द्रोण पर्व–२९

117

उमाशङ्कर द्विवेदी

उनले छत्तीस योजन लामो र तीस योजन चौडाइको चौबीसवटा सुवर्णमयी वेदीहरू बनाएका थिए। वेदीहरू पूर्वदेखि पश्चिमको क्रममा बनाइएको थियो। वेदीहरूमाथि मोती र हीराहरू ओछ्याइएको थियो। ती जम्मै रत्न र हीरा वस्त्र र आभूषणको साथ ब्राह्मणहरूलाई दान दिइएको थियो। यज्ञको अन्तमा भोजनबाट उबे्रको अन्नको २५ पर्वत शेष रहेका थिए। यज्ञमा रसको खोलो बगेको थियो। सुगन्धित पदार्थको थुप्रो पनि देखिन्थ्यो। त्यस यज्ञको प्रभावबाट राजा गय तीनै लोकमा प्रसिद्ध हुन पुगेका थिए। साथै पुण्यलाई अक्षय गर्ने ‘अक्षय वट’ तथा पवित्र तीर्थ ‘ब्रह्मसर’ पनि उनकै नामले प्रसिद्ध हुन पुगेको थियो। (यी दुवै स्थान गया भन्ने तीर्थस्थलमा अद्यावधि पनि विद्यमान छन्)। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
सुनिन्छ, संस्कृतिका पुत्र रन्तिदेव पनि जीवित रहन सकेनन्। उनको घरमा दुई लाख भान्से थिए, जसले उनको घरमा आएका पाहुना तथा ब्राह्मणहरूलाई अमृत समान मीठो, कच्ची र पक्की खाना पकाइ ख्वाउँदथे। राजा रन्तिदेव प्रत्येक पक्षमा स्वर्णको साथ हजारौं गोरु दान गर्दथे। एक/एक गोरुका साथ एक/एक सय गाई हुन्थे, साथै आठ/आठ सय स्वर्ण मुद्रा पनि दानमा दिइन्थ्यो। यसका साथै यज्ञ र अग्निहोत्रका सरजाम पनि हुन्थे। यस्तो नियम उनले एक सय वर्षसम्म चलाएका थिए। उनले ऋषिहरूलाई कमण्डलु, घैंटा, कसौडी, शøया, आसन, सवारी, महल, वृक्ष तथा अन्न–धन दानमा दिन्थे। ती जम्मै वस्तु सुनले निर्मित भएका हुन्थे। रन्तिदेवको त्यो अलौकिक वैभव, समृद्धि हेरेर पुराणवेत्ताहरूले यस प्रकार यशोगान गरेका थिए– हामीले कुबेरको घरमा पनि रन्तिदेवको समान धनको भण्डार हेरेका छैनौं, अनि त मानिसको घरमा हुने त कुरै उठ्दैन। रन्तिदेवको घरमा भएका समस्त सामग्री सुनकै थिए। त्यसलाई पनि उनले ब्राह्मणहरूलाई दानमा दिइहाले। उनले दिएको हव्य र कव्यहरूलाई देउता र पितरहरूले प्रत्यक्ष भएर ग्रहण गर्दथे। ब्राह्मणहरूको सम्पूर्ण इच्छा राजा रन्तिदेवको दरबारमा पूर्ण हुन्थ्यो। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
