मोदीको स्वास्थ्य कूटनीति

220

श्रीमन्नारायण

विगत एक वर्षदेखि नेपाललगायत सिङ्गो विश्वलाई कोरोना महामारीको सङ्क्रमण तथा यसको भय त्रसित बनाएको छ। विश्वका प्रायः शक्तिशाली एवं विकसित राष्ट्रहरू यस कोभिड–१९ को महामारीसित मुकाबिला गर्न र यसलाई निर्मूल गर्न एकाग्रचित्त भएर लागेका थिए। वैज्ञानिक, चिकित्सक र अनुसन्धानकर्ताहरूको भगिरथ प्रयत्नपश्चात् कोभिड–१९ विरुद्ध भ्याक्सिन निर्माण पनि भयो। निकै कम समयमा भरपर्दो, सटिक र स्तरीय भ्याक्सिन निर्माण गर्न भारतका वैज्ञानिक, चिकित्सक र अनुसन्धानकर्ताहरूले पनि सफलता हासिल गरे। भारतको सिरम इन्स्ट्च्यिुटले उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिशिल्ड’ भारतले नेपालसहित मालद्विप्स, भूटान, बङ्गलादेश, म्यान्मा, श्रीलङ्का, अफगानिस्तानलाई अनुदानस्वरूप उपलब्ध गराउनु मानवीयताको दृष्टिले मात्र होइन, सङ्कटको बेला सहयोग गर्ने असल छिमेकीको चरित्र पनि प्रदर्शन गरेको छ।
पहिलो चरणको निम्ति खोप उपलब्ध भएको छ। स्तरीय भएका कारण भारतीय उत्पादनका औषधिहरू दक्षिण एशियाका देशहरूको निम्ति मात्रै होइन, पूरै विश्व समुदायको निम्ति उपयोगी र लाभदायक साबित भइआएको छ। भारतले नेपाललाई पनि दश लाख खोप अनुदान उपलब्ध गराएको छ। हाम्रो आवश्यकता ध्यानमा राखेर सरकारले भारतसित थप खोप खरीद गर्ने सम्भावना छ। सिरम इन्स्ट्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो। विश्व स्वास्थ्य सङ्गठनका अध्यक्षले पनि भारतको खोपमाथि विश्वास व्यक्त गरी समर्थन जनाउनु खुशीको कुरा हो।
विश्वकै ठूलो खोप अभियान (भ्याक्सिनेशन क्याम्पेन) अघि बढाउन भारतले उत्पादन गरेको दुई प्रकारको भ्याक्सिन ‘कोभ्याक्स’ र ‘कोभिशिल्ड’ भारतभर वितरण गरिसकेको छ। सन् २०२० मा जब दक्षिण एशियामा महामारी शुरू भयो, तब भारतले त्यसै बेला भ्याक्सिन कूटनीति शुरू गरेको थियो। भारतले रेमेडेसिभिर, पारासिटामोल, मास्क, ग्लब्स, पिपिई सेट र उपचारमा आवश्यक अन्य स्वास्थ्य सामग्री छिमेकी देशमा आपूर्ति गरेको थियो। त्यस्तै भारतले छिमेकी देशका स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न विभिन्न चरणमा प्रशिक्ष्Fण कार्यक्रम पनि सञ्चालन गरेको थियो।
कोरोना महामारीपछि भएको आर्थिक सङ्कटका बावजूद भारतले करीब १५० देशमा स्वास्थ्य सहायता पु–याएको छ। यस्तो प्रयोग गर्न तयार भएपछि विश्वभर नै भ्याक्सिन वितरण गर्ने वाचा भारतले गरेको थियो। संयुक्त राष्ट्रसङ्घीय साधारणसभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय सङ्कट सामना गर्न भ्याक्सिन उत्पादन र वितरण क्षमताको उपयोग गर्ने घोषणा गरेका थिए। गुणस्तरीय सस्तो र सहज आपूर्ति गर्न सकिने हुँदा भारतले उत्पादन गर्ने भ्याक्सिन विश्वभरका देशले माग गरिरहेका छन्। यसका अतिरिक्त रूसको स्पुतनिक भ्याक्सिन पनि परीक्षणपछि भारतमैं उत्पादन हुँदैछ। फाइजर भ्याक्सिन भारतको औषधि नियामक निकायको अनुमतिको पर्खाईमा छ। भ्याक्सिनको आगमनसँगै भाइरस र महामारीसँग जुध्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ। भारत सरकारले अनुदानमा केही भ्याक्सिन वितरण गर्दै गर्दा कतिपय देशले सिरम इन्स्ट्च्यिुट र भारत बायोटेक कम्पनीबाट उत्पादित थप भ्याक्सिन खरीद गर्ने प्रयास गर्दैछन्। कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्म दुई बिलियन भ्याक्सिन सबै सदस्य देशलाई बाँड्ने लक्ष्य लिएको छ।
