लगे रहो मुन्नाभाइ

46

कुमार रुपाखेती

पाको उमेर भएपछि शाहवंशीय राजाहरूले शासनको बागडोर आफ्नो योग्य उत्तराधिकारीलाई सुम्पिएर देश–देशाटन र धर्म–कर्म गर्न हिंडेको इतिहासमा पढ्न पाइन्छ।
२०४६ सालको आन्दोलनमा राजा वीरेन्द्रले सहज र सरल तरीकाले नै सक्रिय राजतन्त्र त्यागेका थिए। यी राजाले आफ्नो बदमाश सहोदर भाइ धीरेन्द्र शाहको अधिराजकुमारको पगरी खोसेर दण्डित गरेका थिए।
अचेल त उमेरको हदले सामाजिक सुरक्षा भत्ताका हकदार थुप्रै ज्येष्ठ नागरिक सत्तामा हकदाबी गरिरहेको देख्दा हग्नेभन्दा देख्नेलाई लाज लाग्न थालेको छ। प्रचण्ड, ओली, देउवा, रामचन्द्र पौडेल, झलनाथ, बाबुराम भट्टराई, माधव नेपाल, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवहरू ज्येष्ठ नागरिक भत्ताका योग्य र सत्ताका लागि अयोग्य पात्र बनिसकेका छन्। तर सत्ताको छिनाझपटीमा यिनले मुलुकको न्याय व्यवस्था, प्रहरी प्रशासन र अख्तियार आयोगजस्ता संस्थाहरूसँग खेलाची गर्ने, कमजोर पार्ने कसरतसमेत गर्दै आएका छन्। न्यायालयले आजीवन काराबास तोकेकालाई राजनीतिक सहमतिको नाममा चोख्याउन खोज्ने, असल आचरण देखाएको भन्दै कैद मिनहा गर्ने, खुलेआम घुमिरहेका अपराधीलाई बेपत्ता फरार घोषित गर्ने र समाजको शान्ति सुव्यवस्था भङ्ग गरेको आरोपमा पक्राउ परेका गुन्डा बदमाशका नाइकेलाई प्रहरी प्रशासनलाई दबाब दिएर छुटाउने, अनि भाषण गर्दा प्रहरी प्रशासन शान्ति सुरक्षा गर्न नाकाम, असफल भन्दै दुई जिभ्रे कुरा गर्ने ‘उल्टे चोर कोतवालको डाटे’ भनेको यही हो।
पञ्चायतकालमा राजा संविधानभन्दा माथि रहेको कुराको घनघोर विरोध गर्ने जमात नै अहिले संविधानभन्दा उपल्लो तहमा देखिन्छन्। अचेल त एउटा सडकछाप नेतालाई पक्रनसमेत प्रहरी प्रशासनले ‘माछा–माछा भ्यागुता’को खेल खेल्दै छ। त्यस्तै, अचेल ठूलै हङ्गामा र ठेलमठेल हुँदासमेत पाएको कुर्सी छाड्ने आँट र चलन छैन। अब त उमेर र स्वास्थ्यले समेत दीनहीन र पितृ अवस्थामा पुगिसकेकाहरूलाई झनै कुर्सीको भोक जागेको सहजै देख्न सकिन्छ। अतिले खति गर्छ अथवा विनाश काले विपरीत बुद्धि भन्न सक्ने कोही माईका लाल देखिंदैन। अरू बेला युवा नेताको बिल्ला भिर्नेहरूसमेत यिनको अगाडि नतमस्तक, र भिजेको बिरालो बन्दै आएका छन्। चक्रवर्ती महाराज बन्न अचेल दलहरूमा पाँडे पजनी पनि खुबै मौलाएको छ। संसारका थुप्रै मुलुकमा बदमाशी र भ्रष्टाचार गरेको कसूरमा प्रधानमन्त्री र राष्ट्रपतिहरू जेलजीवन बिताइरहेका छन्, किनकि त्यहाँको न्यायालय पूर्णरूपमा स्वतन्त्र छन् क्यारे। कानून टुहुरो बनाइएको मुलुकमा यस्तो दृश्य दुर्लभ हुने नै भयो।
