चीन–भारत–पाकिस्तानको कालो छायामा दक्षिण एशियाको बृहत् बजार

56

विश्वराज अधिकारी

अहिले विश्वको कुल जनसङ्ख्या ७ अरब ८० करोड रहेको छ भने भारतको जनसङ्ख्या लगभग १ अर्ब ३८ करोड। यसमा चीनको १ अर्ब ४४ करोड जनसङ्ख्या जोड्दा २ अर्ब ८२ करोड हुन आउँछ। यसरी विश्वको कुल जनसङ्ख्याको ३६ प्रतिशत चीन र भारतमा मात्र छ। यो हिसाबले चीन र भारतको संयुक्त स्थितिलाई विश्वको सर्वाधिक ठूलो बजार मान्न सकिन्छ। यो बजार आर्थिकरूपमा अति लाभदायक हुन सक्छ, तर हुन सकेको छैन। भारत र चीनबीच रहेको अति कटुताको कारण, पर्याप्त सम्भावना भएर पनि यो क्षेत्र समृद्ध बजार बन्न सकेको छैन। आर्थिक सबलताको कुरा गर्ने हो भने चीन विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति हो भने भारत विश्वको तेस्रो ठूलो आर्थिक महाशक्ति हुने दौडमा छ।
यसैगरी चीनलाई नजोडेर केवल दक्षिण एशियाको मात्र जनसङ्ख्याको स्थिति हेर्ने हो भने पनि यो क्षेत्रमा करीब २ अर्ब मानिसको बसोवास रहेको पाइन्छ। दक्षिण एशिया पनि एउटा महत्वपूर्ण व्यापारिक बजारको रूपमा देखिन्छ। हुन पनि दक्षिण एशियामा विश्वको चारखण्डमध्ये एक खण्ड जनसङ्ख्याको बसोवास छ। बसोवासको यो स्थितिले दक्षिण एशिया पनि एउटा महत्वपूर्ण बजारको रूपमा देखा पर्नुपथ्र्यो। तर अचम्म १ भारत र चीनको संयुक्त क्षेत्रीय स्थिति वा दक्षिण एशिया, एक धनी व्यापारिक बजारको रूपमा देखा पर्न सकेको छैन। यस्तै स्थिति रहेको र एक अर्काको छिमेकी बनेर बसेका युरोपका केही देश जनसङ्ख्याको हिसाबले दक्षिण एशियाभन्दा निकै साना भए तापनि विश्वको धनी बजार बन्न सफल भएका छन्। युरोपका देशहरू मिलेर बनेको ‘युरोपियन युनियन’ विश्वको धनी बजारमध्ये एक हुन पुगेको छ। विश्वका ठूला अर्थ व्यवस्थाको रूपमा हेर्दा अमेरिका पछि युरोपियन युनियन विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन आउँछ।
भारत र चीनको संयुक्त स्थिति वा दक्षिण एशिया किन आर्थिक हिसाबले ठूलो र सबल बजार बन्न सकेन ? यी क्षेत्रमा विश्व जनसङ्ख्याको ठूलो भाग बस्ने भए तापनि यी क्षेत्र किन धनी बजार बन्न सकेनन् ? यो महत्वपूर्ण प्रश्न हो । र यो प्रश्नको उत्तर खोज्नु आवश्यक छ। यो क्षेत्रलाई बलियो बजार हुन नदिने जिम्मेवार पक्षको पहिचान गरी जनतालाई अवगत गराउन आवश्यक छ। यो क्षेत्र विश्वको धनी बजार हुन सक्ने सम्भावना भए तापनि यहाँको राजनीतिले त्यस्तो हुन नदिएको रहस्य यस क्षेत्रको गरीब जनतालाई अवगत गराउन आवश्यक छ।
यो क्षेत्रलाई गरीब बजारमा रूपान्तरण गर्न त्यो पक्ष जिम्मेवार रहेकोले यो क्षेत्रमा गरीबी नघट्नुमा त्यसलाई जिम्मेवार तुल्याउनु आवश्यक छ।दक्षिण एशिया क्षेत्रलाई धनी बजार हुन नदिन भारत–पाकिस्तान कटुतापूर्ण राजनीतिक सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको छ। पाकिस्तान र भारत, विभाजनकालदेखि नै एक अर्काका शत्रु रहँदै आएका छन्। यी दुई राष्ट्रले सम्बन्ध सुमधुर पारेर यस क्षेत्रलाई एउटा सबल बजार बनाउनुको साटो परस्पर युद्ध गर्नमा समय खर्च गरे र अहिले पनि अविरलरूपमा खर्च गरिरहेका छन्। यी दुवै राष्ट्रमा ठूलो सङ्ख्यामा गरीबहरूको बसोवास भए तापनि यिनको ठूलो रकम युद्ध सामग्री खरीदमा खर्च भइरहेको छ।
