाभ प्राप्त गर्ने सुनौलो अवसर पनि छ।
नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्धका विभिन्न आयाम छन्। बङ्गलादेशको सांस्कृतिक प्रकृति खास किसिमको छ। यो देशको बहुसङ्ख्यक व्यक्तिको धर्म पाकिस्तानसँग (इस्लाम) मिले तापनि संस्कृति भने हिन्दू संस्कृतिसँग मिल्न आउँछ। यो कारणले पनि बङ्गलादेश नेपालको लागि एउटा राम्रो व्यापारिक साझेदार हुन सक्छ। बङ्गलादेशका बहुसङ्ख्यक व्यक्ति नेपालमा पर्यटकको रूपमा आउन सक्छन्। नेपालको पर्यटन क्षेत्रले बङ्गलादेशबाट राम्रो आम्दानी प्राप्त गर्न सक्छ। त्यसकारण नेपालले बङ्गलादेशसँगको व्यापारको सन्दर्भमा पर्यटनमा खास जोड दिनु लाभदायक देखिन्छ।
धार्मिक सहिष्णुता बङ्गलादेशमा पाकिस्तानभन्दा बढी छ। तालिबान, अलकायदाजस्ता कट्टर धार्मिक सङ्गठनको प्रभाव पाकिस्तानको तुलनामा बङ्गलादेशमा ज्यादै कम छ। धार्मिक सहिष्णुताले बङ्गलादेशलाई स्थिर बजार बन्न विशेष सहयोग पु–याएको छ।
बङ्गलादेश नेपालको लगि महत्वपूर्ण बजार हुन सक्नुका अनेक कारण छन्। बङ्गलादेश आर्थिकरूपमा उदीयमान बजार हो। बजार विनिमय दरको आधारमा बङ्गलादेश विश्वको ३९ औं ठूलो अर्थतन्त्र हो भने क्रय शक्तिको आधारमा विश्वको २९ औं ठूलो अर्थतन्त्र हो। तीव्ररूपमा आर्थिक प्रगति गर्ने मुलुकहरूमध्ये एकको पहिचान बनाएको बङ्गलादेश भारतपछि दक्षिण एशियाको दोस्रो ठूलो अर्थतन्त्र हो। यो मुलुक विश्वको ११ औं उदयीमान बजार हो। दक्षिण एशियामा भारत पछि यो देशसँग मात्र सर्वाधिक विदेशी–विनिमय सञ्चिति (ायचभष्नल–भहअजबलनभ चभकभचखभ) छ। यसैगरी विप्रेषण (च्झष्ततबलअभ) भिœयाउने राष्ट्रहरूको सूचीमा यसको स्थान विश्वमैं आठौं रहेको छ। यो मुलुकले सन् २०१९ मा १७.५ बिलियन डलर विप्रेषण भिœयाएको थियो। युरोपियन युनियन, संयुक्त राज्य अमेरिका, जापान, भारत, अस्ट्रेलिया, चीन एवं आसियान राष्ट्रहरूसँग महत्वपूर्ण व्यापारिक साझेदार रहेको बङ्गलादेशले कपडा (त्भहतष्भिक) उत्पादनमा विश्वमा नै ख्याति आर्जन गरेको छ। यसले ठूलो परिमाणमा तयारी पोशाक उत्पादन एवं निर्यात गर्दछ। यसबाहेक फर्मास्युटिकल्स, सिपबिल्डिङ, स्टील, विद्युतीय उपकारण, ऊर्जा, निर्माण सामग्री उत्पादन आदि क्षेत्रमा पनि बङ्गलादेश निकै अगाडि छ। खुला र उदार अर्थतन्त्रद्वारा मात्र देशको आर्थिक विकास तीव्र गतिमा हुन्छ भन्ने अवधारणमा बलियो विश्वास राख्ने बङ्गलादेश आफैंमा दक्षिण एशियाको बलियो बजार हुन पुगेको छ।