किन नेपालमा नयाँ व्यापार सृजनाकर्ताको अभाव ?

42

विश्वराज अधिकारी

अङ्ग्रेजी शब्द ‘आन्ट्रेप्रेनिउर’ को नेपाली अनुवाद छैन। यो शब्दको नेपाली अनुवाद, भावार्थ रूपमा, उद्यममा लाग्ने वा लागेको, उद्योग गर्ने, उद्योगी, मिहिनेती, परिश्रमी आदि हुन सक्छ। आन्ट्रेप्रेनिउरको नेपाली अनुवाद नहुनुको कारण आन्ट्रेप्रेनिउरसीपको नेपालमा अभ्यास नभएर यो शब्दको नेपाली अनुवाद पनि नखोजिएको हो।
अङ्ग्रेजीमा आन्ट्रेप्रेनिउरको अर्थ हुन्छ नयाँ व्यापार सृजना गर्ने, मुनाफाका लागि आफ्नो समय, श्रम र चिन्तनमा लगानी गर्ने, व्यापार गर्दा उत्पन्न हुने जोखिम वहन गर्न सर्वदा तत्पर रहने व्यक्ति।
प्रचलित तवरबाट तथा सङ्क्षेपमा भन्ने हो भने आन्ट्रेप्रेनिउरको अर्थ नयाँ नयाँ व्यापार सृजनाकर्ता हुन्छ। नयाँनयाँ व्यापारिक अवसरको पहिचान र प्रयोगकर्ता हुन्छ। अमेरिका एवं युरोपमा मानिसहरूले नयाँनयाँ व्यापारको आविष्कार गर्ने गरेको र धेरै मानिसले सर्वथा नयाँनयाँ व्यापार विकास वा आविष्कार गरेकोले आन्ट्रेप्रेनिउर शब्दको व्यापक प्रयोग भएको हो।
हुन पनि, खासगरी अमेरिकामा हरेक वर्ष अनेक मानिस विभिन्न किसिमका नयाँनयाँ व्यापारको विकास गर्छन्। गएको तीस वर्षमा अमेरिकामा गुगल, फेसबूक, उबर, ट्विटर, युट्युब, अमेजनजस्ता अनेकौं, एकदमै नयाँ किसिमका व्यापारको विकास भयो। विकास भएका यस किसिमका नयाँ व्यापारले रोजगारका नयाँनयाँ अवसर मात्र सृजना गरेन, मानिसको जीवन पद्धतिमा नै परिवर्तन ल्याइदियो। मानव जीवन सरल पार्न महत्वपूर्ण योगदान पु–यायो।
फेसबूक अहिले संसारमैं सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हुन पुगेको छ। संसारभरिमा फेसबूकको प्रयोगकर्ताको सङ्ख्या अहिले लगभग ३ करोड रहेको अनुमान गरिएको छ। यदि फेसबूकमा आबद्ध व्यक्तिहरूलाई नागरिक मानेर यसलाई कुनै राष्ट्र मान्ने हो भने फेसबूक संसारको नै सर्वाधिक ठूलो (जनसङ्ख्याको हिसाबले) राष्ट्र हुन आउँछ। फेसबूकका नागरिकले एक अर्कासँग सजिलै र सस्तोमा अन्तक्र्रिया गर्छन्। व्यापार सृजनाको क्षेत्रमा फेसबूकको विकास आफैंमा एउटा चमत्कार हो।
फेसबूकले व्यक्ति–व्यक्तिबीच सम्पर्कलाई ज्यादै छरितो र सरल पारिदिएको छ। साथै सूचना लागत
(ष्लायचmबतष्यल अयकतक) लाई पनि ज्यादै सस्तो पारिदिएको छ। स्थिति अहिले यस्तो छ कि संसारभरिमा नै सामान्य आम्दानी हुने व्यक्तिहरूको पनि सूचना र जानकारी उत्पादन र वितरणमा पहुँच बढेर गएको छ। एक सामान्य आम्दानी हुने व्यक्तिले पनि फेसबूक प्रयोग गरेर आफ्नो मनमा लागेको कुरा एक मिनटमा नै करोडौ व्यक्ति समक्ष पु–याउने सक्छ। फेसबूकले सूचना र जानकारी लागतलाई अभूतपूर्व किसिमले सस्तो पारिदिएको छ।