भारतले प्रत्येक वर्ष आफ्नो सङ्घीय बजेटको लगभग १६ प्रतिशत रकम सुरक्षामा खर्च गर्छ। यसैगरी कुल गार्हस्थ्य उत्पादनको २.१ प्रतिशत (सन् २०२०–२१) रकम सुरक्षामा खर्च गर्छ। भारतले प्रत्येक वर्ष सुरक्षामा औसतमा ९ प्रतिशतले वृद्धि गर्दै लगेको देखिन्छ। अर्थात् परम्परागत शत्रु पाकिस्तानलाई तर्साउन (सैन्य बल देखाएर) ठूलो रकम खर्च गरिरहेको छ। भारतले पाकिस्तान र चीनसँग जोडिएका आफ्नो भूमिमा करोडौं रुपियाँ खर्च गरेर ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको छ। पाकिस्तानलाई तर्साउन सुरक्षामा खर्च गर्ने रकम यदि भारतले यस क्षेत्रको बजार विकासमा गर्ने हो अथवा आफ्नै देशको गरीबी कम गर्न गर्ने हो भने यो क्षेत्रमा उल्लेखनीय किसिमले गरीबी घट्ने थियो।
पाकिस्तानको स्थिति पनि भारतजस्तै छ। पाकिस्तानले पनि सुरक्षामा ठूलो रकम खर्च गरिरहेको छ। र पाकिस्तानले सुरक्षामा गर्ने ठूलो खर्च भारतले आफूमाथि गर्ने कुनै पनि सैन्य कारबाहीको जवाफ तुरून्त दिनका लागि खर्च गरेको सहजै अनुमान लगाउन सकिन्छ। पाकिस्तानले आफ्नो कुल बजेटको लगभग १८ प्रतिशत रकम (सन् २०२०–२१) सुरक्षामा खर्च गर्छ। यो पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनको लगभग ३ प्रतिशत हो। पाकिस्तानको सशस्त्र सैन्यबल विश्वको छैठो ठूलो सैन्यबल हो भने भारतको सशस्त्र सैन्यबल विश्वको दोस्रो ठूलो (पहिलो चीन) हो। पाकिस्तान र भारत दुवैले सुरक्षामा ठूलो रकम खर्च गरिरहेका छन्। तर यी दुवै राष्ट्रले एक समझदारी कायम गरी यो क्षेत्रमा दीर्घकालीन शान्ति स्थापना गर्ने हो भने दुवले सैन्य बलमा खर्च गर्ने रकम यस क्षेत्रको आर्थिक विकासमा सदुपयोग हुने थियो।
दक्षिण एशिया र यसको छिमेकी चीन सम्मिलित यो भूखण्डको राजनीतिक स्थिति विचित्रको छ। चीनको भारतसँग कटुतापूर्ण सम्बन्ध छ। यी दुई राष्ट्रबीच सानाठूला गरी अनेकौंपटक युद्ध पनि भइसकेको छ। केही महीना पहिले मात्र भारतको गलवानमा यी दुई राष्ट्रबीच अति त्रूmर मुठभेड भएको थियो। यी दुई राष्ट्रबीच सम्बन्ध सुमधुर हुने सम्भावना परसम्म पनि देखिंदैन। यी दुई राष्ट्रबीच युद्ध हुँदा दुवै देशका जनतालाई बेफाइदा भए पनि नेताहरूलाई राजनीतिक फाइदा (सत्तामा दीर्घकालसम्मको पकड) हुने भएकोले जानाजान, उद्देश्यपूर्वक एक अर्कासँग लड्न तयार रहन्छन्। दुई देशबीच बेलाबेला हुने युद्धले आफू (दुवै देशका नेता) हरूलाई राजनीतिक फाइदा हुने भएकोले यस क्षेत्रमा शान्ति स्थपना नहोस्, निरन्तर युद्ध होस् भन्ने चाहन्छन्। यो कारणले गर्दा पनि भारत र चीनबीच एक किसिमले निरन्तर युद्ध भइरहेको छ।