हालै (२०७९ चैत ९–१० गते) नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण एवं यो भ्रमणलाई बङ्गलादेशले दिएको उच्च महत्वले नेपाल–बङ्गलादेशबीच थप व्यापार विस्तार हुने सम्भावनालाई उच्च बल प्रदान गरेको छ। नेपाल एवं बङ्गलादेशका उच्च पदाधिकारीहरूबीच नेपाल–बङ्गलादेश व्यापार विस्तारबारे भएका विभिन्न छलफलहरूले बङ्गलादेश नेपालसँग असल समझदारी कायम गरी व्यापार गर्न इच्छुक रहेको देखिएको छ। साथै नेपालसँगको व्यापारलाई बङ्गलादेशले उच्च महत्व दिएको अनुभव गरिएको छ। राष्ट्रपति भण्डारी एवं नेपाली प्रतिनिधिमण्डललाई बङ्गलादेशले उच्च महत्व दिएको थियो। राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीदबीच भेटवार्ता एव छलफलसमेत भएको थियो।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीदको मैत्रीपूर्ण निमन्त्रणमा बङ्गलादेश पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत गर्न ढाकास्थित सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वयं राष्ट्रपति हमीद पुगेका थिए। राष्ट्रपतिका साथै विदेशमन्त्री, राज्यमन्त्री एवं अन्य केही मन्त्री पनि भण्डारीको स्वागतार्थ विमानस्थल पुगेका थिए। नेपालका राष्ट्रपतिको स्वागतार्थ विमान स्थलमा बङ्गलादेशका राष्ट्र प्रमुखलगायत अन्य उच्च अधिकारीहरूको उपस्थितिले बङ्गलादेशले नेपाललाई उच्च महत्व दिएको तथ्य पुष्टि हुन आएको छ। नेपालले बङ्गलादेशबाट पाएको यो स्नेह, सम्मान एवं महत्वलाई व्यापार विकासमा उपयोग गर्नुपर्छ। नेपाल–बङ्गलादेश व्यापार विकासका नयाँनयाँ तरीकाहरू हामीले खोजी गर्नुपर्छ। र यस्तो गर्न आवश्यक छ। नेपालले व्यापारका लागि भारत र चीनमाथिको अति निर्भरता घटाउन बङ्गलादेशसँग तीव्र गतिमा व्यापार बढाउन आवश्यक छ।
राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच निम्न चार क्षेत्रमा सहकार्य गर्ने भनी एक समझदारीपत्रमा हस्तारक्षर भएको छ। समझदारीहरू यस प्रकार छन् ः
१ पर्यटन विकासका लागि दुवै राष्ट्रले सहकार्य गर्ने,
२ सन् २०२२ देखि २०२५ सम्म दुवै देशले संस्कृति आदानप्रदानमा सहकार्य गर्ने,
३ स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा दुवै राष्ट्रले सहकार्य गर्ने, तथा
४ थप रेल रूट (बङ्गलादेशको रोहनपुरदेखि भारत पश्चिम बङ्गालको सिंहबादसम्म) र ट्रान्जिट रूटका लागि सहकार्य गर्ने।
बङ्गलादेशसँग विभिन्न क्षेत्रमा व्यापार विस्तार गर्ने भनिए पनि अहिलेका लागि भने हामीले मुख्यगरी पर्यटन र निर्यातमा विशेष जोड दिनु आवश्यक छ। बङ्गलादेशले अहिले निर्यात, मुख्यगरी तयारी पोशाकबाट राम्रो आम्दानी प्राप्त गरिरहेको छ। यसैगरी विदेशमा काम गर्ने यस देशका नागरिकहरूले राम्रो आम्दानी गरेर ठूलो परिमाणमा विप्रेषण (च्झष्ततबलअभ) स्वदेश