सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम चलेन

71

राधेश्याम पटेल, परवानीपुर, १३ फागुन/
कोरोना महामारीको त्रासका कारण ठप्प रहेका पर्साका सबै सामुदायिक विद्यालय सञ्चालनमा आइसकेका छन्। पर्साका १४ वटा पालिकामा रहेका करीब ३ सय विद्यालय सञ्चालनमा आइसकेका भएपनि उक्त विद्यFलयहरूमा दिवाखाजा कार्यक्रम भने अनिश्चित भएको छ।
करीब दुई महीनादेखि विद्यालयहरू सञ्चालनमा रहे तापनि सम्बन्धित पालिकाले दिवाखाजा कार्यक्रम शुरू गराउन सकेका छैनन्।
पर्साका पटेर्वासुगौली गाउँपालिका र पोखरिया नगरपालिकाबाहेक अन्य पालिकामा दिवाखाजा कार्यक्रम पुनः शुरू हुन नसकेको अभिभावकहरूले गुनासो गरेका छन्।गत पुस दोस्रो सातादेखि सरकारको निर्देशनविनै अभिभावकहरूको मन्जुरीमा सुरक्षा मापदण्ड पूरा गरी सामुदायिक विद्यालयहरू खुलेका थिए।
विद्यार्थीहरूको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यका साथ पठनपाठन शुरू गर्ने विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्बन्धित पालिकाले छलफल गरी विद्यालय सञ्चालनमा ल्याएका थिए। तर करीब दुर्ई महीनादेखि विद्यालय नियमित सञ्चालन भइरहँदा पनि प्राथमिक तहको लागि उपलब्ध गराइने दिवाखाजा कार्यक्रमको बजेट पालिकाले विद्यालयलाई निकासा नगरेको प्रधानाध्यापकहरूले बताएका छन्।
वीरगंज–१८ भवानीपुरस्थित एक विद्यालयका प्रधानाध्यापकले भने, “विद्यालय सञ्चालन भइसकेपछि विद्यार्थीहरूले टिफिनको समयमा खाजा खोजिरहेका छन्, तर हामीले महानगरमा पटक–पटक भन्दा पनि खाजाको लागि रकम पठाइएको छैन।” उनले बजेट माग्न जाँदा शिक्षा प्रशासन महाशाखाका अधिकारीहरूले सरकारले विद्यालय खोल्न नभनेको तर तपाईंहरूले मनलाग्दीरूपमा विद्यालय खोलेको भन्दै खाजाको रकम नपाइने बताएको गुनासो गरे। यता, नेपाल शिक्षक महासङ्घ वीरगंज नगर समितिका अध्यक्ष विनोद मेहताले खाजाको रकम वितरण गर्ने विषयमा तत्काल छलफल गरी समस्या समाधान गराउने आश्वासन दिए।
नेपाल शिक्षक महासङ्घ पर्सा जिल्ला अध्यक्ष तीर्थराज यादवका अनुसार केही पालिकामा आंशिकरूपमा खाजा कार्यक्रम शुरू भएको र केहीमा अझै बाँकी रहेको बताए। उनले सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूको उदासीनताको कारण खाजा कार्यक्रम पुनः शुरू हुन नसकेको बताए। उनले यस विषयमा सबै पालिकाका प्रमुख तथा वडाध्यक्षहरूको पनि ध्यान जानुपर्ने धारणा राखे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्