रु डेढ अर्ब लागतको सडक योजनाको म्याद बित्यो, आधा काम मात्र सम्पन्न

102

प्रस, परवानीपुर, १५ माघ/
वीरगंज महानगरभित्रको २० वटा वडाभन्दा बढीमा सडक कालोपत्रे, सडक निर्माण तथा स्तरोन्नतिको रु डेढ अर्बको योजनामा निराशाजनक प्रगति भएको पाइएको छ। शहरी विकास मन्त्रालयको करीब रु डेढ अर्ब लागतमा ५२ किलोमिटर लम्बाइको कालोपत्रे सडक निर्माण तथा स्तरोन्नति गर्ने योजनामा ठेकेदारले लापरवाही गर्दा दुर्ई वर्षको अन्तिम म्याद सकिंदा आधा मात्र काम हुन सकेको छ। शहरी विकास मन्त्रालय मातहतको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगंजका प्रमुख रञ्जनकुमार दासका अनुसार आयोजना पूरा गर्ने अढाई वर्षको म्याद सकिंदा पनि सोचे अनुरूप ठेकेदारले काम गर्न नसकेको हो। उनले २०७५ जेठमा सम्झौता भएर २०७७ मङ्सिरसम्म अढाई वर्षमा काम सम्पन्न गर्नुपरेमा हालसम्म दुर्ईवटा ठेक्कामा मात्र ५५ प्रतिशतको हाराहारीमा प्रगति हुन सकेको बताए। वीरगंज महानगरका विभिन्न वडामा ५२ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरी कालोपत्रे गर्ने हिसाबले दुर्ईवटा ठेक्का करीब रु ७५/७५ करोडमा लागेको थियो। जसमध्ये १७ वटा सडकमा स्वच्छन्द/पप्पु/ युनाइटेड जेभीले २०७५ जेठ ९ गते रु ७४ करोड २० लाख ८२ हजारमा ठेक्का सम्झौता गरी २०७७ मङ्सिर मसान्तमा काम सम्पन्न गरेर दिने भनेको थियो।
त्यसैगरी, १३ वटा सडकमा काम गर्ने भनेर रमण/श्यामसुन्दर/महावीर जेभीले रु ७४ करोड ८७ लाख ६५ हजारमा २०७५ वैशाख ३१ मा सम्झौता गरेर २०७७ मङ्सिर १५ गतेसम्म काम गर्ने शर्तसहितको सम्झौता गरेको थियो। तर स्वच्छन्द/पप्पु/युनाइटेडले हालसम्म ५ प्रतिशत भौतिक प्रगति गरेको छ भने गत जेठसम्म ४३ प्रतिशत वित्तीय प्रगति गरेको थियो।
यो ठेक्कामा मोबिलाइजेशनको रकम करीब रु १५ करोड २० लाख दिइसकिएको छ।
त्यसैगरी, रमण/श्यामसुन्दर/महावीरले लिएको ठेक्कामा ५५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख दासले बताए। उनले पप्पुभन्दा रमणको काम बढी भएको बताएका छन्।
५२ किलोमिटर बन्ने विभिन्न वडाको टोलबस्ती क्षेत्रमा करीब ३१ किलोमिटर सडकको दुवै छेउमा टोलको पानी निकासको लागि १/१ मिटर चौडा पक्की नाला बनाउने योजना थियो। त्यसैगरी, स्वच्छन्द/पप्पु/युनाइटेडलाई दिएको ठेक्कामा नेशनल मेडिकल कलेजदेखि भेडियाही, घण्टाघर–रानीघाट, नगवा–इनर्वा, आदर्शनगर–क्याम्पसपछाडि श्रीसिया खोलासम्म, सुगौली–अठराहा, पटेलनगर–परवानीपुर, परवानीपुर–ताजपुर, सानो पिपरा–बौद्धीमाई मन्दिर, प्रसौनी सातोमाई–प्रसौनी गाउँतर्फ, प्रसौनी गाउँ–मनियारीसम्म, रामगढवा–सबैठवा लगायतमा सडक निर्माण गर्ने योजना रहेकोमा अधिकांश ठाउँका योजनामा काम अधूरो छ।
कहींकतै सडकभित्र पर्ने विद्युतीय पोलहरू हटाइएको छैन भने कहीं साइट खाली गराउन नसक्दा पनि काम अढाई वर्षदेखि अलपत्र परेको छ। त्यसैगरी, रमण/श्यामसुन्दर/महावीर जेभीले लिएका १३ वटा सडकमा काम अलपत्र परेको छ।
अन्तिम म्यादसम्म काम गर्न नसक्दा दुवै ठेकेदारले विभिन्न कारण देखाउँदै ६ महीना म्याद थप गर्न निवेदन दिएका छन्। ठेकेदारहरूले कोरोना र अन्य समस्या राख्दै काम गर्न नसकिएको भन्दै निवदेन दिएका छन्।
सोही अनुसार सघन शहरी विभागबाट म्याद थप्ने प्रक्रियामा फाइल पठाइएको आयोजना कार्यालयका प्रमुख दासले बताए।
किन काम गर्न सकिएन भन्ने विषयमा १७ वटा सडकमा काम गर्ने ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनका प्रोजेक्ट हेड जसुआ अब्राहमले कोरोना महामारी, साइट क्लियरिङमा समस्या तथा निर्माण सामग्रीको उपलब्धता सहज नहँुदा काममा ढिलाइ भएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्