पठाइरहेका छन्। यी दुई क्षेत्रको राम्रो आम्दानीले गर्दा अहिले बङ्गलादेशीहरूको आम्दानी बढेको, माग बढेको छ र साथै क्रय शक्ति पनि बढेको छ। बङ्गलादेशीहरूको यो स्थितिले उनीहरूलाई पर्यटनमा अधिक खर्च गर्न सहयोग पु–याएको छ। बङ्गलादेश नेपालको नजीक रहेको र नेपाल र बङ्गलादेशबीच सम्बन्ध अति नै सौहार्दपूर्ण रहेकोले ठूलो सङ्ख्यामा बङ्गलादेशीहरू नेपाल भ्रमणमा आउने उच्च सम्भावना छ। नेपालले आफ्नो पर्यटन नीति र नियम सरल पारेर बङ्गलादेशीहरूलाई नेपाल आउन आकर्षित गर्नुपर्छ र यो कार्यको थालनी छिटै गर्नु उपयुक्त हुन्छ। नेपाल पहाडी मुलुक भएको, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको र हिमाली दृश्यको थप आकर्षणबाट सज्जित रहेकोले यहाँ बङ्गलादेशी पर्यटकहरू ठूलो सङ्ख्यामा आउने छन्। नेपाल उनीहरूका लागि नौलो, सस्तो र सुरक्षित गन्तव्य हुनेछ। सरकारले मात्र होइन, निजी क्षेत्रले पनि यसतर्फ चाFसो लिन आवश्यक छ।
निर्याततर्फ भने नेपालले बङ्गलादेशमा मौलिक नेपाली वस्तुहरू निर्यात गर्नु लाभदायक देखिन्छ। धातुले बनेका सामानहरू, जडीबुटी, मौलिक तयारी पोशाक, काष्टकलाका सामग्री, दृश्य चित्र, ऊनी कपडा, ढाकाका पोशाक आदि जस्ता मौलिक नेपाली उत्पादनहरू नेपालले बङ्गलादेश निर्यात गर्नु लाभदायक हुन्छ।
बङ्गलादेशको नेपालप्रतिको उदार दृष्टिकोण एवं सदाशयताको नेपालले व्यापारिक क्षेत्रमा व्यापक उपयोग गर्न आवश्यक छ। व्यापार विविधीकरणका लागि पनि यस्तो गर्नु आवश्यक छ। बङ्गलादेशसँगको व्यापार विस्तार भएमा आयातका लागि भारतप्रतिको अति निर्भरता पनि कम भएर जानेछ।
दक्षिण एशियाको दोस्रो आर्थिक महाशक्ति बङ्गलादेशसँग नेपालले आर्थिक सम्बन्ध विस्तार गर्नु नेपालको लागि आर्थिक मात्र होइन, बौद्धिकरूपमा पनि लाभदायक हुनेछ। यी दुई राष्ट्रबीच राम्रो व्यापारिक साझेदारी भएमा नेपालका व्यापारीहरूले व्यापारका अनेकौं तरीका बङ्गाली व्यापारीहरूबाट सिक्ने अवसर पनि पाउने छन्। हुन पनि बङ्गलादेशले छोटो अवधिमा, आफ्नो स्थापनाकालको केवल ५० वर्षको समयमा चमत्कारी आर्थिक प्रगति गरेको छ। र यस्तो प्रगति यसले नरम नीति र छिमेकी राष्ट्रहरूप्रति सम्मानपूर्वक दृष्टिकोणले गर्दा प्राप्त गरेको हो।बङ्गलादेशको छिमेकी राष्ट्रहरूसँग ठूलो समस्या छैन, भारत र पाकिस्तानझैं। यसैगरी बङ्गलादेशी समाज धर्ममा अति कट्टर पनि छैन, अफगानीहरू भएझैं। बङ्गलादेश मूलतः व्यापारी राष्ट्र हो। यी कारणहरूले गर्दा पनि नेपालले बङ्गलादेशसँग व्यापार गर्नु निकै लाभदायक हुने देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्