अप्लाइड हिस्ट्री र आफ्नै अप्लाइड हिस्ट्री

56

सञ्जय मित्र

एक मित्र भन्दै थिए– सबैभन्दा बढी अप्लाइड सब्जेक्ट म्याथ हो र सबैभन्दा कम अप्लाइड हिस्ट्री। आजभोलि यस किसिमको भाषा शिक्षित समुदायमा सुपाच्य भइसकेको छ र जो नेपाली वा मातृभाषामा यस प्रकार इङ्ग्लिश शब्दको प्रयोग गर्दैनन्, उनीहरूलाई अरूहरूले कमजोर ठानेको पाइन्छ वा मौका पर्दा जिस्क्याउने पात्रको रूपमा प्रयोग गर्दछन्।
मैले प्रश्न गरें– आफनो तीन पुस्ताका नाम भन्नुहोस्। उनले सजिलै बताइदिए। मैले धन्यवाद दिएँ।
किन सोध्नुभयो ? मैले धन्यवाद दिइसकेपछि उनले प्रश्न गरे।
अप्लाइड हिस्ट्रीको महत्व बुझ्न।
यसमा अप्लाइड हिस्ट्री कहाँबाट आयो ?
प्रत्युत्तरमा मैले एउटा प्रश्न गरें– तपाईंको तीन पुस्ता भन्नुहोस्।
उनी अकमकिए र अकमकिंदै फेरि पहिलेकै जवाफ दोहो–याए।
मैले बताएँ– “तपाईंले आफ्नो बारेमा बिल्कुलै हाफ जानकारी राखेर दुई हाफ जोड्दा म्याथमा फुल हुन्छ भनेर बुझेको मान्छे हिस्ट्री र कल्चरमा जहिले पनि एक हाफ मात्र जोडेर फुल हुन्छ भन्ने हो ?”
यसपटक उनले केही पनि बुझेनन्। ट्वाँ परेर हेरेको हे–यै भएपछि मैले अलिक स्पष्ट पार्दै भनें– “म्याथमा जहिले पनि एक हाफ र अर्को एक हाफ गर्ने हो भने एक हुन्छ। कसैले आफ्ना दुई हाफ सर्ट वा दुई हाफ पाइन्ट लगाएर बजारमा हिंड्यो भने उसलाई कसैले फुल सर्ट वा फुल पाइन्ट लगाएर हिंडेको मान्दैन। यस्तै दश वर्षको बालकको एक हाफ र दुई वर्षको बालकको एक हाफ सर्टलाई जोडेर एक फुल सर्ट हुन सक्दैन। एकै व्यक्तिको दुईवटा सर्ट वा पाइन्टको दाहिने हाफलाई जोड्न सकिंदैन वा जोडेर एक फुल बनाउन सकिंदैन। तपाईंको अप्लाइड म्याथले यसको उत्तर दिंदैन तर साहित्यले सजिलै दुई हाफ भनिदिन्छ।”
अनि अप्लाइड हिस्ट्री र कल्चरको कुरा कहाँ यसमा मेल खायो त ?
दुई हाफ जोडेर एक हुन्छ भन्ने फर्मुला तपाईंलाई थाहा छ। तर यसलाई अप्लाई गर्न आएन। यसैले हिस्ट्री र कल्चरको कुरा नबुझेको हो।
कसरी ?
तपाईं फुल हो कि हाफ ?
म फुल छु, हाफ कसरी हुन सक्छु ?
हैन, मैले पनि हाफ भनेको होइन। तपाईं फुल नै हुनुहुन्छ। म्याथ र हिस्ट्री दुवै किसिमले। तर तपाईं म्याथको फर्मुलामा कसरी हाफ नभएर फुल हुनुहुन्छ भनेर प्रमाणित गर्न सक्नुहोला ?
उनी असहज बने।
अब झोंक्काझोंक्की होला कि जस्तो हुन गयो। जहिले पनि म्याथ पढ्नेहरू हिस्ट्रीलाई हेप्दा रहेछन् तर आज हिस्ट्रीले नै रुवाएको देखेर अलिक सहज हुन भनें र फेरि त्यसै पारामा बुझाउने प्रयत्न गरें– “वर्तमानलाई कतिपयले इतिहास र भविष्यको फ्युजन भन्दछन्। यसमा विश्वास नगर्नुस् तर तपाईं त बुबा र आमा दुवैको फ्युजन हो नि ? तपाईंको बुबाको गाउँ र आमाको गाउँको फ्युजन तपाईंको ठाउँ हो किनभने एकै व्यक्ति बुबा र आमा हुन सक्दैनन्।”
अनि कहाँबाट कसरी आयो यसमा हिस्ट्री र कल्चरको फ्युजन ? अलिक बम्केरै तर कन्ट्रोल गरेर उनले बोले। अझै पराजयको मनोवैज्ञानिक भाव छैन। अहमताको प्रदर्शन अझै पनि रहेको छ।“अघि दुईचोटि तीन पुस्ता भनेर सोध्दा जहिले पनि आफू, बुबा र बाजेको नाम किन आयो ? म्याथलाई पनि साइन्स नै मानिन्छ र अझ म्याथ पढ्नेहरूले म्याथलाई प्योर साइन्स मान्छन् भने तीन पुस्ते सोध्दा जहिले पनि बुबातिरका मात्र किन ? किन आमातिरका नामहरू आउँदैनन् ? कसैको जन्ममा आमाको भूमिकालाई नजरअन्दाज गर्न सकिन्छ त ? आमा र बुबाको भूमिकाको तुलना गर्नुहुन्न भन्ने कुरा पनि मान्ने, जन्मको दृष्टिकोणले आमा र बुबा दुवैको भूमिका हुने हुन्छ भन्ने कुरा विज्ञानको दृष्टिकोणले पनि मान्ने तर पैतृक कुरा मात्र गर्ने हो भने हाफ सोचाइ मात्र भएन र ? आमा र बुबा दुवैको तीन पुस्ते जान्ने कतिका मानिस छन् ?”
