समयमा शिक्षकले तलब पाउँदैनन्

66

प्रस, परवानीपुर, १६ फागुन/
वीरगंज महानगरपालिका अन्तर्गत ३२ वटा वडामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरूले समयमा तलबभत्ता नपाउने गरेको बताएका छन्।
नेपाल शिक्षक महासङ्घ वीरगंज नगर कमिटी र वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाबीच हरेक महीनाको ३० गतेभित्र तलबभत्ता निकासा गर्नुपर्ने सम्झौता भए तापनि सो अनुसार महानगरपालिकाको महाशाखाले विभिन्न सरकारी विद्यालयको खातामा रकम नपठाउने गरेको र समयमा रकम नआउँदा विद्यालयका प्रधानाध्यापकले शिक्षक, कर्मचारीलाई तलब खुवाउन नसकेको शिक्षकहरूले गुनासो गरेका छन्। माघको तलब फागुनको १४ गतेपछि मात्र विद्यालयको खातामा पठाइएको थियो। जबकि शिक्षकहरू माघको तलब फागुन ५ गतेभित्र पाउने आशामा थिए। महानगरपालिकाले ढिलो रकम पठाउँदा समयमा तलबभत्ता नपाएपछि ऋण लिएका शिक्षक, कर्मचारीहरूलाई बैंकको साँवा किस्ता र ब्याज तिर्न समस्या भएको छ। शिक्षक, कर्मचारीहरूले औषधोपचार र दैनिक उपभोग्य सामान खरीद गर्न तथा छोराछोरीहरूको विद्यालय शुल्क, बिजुली, पानीको बिल तिर्न तथा अन्य आवश्यकता पूर्ति गर्न समस्या हुने गरेको बताएका छन्।
कतिपय सरकारी कार्यालयको महसूल १० गतेभित्र तिर्नुपर्ने हुन्छ भने महीनाभित्र किस्ता, ब्याज तिर्ने भाका गरेकाहरूलाई तलब ढिलो पाउँदा जरिवाना तिर्नुपरिरहेको छ।
यस विषयमा नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर कमिटी अध्यक्ष विनोद मेहताले शिक्षक नेताहरूले ताकेता गर्दा पनि महानगरको कमजोरीको कारण समयमा तलब निकासा हुन नसकेको बताए। उनले यस विषयमा मनपाका कर्मचारीसँग छलफल गरेर समस्या समाधान गर्ने बताए।
शैक्षिक महाशाखाले पहिले चार महीनामा रकम निकासा गरिन्थ्यो भने गत एक वर्षदेखि महीनैपिच्छे तलबभत्ता भुक्तानी भइरहेकोमा कर्मचारीको अभावले विद्यालयको खातामा समयमैं रकम पठाउन नसकिएको स्वीकारेको छ। महाशाखाले आगामी दिनमा तलबभत्ताबापत समयमैं रकम पठाउने आश्वासन दिएको छ। वीरगंज महानगरपालिकामा प्रावि, निमावि र मावि गरी करीब ९३ वटा सामुदायिक विद्यालय सञ्चालन छन् भने ८ सय शिक्षक, कर्मचारी कार्यरत छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्