‘लकसी र झाटाहा’को चोट खाइरहेको ‘लोकतन्त्र’

157

राजेश मिश्र

बच्चाः बाबुजी गाछी (रूख)में से एगो रूनी (अम्बा) तुर दीं ना (बुबा रूखबाट एउटा अम्बा टिपिदिनुस् न)।
बुबाः देखतार केतना उपर बा, रूक लकसी से तुर दे तानी (हेर न, कति माथि छ। पख ‘लकसी’ ले टिपिदिन्छु)।
लकसी सानो भएकोले बुबाको प्रयास विफल भयो। उता बच्चा भने जिद्दी गर्न थाल्यो। रुन कराउन थाल्यो।
बच्चाः बाबुजी जैसे भी तुर दीं, नात हम पढे ना जाएम  (बुबा जसरी भएपनि टिपिदिनुस् नत्र म पढ्न जादिनँ)।
बुबाः बडी तङ्ग कैलख इ लइका हो (बडो जिद्दी ग–यो यो केटाले त)। रूक झाटाहा से मार के तुर दे तानी (पख ‘झाटाहा’ ले हानेर झारिरहेको छु) बुबाको लामो सङ्घर्षपछि अन्ततः अम्बा भुइँमा झ–यो।   
‘लकसी’ र ‘झाटाहा’ देहातमा रूखबाट फल झार्ने प्रचलित उपक्रम हो। लकसी र झाटाहा भनेको के हो ? विस्तारमा बुझाउने प्रयास गर्दैछु। अग्ला–अग्ला रूखका हाँगामा लटरम्म फलेको आँप र अम्बालगायतका फल हातले टिप्न सकिंदैन। लक्ष्यसम्म हात पुग्दैन। त्यसैले देहातीजनहरू ‘लकसी’को सहयोगले फल टिप्छन्। केटाकेटीहरू ‘झाटाहा’ हानेर फल झार्छन्। बाँसको लामो कोइन
(बाँसको हाँगा)मा एकातर्फ सामान्यतया १० वा १२ इन्चको कोइनको टुक्रा तेर्सो पारी डोरीले कोइनको एकातर्फ बाँधिन्छ, त्यो हो ‘लकसी’। त्यस्तै, करीब एक हात लामो बाँसको कोइन वा अन्य सानो आकारका हाँगाबिंगालाई ‘झाटाहा’ भनिन्छ। गाउँदेहातमा केटाकेटीहरूले झाटाहाले हानेर रूखबाट आँप, अम्बा र जामुन झार्ने गरेको दृश्य देख्न सकिन्छ।
‘झाटाहा’ र ‘लकसी’को प्रयोग समान कार्यको लागि उपयोग गरिए पनि दुवैबीच फरक छ। के फरक छ त ? लकसीबाट लकसीको लम्बाइभन्दा माथिको फल टिप्न सकिंदैन। तर लकसीमा फल सजिलैसँग फस्छ। फसिसकेपछि भुइँमा नझर्ने कुरै हुँदैन। तर झाटाहा आकारमा सानो भएकोले शक्ति र सामथ्र्य अनुसार माथिसम्म उचाल्न सकिन्छ। फल झार्न सकिन्छ। तर झाटाहाले एकैपटकमा फल झार्न असम्भव प्रायः हुन्छ। झाटाहाको धेरैपटकको प्रहारपछि कथङ्कदाचित् निशाना सार्थक हुन्छ। अचेल नेपाली राजनीतिमा लकसी र झाटाहाकै स्वरूपमा ‘लोकतन्त्र’ उपर प्रहार गर्ने क्रम जारी छ। छताछुल्ल छ। दलपतिहरूको एकमात्र लक्ष्य सत्ता प्राप्त गर्नु हो र विभिन्न शैलीमा प्रहार भइरहेको छ। हामफालेर सिंहासनमा आसीन हुने मनोकाङ्क्षाले गर्दा लोकतन्त्र धरापमा परेको छ। आमजनको सपना चकनाचुर हुन थालेको छ।
लोकतन्त्रले राजनीतिको लकसी र झाटाहाको प्रहार खेपिरहेको छ। संविधान स्वार्थपरक राजनीतिको शिकार हुन पुगेको छ। एकले लकसीमा फसाउन खोजिरहेको छ भने अर्कोले झाटाहाले प्रहार गर्न खोजिरहेको छ। शिकारीले शिकारलाई चारैतिरबाट घेरे जस्तै लोकतन्त्र राजनीतिक स्वार्थमा घेरिएको महसूस हुन थालेको छ। हमला भइरहेको छ। संविधान यतिबेला घाइते भएको अवस्थामा छ। लोकतन्त्र ‘शिकारी’को चङ्गुलमा फसेको भान सर्वत्र हुन थालेको। प्रश्न यो होइन कि कस्तो संविधान बनाए स्थायित्व आउँछ, प्रश्न यो हो कि कस्तो राजनीतिक चरित्र र संस्कारले स्थायित्व दिन सक्छ।
