दुई हत्याकाण्डका चारजना अभियुक्त पक्राउ

130

प्रस, वीरगंज, १६ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले शुक्रवार पत्रकार सम्मेलन गरी दुईवटा अपराधका घटनाका अभियुक्तहरूलाई पक्राउ गरेको जनाएको छ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफू पर्सा जिल्लामा आएलगत्तै चार वर्षअघि बहुदरमाई नगरपालिका घर भई वीरगंज महानगर–१४ राधेमाईमा बस्ने १० वर्षीय बालक राजन पटेलको हत्या र बहुदरमाई नपा–२ बहुअरी पिडारी निवासी अकलेश राउत यादव हत्याकाण्डका अभियुक्तहरूलाई पक्राउ गरिएको बताए।
१० वर्षीय बालकको हत्यामा संलग्न राधेमाई निवासी २० वर्षीय रेयान महतो कम्कर, यादवको हत्याको आरोपमा पर्सागढी नगरपालिका–५ निवासी ५१ वर्षीय भागृत राउत अहिर र ४१ वर्षीय शेख ताहिर मियाँ र २७ वर्षीय छट्ठु भन्ने दिनेश पटेललाई पक्राउ गरी कारबाई शुरू गरेको बताए।
२०७३/६/२० गते १० वर्षीय बालकको शव चिनीमिल आवास क्ष्Fेत्रको पानीपोखरीमा फेला परेको थियो। उनको हत्या कम्करले समलिङ्गी बलात्कारको क्रममा गरेको अनुसन्धानबाट खुलेको छ। बालकसँग कम्करले बलात्कार गर्न खोज्दा सो घटना भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रउ पाण्डेले बताए।
यसैगरी, यादवको हत्या गरी आत्महत्याको संज्ञा दिन खोजिएको प्रउ पाण्डेले बताए। पक्राउ परेका तीनजनामध्ये भागृत राउत अहिर फुपाजु भएको र उनको योजनामा यादवको हत्या भएको प्रहरीले बताएको छ।
पक्राउ परेका अहिरले अन्य दुईजनालाई रकम दिएको र उनीहरूले नै यादवको हत्या गरी नजीकै रहेको रूखमा झुन्ड्याएर आत्महत्याको संज्ञा दिन खोजेका थिए। प्रहरी स्रोतका अनुसार मृतक यादवका फुपाजु भागृतले पैसाको लागि उनको हत्या गरेको प्रहरीले जनाएको छ। मृतक यादवका बुबा दुई दाजुभाइ भएको र यादव दुई दाजुभाइको एउटै छोरा भएको कारण उनको मृत्युपछि अंश पाउने लोभमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पत्रकार सम्मेलनमा प्रउ पाण्डेले आफू आएपछि जिल्लामा रोपिएको अवैध गाँजाखेतीमध्ये ३२ कट्ठा नष्ट गरिएको, अवैध घरेलु मदिरा १ हजार, कच्चा मदिरा ५ हजार लिटर नष्ट गरिएको बताए।
प्रउ पाण्डेले आफ्नो कार्य अवधिमा जिल्लामा सबैखाले अपराध न्यूनीकरणका लागि इमानदार प्रयास गर्ने बताए। उनले अवैधरूपमा हुने गरेको भन्सार छलीका घटनालाई न्यूनीकरण गर्ने बताए। शान्ति सुरक्षाका साथै सामाजिक विकृतिविरुद्ध अभियानमा पनि पर्सा प्रहरीले कार्य गर्ने प्रउ पाण्डेले बताए। उनले वीरगंजको बिग्रँदो ट्राफिक अवस्थालाई पनि सुधार गर्ने जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्