कुमार रुपाखेती

२००७ सालको जनक्रान्तिमा वीरगंज र पर्सा जिल्लाले अग्रणी भूमिका निर्वाह गरेको थियो। यो क्रान्तिको वाहक नेपाली काङ्ग्रेस थियो। भारततिर आउजाउ गर्न सरल र सुगम भएको र लुकीछिपी बस्नसमेत सहज भएकोले त्यतिखेरका नामचीन काङ्ग्रेसी नेताहरू वीरगंज र पर्सा जिल्लाको ग्रामीण भेगको बाटो भएर वारिपारि गरिरहन्थे। नेताहरूको बाक्लो ओहरदोहर, सरसङ्गत र उठबैठले गर्दा वीरगंज र वरपरका जनताले समेत त्यो ऐतिहासिक क्रान्तिमा हातेमालो गरेर धेरै काङ्ग्रेसी पनि बने। २००७ को क्रान्तिमा पर्साको अलौ गाउँको पनि महत्वपूर्ण योगदान छ। थीरबम मल्ल शहीद भएपछि त्यतिखेर पर्सा झनै चर्चामा आयो। त्यही २००७ सालको राजनैतिक कमाइ पर्सामा काङ्ग्रेसले अहिलेसम्म भजाएर खाँदै आएको छ। त्यसैले कुनै बखत पर्सा जिल्ला काङ्ग्रेसको गढ थियो।
२००७ सालको क्रान्तिपछि पर्सा जिल्ला ‘खोला त–यो लौरो बिस्र्यो’सरह भयो। पर्सेली काङ्ग्रेसमा विपीको चाहनाविपरीत सुकिलामुकिलाहरू हावी हुँदै गए, मैं लाउँ, मैं खाउँ प्रवृत्ति मौलाउँदै गयो। किन रुन्छस् मङ्गले आफ्नै ढङ्गले भनेझै पर्सामा काङ्ग्रेस पातलिंदै गयो। काङ्ग्रेसको दुश्मनले पनि पर्सामा काङ्ग्रेस यति कमजोर होला भनी सपना सोचेको थिएन होला। पर्सामा काङ्ग्रेस पतन हुँदै जानुमा स्वयं यहाँका काङ्ग्रेसीहरू नै दोषी छन्। पर्सामा काङ्ग्रेसको नाममा हाटहुट गर्ने, व्यापार गर्नेहरू अहिले मौलाएको र काङ्ग्रेसको राजनीति गर्नेहरू डढेलो लागेको रूखझैं उजाड देखिन्छन्। २०१७ सालमा राजा महेन्द्रले व्यवस्था परिवर्तन गरेपछि धिमा रूपमा फेरि पर्सामा काङ्ग्रेस मौलाउन थाल्यो। कलेजमा विद्यार्थी युनियनको निर्वाचनदेखि वीरगंजको गल्ली, चोक र चियापसलहरूमा समेत काङ्ग्रेसको चर्चा चल्न थाल्यो। २०४६–२०४७ को आन्दोलनमा समेत नेपाली काङ्ग्रेस पर्साले नेतृत्वदायी भूमिका निर्वाह ग–यो। आन्दोलनको सफलतापछि स्थानीय काङ्ग्रेसीहरूको चुरीफुरी र तुजुक बढ्न थाल्यो, यस्तो घमण्डी चाला र पाराले गर्दा पर्सामा काङ्ग्रेसीहरूलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था छ अहिले। केन्द्रबाट कुनै प्रभावशाली नेता यहाँ आउँदा वर्षायाममा ट्वार्र–ट्वार्र गर्दै भ्यागुता जम्मा भएझैं जम्मा हुने, टाउको गिनाउने, हल्ला गर्ने, माना पकाउने चलन यिनमा अझै देखिन्छ।
वर्तमानमा पर्सा काङ्ग्रेस कमजोर हुनुमा यिनको घात, प्रतिघात, शक्तिको खिंचातानी प्रमुख कारण हो। काङ्ग्रेस पर्साका अधिकांश छाउराहरूले केन्द्रको देखासिकी आफ्नै गुट, उपगुट सृजना गर्नु, आफ्नै सहकर्मीलाई प्रतिद्वन्द्वी ठान्नु, खुइल्याउने दुष्प्रयास गर्नु, केन्द्रको गुटको भरिया बन्नु, अन्तर्घात गर्नु, गैरराजनैतिक हर्कतमा सामेल हुनु आदि कारणले गर्दा पर्सामा काङ्ग्रेस लोप हुने अवस्थामा पुगेको छ। २०७४ सालको आम निर्वाचनमा पर्सामा काङ्ग्रेस लोप हुने अवस्थामा पुगेको छ। २०७४ सालको आम निर्वाचनमा पर्साको ४ वटै संसदीय क्षेत्रबाट काङ्ग्रेस बाइकाट (लोप) भएकै हो। महानगर र विधानसभा सिटबाट पनि लोपोन्मुख अवस्थामा पुगेकै हो। पर्साका अधिकांश संसदीय र विधानसभा सिटहरूमा काङ्ग्रेस आफ्नै कारणले तल परेको थुप्रै सत्यतथ्य बाहिर आएकै हो। पर्सा काङ्ग्रेसमा निर्वाचनको टिकट वितरण नै विद्रोहको बिगुल फुकेको आभास गरिन्छ। आर्थिक चलखेल, पक्षपात, घात, अन्तर्घात नै यिनको टिकट वितरणको विशेषता हो। सानोतिनो विद्यार्थी निर्वाचन, अन्य सङ्गठनहरूको निर्वाचन, काङ्ग्रेस जिल्ला समितिको गठन, महाधिवेशन प्रतिनिधि छनोटजस्ता भारेभुरे घटनामा समेत यिनीहरूमा गुट, उपगुटको भूत हावी रहन्छ।