पञ्चायती व्यवस्था फालेपछि हामी पनि विकसित देश जस्तै समृद्ध हुन्छौं भन्ने लाग्थ्यो। आशा र भरोेसामा २०४६ सालको जनआन्दोलनमा नागरिकको उल्लेख्य सहभागिता थियो। त्यसपछि पनि पटक–पटक आन्दोलन भयो। द्वन्द्वकालमा हजारौं मानिस मारिए। २०६२ देखि २०७२ सम्मको आन्दोलनमा सयौं नागरिक शहीद भए। पुरानो व्यवस्था फालियो। गणतन्त्र आयो। तर हाम्रो अवस्थामा खासै परिवर्तन भएको देखिंदैन। २०४६ देखि २०७४ सालसम्मको अवस्था मात्र कोट्याउने हो भने हामीले राजनीतिक अस्थिरता र अन्योलता मात्र भोग्यौं। अस्थिरता र अन्योलताको क्रमभङ्ग गणतन्त्रमा प्रवेश गरिसक्दा पनि भएन ? सुशासन किन महसूस हुन सकिरहेको छैन ? यसका कारण के हुन् ? यी आम प्रश्नहरूको उत्तर जनताले खोजिरहेको छ।    
हाल राज्यमा देखिएको राजनीतिक परकम्प राजनीतिक भूकम्पपछिका परकम्पहरू हुन् भन्ने बुझ्न कठिन छैन। राजनीतिक परकम्पले अहिलेको विश्वमा निर्वाचित भएपछि, जसो पनि गर्न पाइन्छ भन्ने धारणा बलियो हुँदै गएको छ।
त्यस कारण जसरी भएपनि निर्वाचनमा विजयी हुन पाएपछि बाँकी काममा मनलाग्दो गर्ने प्रवृत्ति बढेको हो। राजनीति मूलभूतरूपमा सामाजिक रूपान्तरणको विधा मात्र हो। राजनीतिशास्त्रको अनुसार सामाजिक सरोकारसँग अर्थपूर्ण लयबद्धता नै राजनीतिको मूल उद्देश्य हो।
प्राकृतिकरूपमा ठूलो भूकम्पपछि ससाना परकम्पहरू आउँछन्। तर ठीक उल्टो, राजनीतिमा विभिन्न परकम्पपछि राजनीतिक भूकम्प आउँछ। राजनीतिक परकम्पहरू यसै भने आउँदैनन्। आआप््mनै स्वार्थसिद्धप्रति लालायित मानसिकताले दलहरूभित्र परकम्प उत्पन्न हुन्छन्। क्षतिको सवालमा प्राकृतिक भूकम्पले कहिल्यै पनि काखा र पाखा गर्दैन। यो राजा हो र त्यो रैती हो भनेर विभेद गर्दैन। यो धनी हो र त्यो गरीब हो भनेर छुट्याउँदैन। झुपडी वा महल जे भएपनि प्राकृतिक भूकम्पको दायरामा आउने सबै प्रभावित हुन्छन्। स्वस्थ मानिस वा रोगी मानिस हो भनेर चिन्दैन। भूकम्पको दायरामा आउने जोकोही किन नहोस् सबैले क्षति बेहोर्नुपर्छ। तर राजनीतिक भूकम्पमा आफू नपर्ने गरी भूकम्पको रेक्टर तय गरिन्छ। राजनीतिक भूकम्प विभिन्न कालखण्डमा आएकै हो। राजनीतिक भूकम्प अहिले संसद् विघटनको रूपमा आएको छ। अहिले प्रतिदिन एकले अर्को उपर लकसी र झाटाहाको प्रहार गरिरहेको समाचार सुन्न र पढ्न बाध्य छौं।  
शिक्षाको विकाससँगै एक व्यक्तिले अर्काे व्यक्तिको मनोविज्ञान आकलन गर्ने क्षमता विगतभन्दा बढेको छ। अबुझ कोही छैनन्। देशमा के भइरहेको छ ? सरकार के गरिरहेको छ ? राजनीतिक दलहरूको मनोविज्ञान कस्तो छ ? लगायतका विमर्शहरू कठ्याङ्ग्रिदो जाडोमा घुर ताप्दै देहातमा चर्चा हुन थालेका छन्। जनस्तरमा चेत छैन भन्ने होइन। बाहिरी आवरणमा राजनीतिक कर्तव्य जति स्वच्छन्द देखाइन्छ, भित्री आवरणमा ठीक त्यसको विपरीत दृष्टिकोणबाट सञ्चालित हुन्छ। यो कटु सत्य हो। राज्यलाई सामाजिक र आर्थिकरूपले थला पार्ने दिशामा हिंड्ने पात्रप्रति नागरिकस्तरमा वितृष्णा उत्पन्न हुनु अस्वाभाविक होइन। राजनीतिको मूलभूत उद्देश्य भनेकै राष्ट्रलाई समृद्धिको बाटोतर्फ डो–याउनु हो। तर विडम्बना त्यसको ठीकविपरीत दलपतिहरू सत्ताउन्मुख केन्द्रित रहेका पाइन्छन्। नकारात्मकताबाट सकारात्मकतातर्फ उन्मुख चिन्तन नै अहिलेकोे अपरिहार्यता हो, जसले घाँटी रेटिएको संविधानको बचाउ गर्न सकोस्। लकसी र झाटाहाको चोट खाइरहेको लोकतन्त्र जीवन्त हुन सकोस्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्