सिम्रौनगढमा पोखरी खन्दा भगवान् विष्णुको मूर्ति फेला

100

प्रस, सिम्रौनगढ, १५ फागुन/
प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ–४ हरिहरपुरमा भगवान् विष्णुको ठूलो मूर्ति फेला परेको छ। स्थानीय बासिन्दा किसुन्दरप्रसादको खेतमा डोजर लगाएर पोखरी खन्ने क्रममा मूर्ति फेला परेको हो।
फेला परेको मूर्ति सो क्षेत्रमा आजसम्मकै सबैभन्दा ठूलो मूर्ति रहेको सिम्रौनगढ क्षेत्रका बासिन्दाहरूले बताएका छन्। डोजरले खन्ने क्रममा मूर्तिका विभिन्न स्थानमा टुटफुट भएको छ।भाँचिएको अवस्थामा फेला परेको सो मूर्ति भगवान् विष्णुको रहेको स्थानीयवासीले बताएका छन्। सो मूर्ति सात फिट अग्लो, चार फिट चौडाइ र डेढ फिट मोटो रहेको वडासदस्य विजय साहले जानकारी गराए।
शनिवार दिउँसो करीब तीन बजे फेला परेको भगवान् विष्णुको मूर्ति हेर्न आसपासका बासिन्दाहरूको घुइँचो लागेको छ। सिम्रौनगढका प्रमुख विजयशङ्कर यादवले ऐतिहासिक महत्वको मूर्ति फेला पर्नु पुरातात्विक तथा धार्मिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले सिम्रौनगढमा म्युजियम बनाइ सो क्षेत्रमा फेला परेका मूर्तिहरूलाई एक ठाउँमा सजाइ पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य रहेको र यस कार्यको लागि पहल शुरू भइसकेको बताए।
मूर्ति फेला परेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढले निगरानी बढाएको प्रहरी निरीक्षक दीपक सुवेदीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्