भारतीय शहर कोलकाताको एउटा जेलमा इलामका नेपाली नागरिक दुर्गाप्रसाद तिमल्सिनाले अनाहकमा ४० वर्षदेखि जेलजीवन बिताउन बाध्य भए। श्रीलङ्का र अन्य थुप्रै मुलुकमा निर्दोष नेपालीहरू बन्दी बनाइएका छन् तर खै तेल मालिश गरेर राजदूत बनेकाहरू किन त्यहाँको यस्तो अन्धा कानून देख्दैनन्, बोल्दैनन्। सधैं घरझगडामा रुमलिरहने हाम्रो सरकार त झन् यस्ता खबरहरूबाट बेखबर नै हुने नै भयो। तर मुलुकभित्र चारैतिर भष्मासुर पारामा राजनीतिक हस्तक्षेप गर्न उद्यत नेताहरूको उटपट्याङ कार्यले गर्दा निर्मला पन्त जस्ता अभागीले अझै न्याय पाउन सकेको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको चैत ३ गतेको ‘तू–तू, मै–मै’सहितको सर्वदलीय बैठकको हबिगत त देखिहाल्यौं। आँखामा छारो हाल्ने पाराको पुनस्र्थापनापछिको संसद्को तेस्रो बैठक सबैले अवलोकन गरेकै हो। कुम्लो बोकी ठिमीतिर भनेझैं ज्येष्ठ नागरिक (नेता)हरूको गुट–उपगुटको बैठक र भेला, धाक–धम्की अनि रवाफले पत्रपत्रिका र समाचार छ्याल्लब्याल्ल भएको छ। राजधानीका पत्रकारहरूले स्थायी बिजनेश पाएका छन्।
क्या गज्जब, कुनै बेला ‘म पनि एमाले, तँ पनि एमाले’ बोलको गीत गाउने एमालेहरू अचेल ‘तँ होइन, म एमाले’ भन्दै दोहोरी गीत कार्यक्रम चलाइरहेका छन्। यस्तो क्रियाकलापले गर्दा यिनीहरूसँग लाज पनि लजाउन थालेको छ। शक्ति अझै जनतामा होइन, सत्तामा छ भन्ने कुरासमेत स्पष्ट भएको छ। बूढा नेताहरूको सत्तालिप्सालाई धेरैले बूढी घोडी लाल लगामको संज्ञा दिन थालेका छन्। मोही माग्ने ढुङ्ग्रो लुकाउने प्रकृतिको वर्तमान राजनीति कता कोल्टे फेर्ने हो भन्ने यकीन नभए पनि आफ्नो तालुमा आलु फल्छ कि भनेर थुप्रै ज्येष्ठ नागरिक अखाडामा ताल ठोक्दै छन्। घुमिफिरी रूम्जाटार भनेझैं राजनीतिको केन्द्र चाहिं अझै म्याद गुज्रिएकाहरू नै बनेका छन्।
काश्मीरलाई लिएर भारत र पाकिस्तानको अन्त्यहीन झगडाझैं नेपालमा २०४७ सालदेखि नै सत्ताको लुँछाचँुडीमा दलबलसहित खिंचातानी चलेको तीन दशक नाघिसक्यो तर पनि इतिश्री हुने लक्षण देखिंदैन। पदका भोका झगडालु नेताहरूको खुङ्खार प्रवृत्ति जङ्गली जनावरसँग दाँज्ने स्तरको हुँदासमेत यिनको चेत खुलेको छैन। हिङ लगे न फिटकिरी, माल चोखा स्तरमा पेशा र व्यापारमा परिणत भएको हाम्रो राजनीति ताक परे तिवारी, नत्र गोतामेको वरिपरि घुमुन्जेलसम्म स्तरहीन हुने नै देखिन्छ। लगे रहो मुन्नाभाइ। अस्तु।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्