काठमाडौंमा उतिबेला गणेशमानको लौरोले जित्छ भनेझैं विगतमा पर्सा जिल्लामा डङ्काको चोट जित्ने पर्सा काङ्ग्रेस अहिले नगरपालिकाको मेयर, विधायक, सांसद जस्ता महत्वपूर्ण पदबाट वञ्चित (नदारद) देखिन्छ। अहिले पनि पर्सा काङ्ग्रेस विपक्षी दलका उम्मेदवारलाई पराजित गरेर रमाउनुभन्दा आफ्नै पार्टीभित्रका सहकर्मीलाई पराजित गरी चुटकी लिन्छ। यदि पर्सा काङ्ग्रेसले आफ्नो अन्तर्कलहबाट बाहिर निस्किएर सङ्गठनलाई दरिलो र कसिलो नबनाउने हो भने कसैले यिनलाई काँध थाप्नेवाला छैन, किनकि भीरबाट खस्न लागेको गोरुलाई राम राम मात्र भन्ने हो, काँध कसैले थाप्दैन। स्पष्ट भन्ने हो भने पर्सा काङ्ग्रेसलाई केहीले आफ्नो बपौती बनाउन खोजेको प्रतीत हुन्छ र यस्तो प्रकृतिले पर्साबाट अरू होइन, स्वयं काङ्ग्रेस नै सफाया हुने देखिन्छ। स्मरण रहोस् पर्सामा अझै काङ्ग्रेसलाई भरोसा गर्ने, माया गर्ने थुप्रै अदृश्य शक्तिहरू मौजुद तर निराश छन्। राणा र राजालाई फाल्यौं भन्ने धक्कु लगाउने पर्साका माउ, काङ्ग्रेसीहरूले अचेल आफ्नैलाई फाल्न खोजेको देख्दा हाँसो उठ्छ। वीरगंजमा थुप्रै घरानिया काङ्ग्रेसीहरू अचेल काङ्ग्रेसको नाम सुनेर नाक–मुख खुम्च्याउँछन्। किन होला ? देर आयद दुरुस्त आयद भन्ने बाटो पर्सेली काङ्ग्रेसले कहिले अवलम्बन गर्ने होला भन्ने पर्खाइमा यहाँका थुप्रै पुराना (हाल चलनचल्तीमा नभएका) काङ्ग्रेसीहरू भेटिन्छन्। अस्ति निधन भएका वीरगंजका प्रजातन्त्र सेनानी रामकृष्ण कार्कीलाई पर्सा काङ्ग्रेसले नै चिन्दैन।
देउवा नेतृत्वको नेपाली काङ्ग्रेसले केन्द्रमा समेत प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न असफल भएको आरोप लाग्दै आएको छ। कम्युनिस्टहरूको झमेलामा फसेको राजनीति र मुलुकलाई भरपर्दो आश्वासन दिन सकेको छैन। मुलुकलाई अन्योलमा पार्ने, गतिहीन पार्ने नेपाल कम्युनिस्ट पार्टीको गतिछाडा प्रवृत्तिविरुद्ध काङ्ग्रेसले अझै कसिलो झापड हान्न सकेको छैन। त्यसैले अझै टुक्रिएर पनि नेपालको राजनीति कम्युनिस्टहरूकै अघिपछि घुमिरहेको देखिन्छ। देउवा, रामचन्द्र पौडेलको अझै एकमुख हुन सकेको छैन। यिनीहरू अझै पार्टीभित्रै दरिलो, बलियो बन्न आफ्नो बहुमूल्य ताकत र समय खेर फाल्दैछन्। यिनका यस्तै रवैयाले होला २०१५ सालतिर छिमेकीसँग झगडा पर्दा ‘तेरो घरमा काङ्ग्रेस पसोस्’ भनेर सराप्ने गर्दथे।
कुनै बखत मुलुकको नम्बर वन पार्टीको केन्द्र र जिल्लाको एकैखाले दयनीय अवस्था देख्दा उदेक लाग्नु स्वाभाविकै हो। यही चालाले काङ्ग्रेसले आफ्नो पुरानो दिन फिर्ता पाउन सक्दैन। तर ती यादगार दिन सम्झेर कुनै काङ्ग्रेसीलाई रुन मन लागे कोही सहानुभूति प्रकट गर्न आउने छैन। जय नेपाल, भोट अन्तै खसाल। अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here