माथि उल्लेख गरिएका कुराहरू फेसबूकले सूचना र जानकारीको क्षेत्रमा पु–याएको खास योगदानसँग बढी सम्बन्धित छन्। तर फेसबूकको भूमिका यतिमा मात्र सीमित छैन। फेसबूकले अमेरिकामा मात्र होइन, संसारभरि रोजगार सृजना गर्न महत्वपूर्न योगदान पु–याएको छ। फेसबूकले अनेकौंलाई रोजगार दिएर रोजगारीको स्तर वृद्धि गरिदिएको छ।
यहाँ फेसबूकको उदाहरणसहित भन्न खोजेको महत्वपूर्ण कुरा के हो भने नयाँ नयाँ व्यापारहरूको विकास गरेर रोजगारको स्तरमा वृद्धि गर्न सकिन्छ। धेरै व्यक्तिलाई रोजगार प्रदान गर्न सकिन्छ। नयाँनयाँ व्यापारको विकास गरेर बेरोजगारी धेरै हदसम्म कम गर्न सकिन्छ।अमेरिकामा फेसबूक, गूगल, उबर, ट्विटर, युट्युबजस्ता ठूला स्तरका मात्र होइन, साना स्तरका नयाँनयाँ व्यापारको पनि विकास भएको पाइन्छ र ती नयाँ व्यापारले रोजगार वृद्धि गर्न महत्वपूर्ण योगदन पु–याएको अनुभव गर्न सकिन्छ। ‘अर्डर’ भने अनलाइन गर्ने, सामान सम्बन्धित स्टोरमा गएर लिने, सामान मन नपरे सोही स्टोरमा फिर्ता गर्ने प्रथा हालै विकास भएका नयाँ व्यापारमध्ये एक हो। अमेरिकामा यस किसिमको बिक्रीले निकै लोकप्रियता पाएको छ। धेरै खुद्रा भण्डारहरूले यस किसिमको बिक्री पद्धतिबाट सामान बिक्री गरिरहेका छन्। यस किसिमको बिक्री प्रणालीलाई नयाँ व्यापार सृजनाको रूपमा लिन सकिन्छ।
अमेरिका र युरोप, खासगरी अमेरिकामा हरेक वर्ष नयाँनयाँ व्यापारको सृजना भएको र ती व्यापारले रोजगारका थप अवसर सृजना गरेको पाइन्छ। तर दक्षिण एशियामा र खासगरी नेपालमा नयाँनयाँ व्यपारको सृजना भएको पाइँदैन। किन होला ? यो प्रश्नको उत्तर खोज्न नितान्त आवश्यक छ। यो प्रश्नको उत्तर रोजगारको स्तर वृद्धिसँग प्रत्यक्षरूपमा जोडिएको छ।
माथिको प्रश्नको उत्तर खोज्ने प्रयास गरौं। नेपालमा नयाँनयाँ व्यापारको विकास नहुनुको प्रमुख कारण हाम्रो समाज परम्परागत हुनु हो। परम्परागत समाजले आन्ट्रेप्रेनिउर (उद्यमी) उत्पादन गर्न सक्तैन। हाम्रो समाजले कुनै पनि व्यक्तिलाई उद्यमी हुन प्रेरित गर्दैन, उल्टो कुनै नयाँ व्यवसाय गर्ने खोज्ने व्यक्तिलाई दसवटा डर देखाएर उक्त व्यवसाय नगर्न मनोवैज्ञानिक दबाब दिन्छ। यस्तो अवस्थमा कसरी नयाँ व्यापारको विकास हुन सक्छ ?
