गाली शब्दकोष बजारमा !

111

मुकुन्द आचार्य

बजारमा हजार ! भन्सारमा संसार ! व्यापारमा अपार ! तैपनि यो संसार असार ! एक दिन सधैं छोडेर जानु छ। कालले खटाएको मानु खानु छ। तैपनि सर्वत्र सधैं हाहाकार। थुक्क साला संसार !! यस्तो बेथितिको संसार कुन चै भँडुवाले बनाएको होला। फेला त परोस्, मैले जान्या छ !
प्रिय पाठकवर्ग ! माथिल्लो पाराग्राफ पढेर तपाईंहरूलाई लाग्न सक्छ, यो बूढोले पक्कै पनि आज नीमको दतिउन गरेर करैलाको भुटुवा खाएर लेख्न बसेछन्। कति गाली गर्न सक्या हो। त्यो पनि संसारलाई नै। यो त अचाक्ली नै भयो। अति गर्नु अतिसार नगर्नु भन्या यै हो।
गाली गर्नु पनि यौटा कला हो। सबैलाई गाली गर्न आउँदैन। जसरी राम्रो, मीठो, स्वादिलो, पौष्टिक, हेर्दै खाउँ–खाउँ लाग्ने भोजन तयार गर्नु स्वयंमा एक कला हो। त्यसैगरी, विपक्षीलाई सत्तोसराप गर्नु पनि यौटा सुन्दर आकर्षक ललितकला हो।
तँलाई हरियो बाँस, तँलाई छेरौटीले लगोस्, तेरो घरमा काङ्ग्रेस पसोस्, तलाई कोरोना लागोस्, तेरो वंश मासियोस्, तैंले भीख मागेर खान परोस, तँलाई नर्कमा पनि ठाउँ नपाइयोस्, जुनी–जुनी नर्कमा बास होस्, तेरो घरमा दरिद्रा देवीले बास गरून्। आदि सबै गाली, श्राप, कुभलो चिताइएका अभिशाप हुन्। गरीबको आँसुले पिर्छ भनेको यस्तै त होला नि !
हरेक समाजका गालीहरू बेग्लाबेग्लै हुन्छन् र ती कुवचनका नालीबेली, कुरोको चुरो, गाँठी कुरा जति सोही समाजका रैथाने र बूढापाकाहरूले राम्ररी ठम्याउन सक्छन्। लरखरो मान्छेको यसमा क्यै सीप लाग्दैन। पक्क परेर सुन्नुबाहेक !
हाम्रो तराईको ग्रामीण क्ष्Fेत्र पनि गालीको उत्पादन र प्रयोगमा प्राचीनकालदेखि प्रसिद्ध रहिआएको छ। गाली पनि यस्ता–यस्ता हुन्छन्, जसको मिठास, स्वाद, पिरो, तीतो, टर्रोको अलौकिक सम्मिश्रणले सुन्नेहरू आफ्ना सबै काम थाती राखेर पनि घण्टौं गालीरसको रसस्वादन गरिरहन्छन्। र आआफ्नै पारामा टीका–टिप्पणी गरिरहन्छन्। कुनै एक पक्षलाई अथवा दुवै पक्षलाई दोषी पनि ठोकुवा गरिहाल्छन्।
हाम्रा ग्रामीण भेगमा प्रयोग भइरहने गालीहरू प्रशस्तै छन्। यहाँ केही उदाहरण मात्र हेरौं। जस्तै– रे मुँहझौंसी अथवा रे मुँहझौंसा, तोहरा बज्जर परो, तोहरा रोटी में नून ना जुरो, तोहर कुत्ता दशा होखे, तोहरा पानी देवेवाला केहु ना होखो, तोहरा देह में कोर फुटो, तोहरा आदी लेखा कूचम, तोहरा आगी देवेवाला केहु ना होखो आदि इत्यादि (धेरैले बुझिहाल्ने हुनाले यसको नेपालीकरण गरिरहनुपरोइन्)।
आफ्ना दुश्मनलाई, विपक्षीलाई व्यङ्ग्यका तीखा–तीखा बाण बनाइ हानेर आनन्दित हुने हाम्रा राजनीतिक नेताहरू अचेल निकै गाली दिने–लिने काममा रौसिएका छन्। मञ्चमा माइकका सामु उभिएर विपक्षी नेताहरूका सारा कमीकमजोरी केलाइ–केलाइ कराउँदा कस्तो काइदाको आनन्द लिन्छन्– हाम्रा बैगुनी नेताहरू। जनताले आफ्नो अमूल्य मत दिएर जिताएर सांसद बनाएर नेताजीको पगरी गुथाएर देश लुट्न पठाएको जस्तै भयो। दलका कार्यकर्ता, शुभचिन्तक, समर्थकजनले नेतालाई हौंस्याउन–रौंस्याउन बेला–बेलामा ताली बजाएर पर्रपर्रर आवाज आउँदा नेताजीहरूको नाकमुखमा स्वर्गीय चमकदमक परिलक्षित हुन्छ र यसको तीतो–मीठो अनुभव त सबैले गरेकै छन्।
यिनीहरूको मन, वचनको क्षुद्रता हेर्दा गाली शब्दकोश चाँडै नै नेपाली बजारमा आइपुग्ने कुरामा हामी ढुक्क भए हुन्छ। बरु यसो गरे कसो होला र गाली शब्दकोश निर्माणमा यसरी होस्टेमा हैंसे गरौं–
हामी नेपालीले जे जति गाली–अपशब्द जानेका सुनेका छौं, ती सबैलाई चाँडोभन्दा चाँडो शीर्ष नेताहरूको पहुँचमा पठाइदिए गाली शब्दकोशको शोभा झन् बढ्ने थियो। हाम्रF भावी सन्ततिले पनि गाली शब्दकोश पैतृक सम्पत्तिका रूपमा पाउने थिए, धन्य हुन्थे उनीहरू पनि। यो अमूल्य धरोहर हुने थियो पुर्खाको !
खास गरेर देश–विदेशमा बस्ने सारा नेपालीले खोजी–खोजी, रोजी–रोजी राम्रा–राम्रा, तीखा–तीखा गालीहरू शब्दबाण सङ्कलन गरेर उपलब्ध गराइदिए नेताजीहरूलाई शब्दकोश छपाउन अलि सजिलो हुन्थ्यो कि ? सबैले मिलेर ग–यो भने गाली शब्दकोश चाँडै छापिनेछ र देशको विकास हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्