पाकिस्तान–भारत सम्बन्ध त झन् पानी बाराबारको अवस्थामा छ। दुवै एक अर्कोको शत्रुको रूपमा रहेको देखिन्छन्। यस्तो हुनमा दुई देशका सामान्य जनता होइन, दुई देशका नेताहरू जिम्मेवार देखिन्छन्। यी दुई देशबीच सम्बन्ध राम्रो भए आफ्नो राजनीतिक भविष्य असुरक्षित र कटुतापूर्ण भए सुरक्षित हुने भएकोले यी दुवै देशका केही नेताहरू भारत र पाकिस्तानबीच निरन्तर कटुता होस्, निरन्तर सानाठूला युद्ध होस् भन्ने चाहन्छन्। यी कारणले गर्दा यो क्षेत्रमा शान्ति स्थपाना हुन सकिरहेको छैन। यो क्षेत्रको गरीबी कम हुन सकिरहेको छैन।
भारतलाई पाकिस्तानको शत्रु देखाएर पाकिस्तानका केही नेताहरूले राजनीतिक फाइदा लिइरहेका छन् भने पाकिस्तानलाई आफ्नो शत्रु देखाएर भारतका केही नेताहरूले राजनीतिक फाइदा लिइरहेका छन्। चुनावमा विजय हासिल गरिरहेका छन्। सरकार निर्माण गर्न सफल भएका छन्। यो कारणले गर्दा पनि यी दुवै देशका नेताहरूले यो क्षेत्रमा शान्ति स्थापित होस्, एउटा बलियो व्यापारिक बजार बनोस् भन्ने चाहँदैनन्। यो क्षेत्रमा उनीहरू जहिले पनि उथलपुथल भएको हेर्न चाहन्छन्। त्यसैले निरन्तर र प्रत्येक दिन वाक्युद्धमा लीन रहन्छन्। तर दुवै देशको जनता भने एक आपसमा समझदारी कायम गरेर शान्तिपूर्वक बस्न चाहन्छ।
एउटा समृद्ध बजार बन्न सक्ने सम्भावना बोकेको दक्षिण एशिया उल्टो अनेक राजनीतिक दाउपेंच खेलिने युद्ध मैदान बन्न पुगेको छ। पाकिस्तानको क्रियाकलाप भारतसँग हुने सानाठूला युद्धहरूमा मात्र सीमित छैन। पाकिस्तानले अफगानिस्तानी तालिबानीहरूलाई सहयोग गरेर अफगानिस्तानलाई पनि अस्थिर पारिरहेको छ। अफगानिस्तान स्थिर भए यस देशमा भारतको प्रभाव बढ्ने भयले पाकिस्तानले जहिले पनि अफगानिस्तानलाई अस्थिर भएको देख्न चाहन्छ। अफगानिस्तानको गृहयुद्ध समाप्त हुने सम्भावना पनि टाढाटाढासम्म देखिंदैन। यो देश अझै दशकौं अशान्त रहने देखिन्छ। यस्तो स्थितिमा कसरी दक्षिण एशिया समृद्ध बजार बन्न सक्छ ? कसरी यो क्षेत्रको गरीबी कम हुन सक्छ ?
चीन र भारतबीचको कटुतापूर्ण सम्बन्धको कालो छायाले नेपालको राजनीतिलाई पनि अति प्रतिकूल असर पारेको छ। यहाँसम्म कि नेपालमा स्थापना हुने सरकारको आयु यी दुई राष्ट्रहरूको क्रियाकलापमा भर पर्ने स्थितिमा पुगेको छ। चीन र भारतबीच कटुतापूर्ण सम्बन्धले नेपालमा आर्थिक समृद्धि विस्तार गर्न गा–हो हुने देखिएको छ। यी दुवै राष्ट्र नेपालको आर्थिक विकासमा बाधक बन्न सक्छन्।
चीन, पाकिस्तान र भारत, यी तीनै पक्ष मिलेर यस क्षेत्रमा शान्ति स्थापना गर्न कटिबद्ध हुने हो भने शान्ति स्थापना भएर यो क्षेत्र बलियो आर्थिक बजारको रूपमा स्थापित हुन सक्छ। तर युद्धमा फाइदा देख्ने स्वार्थी एवं चतुर नेताहरूले शान्ति स्थापना हुन दिंदैनन्। उनीहरूको क्रियाकलाप अनेक निहु खोजेर दक्षिण एशियाका राष्ट्रहरूबीच युद्ध गराउनमा नै केन्द्रित रहेको देखिन्छ। यस्तो स्थितिमा दक्षिण एशिया बलियो आर्थिक बजार बन्न कठिन छ। यो क्षेत्रबाट गरीबी अन्त्य हुन असम्भव छ।
चीन, भारत र पाकिस्तानको कालो छायामा दक्षिण एशिया परेको हुनाले यो क्षेत्र एउटा बृहत् बजार बन्न सक्ने सम्भावना यो स्थितिमा भने देखिएको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्