सुनिन्छ, राजा दुष्यन्तका पुत्र भरतको पनि मृत्यु भएको थियो। भरतले वनमा रहेर बाल्यकालमैं यस्तो पराक्रमको प्रदर्शन गरेका थिए, जुन अन्यको लागि कठिन थियो। उनी बालक रहेको बेला बडो–बडो सिंहका बच्चालाई बाँधेर घिसार्दै हिंड्दथे। विशाल अजिङ्गरहरूको दाँत भाँचिदिन्थे तथा वेगले दौड्दै गरेका हात्तीको दा–हा समातेर वशमा पार्दथे। एक/एक सय डरलाग्दा सिंहलाई समातेर घिसार्दथे। उनलाई सबै जीवलाई यस प्रकारले दमन गरिरहेको हेरेर ब्राह्मणहरूले उनको नाम ‘सर्वदमन’ राखेका थिए। राजा भरतले यमुनाको तीरमा एक/सय, सरस्वतीको तीरमा तीन सय तथा गङ्गाको तीरमा चार सय अश्वमेध यज्ञ गरेका थिए। तदन्तर उनले एक हजार अश्वमेध यज्ञ र एक सयवटा राजसूय यज्ञ गरेका थिए। अनि अग्निहष्टोम, अतिरात्र र विश्वजीत यज्ञ गरेर दश लाख वाजपेय यज्ञहरूको अनुष्ठान गरेका थिए। शकुन्तलानन्दन (राजा भरतकी आमाको नाम शकुन्तला थियो)ले यी जम्मै यज्ञमा ब्राह्मणहरूलाई निकै प्रचुर धन दानमा दिएर सन्तुष्ट पारेका थिए। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहुँदैन।
महर्षिहरूले राजसूय यज्ञमा जसलाई ‘सम्राट’ पदमा अभिसिक्त गरेका थिए, ती राजा पृथुलाई पनि मृत्युलाई अँगाल्नुपरेको थियो। उनले बडो यत्नका साथ यस पृथ्वीलाई खेतीयोग्य बनाएर प्रथित (प्रसिद्ध) भएका थिए, त्यसैले उनको नाम पृथु रहन गएको थियो। पृथुको लागि यो पृथ्वी कामधेनु बन्न पुगेकी थिइन्, यसलाई खनजोत नगरेर नै खेती हुने गर्दथ्यो। त्यति बेला जम्मै गाई पनि कामधेनुको समान थिए। पात–पातबाट मधुको वर्षा हुन्थ्यो। कुशा, तृण पनि सुवर्णमय हुन्थे, साथै सुखद र कोमल पनि। त्यसैले जम्मै प्रजा त्यसकै वस्त्र सिएर धारण गर्दथे र त्यसैमाथि सुत्दथे पनि। वृक्षका फलहरू अमृतको समान मधुर र स्वादिष्ट हुन्थ्यो। प्रजा ती फलहरूलाई नै भक्षण गर्दथे। कोही पनि भोको बस्न पर्दैनथ्यो, सबै निरोगी थिए। सबैको सम्पूर्ण इच्छा पूर्ण हुन्थ्यो र कसैलाई कुनै पनि कुराको भय थिएन। त्यसैले मानिसहरू आफ्नो रुचि अनुसार रूखमुनि वा ओडारमा बास गर्दथे। त्यति बेला कुनै राष्ट्र वा नगरको विभाग थिएन। सबै मानिस सुखी, सन्तुष्ट र प्रसन्न थिए।
राजा पृथु समुद्रमा यात्रा गर्दा पानी थामिन्थ्यो र पर्वतले उनको लागि बाटो दिन्थे। उनको रथको ध्वजा कहिले पनि भाँचिदैनथ्यो। एकचोटि उनको छेउमा वनस्पति, पर्वत, देउता, असुर, मानिस, सर्प, सप्तर्षि, यक्ष, गन्धर्व, अप्सरा तथा पितरहरूले गएर भने– महाराज, तपाईं नै हाम्रो सम्राट हो, तपाईंले नै हामीलाई कष्टबाट बचाउनुहुन्छ तथा तपाईं नै हाम्रो राजा, रक्षक र पिता हो। तपाईंले हामीलाई अभीष्ट वरदान दिनुहोस्, जसबाट अनन्तकालसम्म हामीहरूले तृप्ति र सुखको अनुभव गरौं। उनीहरूको यस्तो कुरा सुनेर राजाले भने– यस्तै हुनेछ। क्रमश…

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्