लामखुट्टेको बासस्थान नष्ट गरे डेंगुबाट बच्न सकिन्छ –वक्ताहरू

87

प्रस, वीरगंज, १६ फागुन/
लामखुट्टे नियन्त्रण गरे डेंगुबाट सहजै बच्न सकिने विज्ञहरूले बताएका छन्। स्वास्थ्य कार्यालय पर्सामा आइतवार सम्पन्न कार्यक्रमका सहभागीहरूले प्राणघातक कीटजन्य रोग डेंगुबाट बच्न लामखुट्टे नियन्त्रणमा जोड दिएका छन्। जिल्लास्थित स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य निरीक्षक, पालिकाका स्वास्थ्य संयोजक, रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्न जिल्लाका १४ वटै पालिकामा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। कार्यक्रममा नारायणी अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले कार्यपत्र प्रस्तुत गर्दै कबाड, टायर, गमला, बोतल तथा प्लास्टिकजन्य वस्तुहरू एवं फ्रिजको पानीलगायत सफा जम्ने पानीमा बस्ने र हुर्कने लामखुट्टेले डेंगु तथा कीटजन्य रोग सार्र्ने गरेको बताए। लामखुट्टेको बासस्थानलाई नै नष्ट गरिदिएमा रोग सङ्क्रमणको समस्या नहुने मेसु डा ठाकुरले दाबी गरे। लामखुट्टे नियन्त्रणका लागि जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुका साथै लामखुट्टेको घर खोज्ने र नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान तत्कालै शुरू गर्ने निर्णय भएको पनि उनले बताए।
अभियानका लागि वीरगंज महानगरपालिकाले बजेट विनियोजन गरिसकेको महानगरको स्वास्थ्य महाशाखाले कार्यक्रममा जानकारी गराएको थियो।
कार्यक्रममा सहभागी अरू पालिकाका स्वास्थ्य संयोजकहरूले पनि आआफ्नो पालिकाबाट अभियानको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।
डेंगु लागेका ९० प्रतिशत बिरामीमा रोगको लक्षण नदेखिने गरेको र समयमैं सतर्कता अपनाउन नसके मानिसको ज्यान पनि जान सक्ने सहभागीहरूले बताएका थिए। फुल, लार्भा, प्युपा र वयस्क गरेर चार चरणमा लामखुट्टे हुर्कने हुँदा यही समयमा यसको बासस्थल नष्ट गरी नियन्त्रण गर्न सके सङ्क्रमणको चेन ब्रेक गर्दा डेंगुलगायत कीटजन्य रोगको सङ्क्रमण फैलन नपाउने र समयमैं उपचार व्यवस्थापन गर्न सके डेंगु सङ्क्रमणबाट हुने मृत्युदरलाई दुई प्रतिशतभन्दा पनि कम गर्न सकिने डा ठाकुरले प्रस्ट्याए।
पछिल्लो तथ्याङ्क अनुसार प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश र प्रदेश नं ५ मा यसको प्रकोप बढी देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा देशभर १ हजार ५ सय ३७ वटा केस भेटिंदा यी प्रदेशहरूमा क्रमशः ५ सय ६३, ५ सय ५९, ३ सय ३९ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले कीटजन्य रोगहरूले बर्सेनि दुःख दिइरहेकाले बेलैमा सावधानी अपनाउनुपर्ने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्