अनाथालयलाई बालबालिकाको खान्गी पु–याउन नै धौधौ

40

प्रस, गरुडा, २१ फागुन/
रौतहटको गरुडामा स्थापित वंशीराम जयसवाल अनाथालयले आउँदो चैतको पहिलो हप्तामा रजतजयन्ती समारोहको आयोजना गर्दैछ। २०५२ चैतमा स्थापित यस अनाथालयले अभावको अनेक शृङ्खला पार गरिसकेको छ तर पनि अभावले सताउन छोडेको छैन।
निरन्तर अनाथको सम्पूर्ण सेवा गरिरहेको यस निस्स्वार्थ संस्थामा खाद्यान्न अभाव सदैव भइरहन्छ। अनाथालयले सहयोग पाउँदै नपाउने होइन, सर्वसाधारणको निरन्तर सहयोग पनि पाइरहेको छ तर अनाथ बालबालिकाको सङ्ख्या धेरै भएको यस संस्थामा मानवीय समस्याहरू भने आइरहन्छन्।
“एक दिनको दुई छाकमा झन्डै १५ किलो चामल खर्च हुन्छ, एक बोरा चामलले मुश्किलले दुई दिन टर्छ,” अनाथालयको रेखदेख गर्ने नवयुवक हृदयनारायण कश्यप भन्छन्। उनी थप्छन्– बालबालिका धेरै छन्, यसैले गर्दा खाद्यान्न अभाव भइरहन्छ।धेरै मनकारी तथा धनकारीहरूले आफ्नो जन्मदिन, विवाहोत्सव, छोरा वा छोरीको जन्मदिन तथा अन्य शुभ अवसरहरूमा खाद्यान्न उपलब्ध गराउने गरेका छन्। आफ्नै खुशीले उपलब्ध गराउने चामल, दाल, तरकारी तथा अन्य साधनले अनाथालयमा बालबालिका पालिएका छन्।
मौसम अनुसारको कपडा तथा चाडपर्व अनुसारको सामग्री पनि मानिसहरूले पु–याइदिने गरेका छन्। अनाथालयप्रति दया लागेर तथा आफ्नो शुभ दिनमा अनाथ बालबालिकाको सेवा गरेर खुशी पार्न पाउँदा मानिसको मनमा हुने सन्तुष्टिको लागि अनाथ बालबालिकालाई धेरैले सहयोग गर्ने गरेका छन्।
अनाथालयका संस्थापक वंशीराम जयसवाल अब निकै कमजोर भइसकेका छन्। अनाथालयमा आफू २५ वर्षदेखि अनाथ बालबालिकाको निस्स्वार्थ सेवा गर्दै जयसवाल आफ्नो जीवनलाई सार्थक बनाइसकेका छन्। धेरैको नजरमा जयसवाल मानिसबाट अब देउता बनिसकेका छन्।
वयोवृद्ध अवस्थामा अत्यन्त कमजोर भइसकेका जयसवाल अझै पनि उनै अनाथ बालबालिकाका बीचमा छन्। अनाथ बालबालिकाको सेवा गर्ने सपना साकार पारेका जयसवाल उनै अनाथ बालबालिकाको सेवा जीवनको अन्तिम वर्षहरूमा पाइरहेका छन्।
जसले अनाथको सेवा गरे, उनैले अनाथको सेवा पनि पाइरहेका छन्।
अभाव र अनेक समस्याले जुधिरहने अनाथालयका बालबालिकालाई स्वास्थ्यको ठूलो समस्या हुने गरेकोमा जयसवालले कम्तीमा एक करोडको अक्षयकोष स्थापना गर्ने सपना देखेका छन्। विभिन्न स्थानीय तह तथा केही मनकारीहरूले यस अक्षयकोषमा रकम जम्मा गरिरहेका छन्। यस आर्थिक वर्षमा एक करोडको अक्षयकोष स्थापना गर्ने सपना पूरा होला कि भन्ने आशा ओछ्यानमा पल्टिरहेका वयोवृद्ध जयसवालको रहेको छ। अनाथ बालबालिकाले त्यसै अक्षयकोषको ब्याजबाट आउने रकमले उपचार गराउन पाऊन् भन्ने सपना मात्र बाँकी छ जयसवालको।
“एउटा सानो परिवारमा त अनेक किसिमका समस्याहरू आइरहन्छन् भने करीब तीसजनाको अनाथालय परिवारमा पनि आर्थिक समस्या तथा स्वास्थ्य समस्या आइरहन्छन् र जसोतसो समाधान पनि भइरहन्छन्,” कश्यप भन्छन्, “अनाथ बालबालिकाको खाद्यान्नको समस्याले भने निरन्तर सताइरहन्छ।”
निकै टाढाबाट आएर तथा बारम्बार सहयोग पठाइदिएर प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले अनाथालयलाई गरिरहेको सहयोग अविस्मरणीय भएको बताउँदै कश्यपले सिङ्गो वीरगंज र पर्सा जिल्लाप्रति नै अनाथ बालबालिकाको तर्फबाट आभार व्यक्त गर्दछन्।
कोही मनकारीहरू छलफल गरेर एक/एक महीनाको गरेर १२ जना वा एक/एक दिनको गरेर ३६५ जना व्यक्ति वा संस्थाले अनाथ बालबालिकाको खाद्यान्न पु–याइदिने जिम्मा लिए अनाथालयले खाद्यान्नबाहेक शिक्षा, स्वास्थ्य तथा अनाथ बालबालिकाको अन्य दृष्टिकोणले व्यक्तित्व विकासमा ध्यान दिन पाउँथ्यो कि ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्