अलिक सहज भएजस्तो लागेको थियो। मेरो प्रहार अलिक ठीक ठाउँमा परेको पनि लागेको थियो। उनको अनुहार हेर्दा मेरो मन्तव्य प्रभावकारी भएको झलक दिन्थ्यो। यसले मेरो तर्कलाई अलिक ऊर्जा मिल्यो र मैले व्याख्यानलाई जारी राखें– “हरेक मानिस आमा र बुबाका फ्युजन हुन्। अझ साइन्स पढ्नेले यो कुरा बुझ्न कम्फर्टेबल मान्नुपर्ने हो किनभने छोरा र छोरी किन गर्भमैं निर्धारण हुन्छन् भन्ने कुरा साइन्सले बढी बुझेको छ। अनि जसरी हामी बुबातिरका वंशज हौं, उसैगरी आमातिरका पनि वंशज नै हौं। हो, सम्पत्तिको हक लाग्ने अवधारणाले एकलकाँटे बनाएको हुनुपर्छ तर साइन्सले त बिर्सिनुभएन नि ?”
यस्तो कुरो पहिले नै भनिदिनुपथ्र्यो। वास्तवमा हामीले बुबातिर मात्र वंशज खोज्दछौं। वंशावलीहरू जुन विगतमा निर्माण गरिए, त्यसै आधारमा पिताका पुत्र, पुत्रका पुत्र अनि उनका पुत्रतिर मात्र ध्यान जाने इतिहास बन्यो। त्यही इतिहासलाई बोकेर साइन्सले पनि हिंडिरहेको छ।
उनको कुरामा चित्त दुखाउने ठाउँ छैन। अब अप्लाइड हिस्ट्रीको कुरा पनि सार्थक हो र अप्लाइड हिस्ट्री पनि नवीन साइन्स हुन सक्छ भन्ने कुरो बुझ्यो। आमाहरूको इतिहास पनि हुन्छ र आमाहरूको इतिहासको प्रोफाइल पनि बन्नुपर्दछ।
एउटा तर्क यस्तो पनि राखें– आमातिरको पुस्ता खोज्दा पनि गम्भीर भएर ध्यान दिनुपर्ने हुन्छ कि आमाको इतिहास खोज्दा फेरि पुरुषवादी हाफ नहोओस् ?
कसरी ?
कुरो सहज छ नि।
सहज भएपनि हिस्ट्रीको कुरो म त्यत्ति बुझ्दिनँ, अलिक प्रस्ट पार्नुहोस्।
हिस्ट्रीमा बुझ्नुपर्ने केही हुँदैन भन्नेले हिस्ट्रीको कुरो म त्यत्ति बुझ्दिनँ भनेपछि मनमा अलिक हाँसो उठ्यो। यो वास्तवमा उनीप्रतिको व्यङ्ग्य थियो। मैले दबाएँ र स्पष्ट शब्दमा केही कुरा यसरी राखें– “आमाको इतिहास खोज्दा आमाको बुबा को ? उनका बुबा को ? तिनका बुबा को अनि तिनका बुबाको ? भनेर मात्र खोज्नुहुन्न। अहिले सबैतिर यही खोज्ने चलन भएकोले इतिहास कसैको हुन नसकेको हो वा इतिहासको कोही आफन्त हुन नसकेको हो। यसरी पनि खोज्ने हो र अर्को तरीकाले पनि खोज्ने हो।”
त्यो अर्को तरीका के हो त ? सोझो कुरा बताउनुहोस् न। उनी फेरि हल्का झोक्किएर झर्के।
मैले संक्षेपमा बताउन थालें– “जसरी आमाको बुबाको नाम के हो ? र तिनका बुबाको नाम पनि के हो भनी खोज्दै अगाडि बढ्छौं, त्यसरी नै आमाको आमाको नाम के ? आमाको मामाघर कहाँ ? आमाको आमाको आमा कहाँकी र नाम के ? अनि तिनकी जन्मदात्री…? यसरी सम्भव भएसम्म खोज्नु उपयुक्त हुन्छ। यसरी बनाउन सकिन्छ नितान्त आफ्नो अप्लाइड हिस्ट्री ?”
हाम्रो आफ्नो परिवारमा रहेका महिलाहरूको यसरी पितातर्फका र मातातर्फका गरी दुवैतर्फका जतिसम्म सकिन्छ, त्यतिसम्मका मात्र पुस्ताको नाम खोज्ने प्रयास गरौं त। कति राम्रो इतिहास बन्दछ। यो जीवन्त इतिहास चाहिं अप्लाइड हिस्ट्री हुन सक्ला कि ?
एकपटक पहिले यसै स्तम्भमा लेखिसकेको छु कि हामी आफ्नै वरपरको इतिहासको खोजी गर्दैनौं, संरक्षण गर्दैनौं, जुन अति आवश्यक छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्