केही दशक पहिलेसम्म पनि परिवार वा अभिभावकहरूले आफ्ना सन्तानलाई डाक्टर वा इन्जिनीयर हुन प्रेरित गर्थे। सन्तानले पढेर डाक्टर वा इन्जिनीयर बनेकोमा सन्तोष मान्ने मात्र होइन, समाजमा आफ्नो इज्जत बढेको ठानेर गर्व गर्थे। एक किसिमले घमण्ड गर्थे। अर्कोतिर, सानोतिनो स्वरोजगार गरेर जीवन धानिरहेका सन्तानका बुबाआमाले भने आफ्नो सन्तान (न)पढेर डाक्टर वा इन्जिनीयर नभएकोमा हीनताबोध गर्थे। आफ्नो सन्तानले के पेशा गर्छ सो कुरा पनि प्रस्ट दशजनाको अगाडि भन्न चाहन्थेनन्। कति ठूलो आश्चर्य र कस्तो विडम्बना १
डाक्टर वा इन्जिनीयर पढेको व्यक्तिले स्वयं रोजगार खोज्नुपर्छ। त्यस्तो व्यक्तिले रोजगार सृजना गर्न महत्वपूर्ण योगदान पु–याउन सक्तैन, केही अपवाद बाहेक। तर एउटा सामान्य व्यापारीले, यदि उसले कुनै व्यवसाय (पसल, होटल, रेस्टुरा आदि) गरेको छ भने उक्त व्यवसायमा उसले केही व्यक्तिलाई रोजगार दिन सक्छ।
अब हाम्रो सामाजिक सोचतिर लागौं र यसको विश्लेषण गरौं। एउटा इन्जिनीयर वा डाक्टरले स्वयं रोजगार खोज्नुपर्ने हुन्छ र उसले रोजगार पाए पनि आफ्नो, नितान्त आफ्नो आर्थिक स्थिति बलियो पार्नेबाहेक अरू केही गर्न सक्तैन। तैपनि हाम्रो समाज, अहिले पनि, आफ्नो सन्तानलाई इन्जिनीयर वा डाक्टर बनाउन आतुर देखिन्छ। जबकि स्वयं रोजगारी हुने, केही व्यक्तिलाई रोजगार दिने, उत्साहका साथ अगाडि बढेको सन्तानलाई परिवारले खास किसिमको व्यवसाय गर्न प्रेरित गर्दैन। किनभने हाम्रो समाजले सन्तान इन्जिनीयर वा डाक्टर भएकोमा जति इज्जत बढेको देख्छ त्यति सन्तान सामान्य व्यापारी भएकोमा देख्दैन। हाम्रो समाजले पेशामा नै ठूलो विभेद गर्छ। यस्तो स्थितिमा कसरी हाम्रो युवा पीढीले नयाँ नयाँ व्यापारको विकास गर्न सक्छ ?
नेपालमा नयाँनयाँ व्यापारको विकास हुन नसक्नुको अर्को महत्वपूर्ण कारण हाम्रो समाजले सरकारी जागीरलाई ज्यादै प्रतिष्ठित ठानेर सरकारी जागीरको तुलनामा व्यापारलाई महत्व नदिनु हो। रोजगारको कुरा गर्दा, आफ्नो सन्तानको रोजगारको लागि नेपालमा प्रत्येक अभिभावकले सरकारी जागिरलाई प्रथम प्राथमिकतामा राख्छ र सरकारी जागीरमा जान प्रेरित गर्छ। सरकारी जागीर रोजगारको राम्रो क्षेत्र मात्र होइन, इज्जत र गर्वको विषय पनि बनेको छ हाम्रो समाजमा। सरकारी जागीरको उच्च पदमा पुगेको कुनै व्यक्ति (सचिव) ले फूटपाथमा व्यापार गर्ने कुनै एक सामान्य व्यापारीसँग बसेर उसैको छेउमा चिया खानु उक्त सचिवको इज्जत गए सरह हुन्छ। सरकारी जागीरेको इज्जत नेपालमा पहाड जत्तिको अग्लो छ जबकि सरकारी जागीरमा रहेको त्यो व्यक्तिले थप एकजनालाई रोजगार दिन सक्तैन आफू रोजगारी हुनुबाहेक। तर एउटा उद्योग सञ्चालन गर्ने व्यक्तिले आफू रोजगारी त हुन्छ नै, अन्य पचासौं व्यक्तिलाई पनि रोजगार दिन्छ।
हाम्रो समाजको सोच, मान्यता, परम्परा, विश्वास आदिमा परिवर्तन ल्याउन आवश्यक छ। यस्तो गर्न सकिए मात्र व्यक्तिको व्यापारप्रतिको दृष्टिकोण सकारात्मक हुन सक्छ। यो क्षेत्रमा बहुसङ्ख्यक व्यक्तिको प्रवेश हुन्छ। व्यापारीहरूको सङ्ख्यामा वृद्धि हुन्छ। व्यापारीहरूको सङ्ख्यामा वृद्धि भएमा नयाँनयाँ व्यापारको सृजना हुन्छ। रोजगारको थप अवसर सृजना हुन्छ।
रोजगारका नयाँनयाँ अवसर सृजना गरेर, बहुसङ्ख्यक व्यक्तिलाई रोजगार प्रदान गर्दै देशको अर्थतन्त्रलाई सबल तुल्याउन नयाँनयाँ व्यापारको विकास गर्न आवश्यक छ। र नयाँनयाँ व्यापारको विकास गर्न समाजले युवाहरूलाई उत्प्रेरित गर्न आवश्यक छ। युवावर्गले सकारात्मक सामाजिक वातावरण पायो भने मात्र नयाँनयाँ व्यापारको सृजना गर्न सक्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्