विश्वव्यापीरूपमा चीनले आफ्ना पाँच सम्भावित कोभिड–१९ खोपलाई आफ्नो प्रभाव विस्तारको औजारको रूपमा प्रयोग गर्न खोजिरहेको छ। जनवरीको पहिलो साता उसले आयोजना गरेको अनलाइन वार्तामा दक्षिण एशियाका भारत, भूटान र मालद्विप्सबाहेक सबै सदस्य राष्ट्रहरू सहभागी थिए। चीनले दक्षिण पूर्वी एशियाका मलेसिया तथा फिलिपिन्सलाई खोप दिने वाचा गरेको छ तर उसको नजीकको मित्र राष्ट्र कम्बोडियाले भने अन्तर्राष्ट्रिय कोभ्याक्स कार्यक्रम रोज्ने भएको छ। अहिलेका लागि कमसेकम प्रिअर्डरको सन्दर्भमा साइनोभ्याक्स र साइनोफार्म जस्ता चिनियाँ खोप (कुल ५० करोड डोज) प्रतिस्पर्धामा  पिफाइजर (५० करोड) र एस्ट्राजेनेका (२ अर्ब ५० करोड) जस्ता पश्चिमी खोप रहेका छन् तर यो लामो प्रतिस्पर्धा हो। स्वास्थ्यको मागले राष्ट्रको विदेश नीतिलाई नयाँ धार दिन थालेको छ। दक्षिण छिमेकी भारत सम्भवतः यस प्रतिस्पर्धामा सबैलाई उछिनेर अगाडि बढने सम्भावना छ। भारत बायोटेकले आफ्नै देशमा बनाएको कोभ्याक्सिन र पुणेस्थित सिरम इन्स्ट्च्यिुटमा बन्दै गरेको कोभिशिल्डको सहायताले छिमेकी देशहरूसित सम्बन्ध सुधार्नुका साथै विश्वव्यापीरूपमा आफ्नो प्रभाव विस्तार गर्न चाहेको छ।
साढे ६ वर्ष अघि दक्षिण छिमेकी भारतको प्रधानमन्त्री पदमा नियुक्त भएपछि नरेन्द्र मोदीले छिमेकी पहिलो (नेबरहुड फस्ट)को नारा अघि सारेका थिए। आफ्नो शपथग्रहणका बेला दक्षिण एशियाका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूलाई आमन्त्रण गरेर उनले छिमेकी राष्ट्रहरू आफ्नो पहिलो प्राथमिकतामा रहेको सन्देश दिन खोजेका थिए। सर्वप्रथम भूटान र त्यसपछि नेपाललाई नै आफ्नो विदेश भ्रमणको निम्ति रोज्नु यसैको सङ्केत थियो। आफ्नो ५ वर्षको पहिलो कार्यकालमा चारपटक नेपाल भ्रमण गर्नुले उनको नेपालप्रति रहेको आकर्षण, सदाशयता र प्रेमलाई दर्शाउँछ। कोभिड महामारीसित मुकाबिला गर्न पनि उनले गत वर्ष सार्कका नेताहरूसित भिडियो कन्फ्रेन्समार्फत संवाद कायम गरी एकजुट प्रयासको निम्ति सार्थक पहल गर्नु ‘छिमेकी पहिलो’कै नीतिको निरन्तरता थियो। अब जबकि भारतले कोभिड खोपको आपूर्ति शुरू गरेको छ र यसमा पनि छिमेकीलाई नै प्राथमिकता दिने घोषणा गरेको छ, भारत अझै छिमेकी पहिलो नीतिप्रति प्रतिबद्ध रहेको दर्शाउँछ। भारत स्वतन्त्र हुँदा पनि एशिया र अफ्रिकामा स्वतन्त्र भएका देशहरूसँग विकास र साझेदारी सहकार्य गर्ने तत्कालीन लक्ष्यलाई पनि सम्बोधन गर्न खोजेको बुझिन्छ। विकासका लागि शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ। भारतले दक्षिण एशियासहित अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गर्न कोभिड कूटनीतिलाई एउटा सशक्त माध्यम बनाउन सक्दछ। अमेरिकामा नयाँ राष्ट्रपतिको आगमन भएको तथा कोरोना सङ्कटका कारण विश्व समुदायले चीनप्रति आशङ्का व्यक्त गरिरहेको अवस्थामा भारतले कोभिडको खोपसहित मित्रता एवं सहयोगको निम्ति अग्रसरता देखाउनु मोदीलाई विश्व नेता बनाउने दिशामा भारतको कूटनीति सफल साबित हुने सम्भावनालाई खारेज गर्न सकिंदैन। कोरोना महामारीको सङ्कटले निम्त्याएको गम्भीर सङ्कटबाट ग्रसित विश्व समुदायको निम्ति भारतको कोभिड–भ्याक्सिन ब्रजीलका राष्ट्रपतिले भनेजस्तै श्री हनुमानको ‘सञ्जीवनी बूटी’ साबित हुन सक्नेछ।
पछिल्लो एक–दुई वर्षमा भारतमा नागरिक संशोधन अध्यादेशमा विवाद हुँदा भारत र बङ्गलादेशको सम्बन्धमा चीसोपन आएको थियो भने नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा पनि तिक्तता आएको थियो। पाकिस्तानसित संवादहीनताको नीतिलाई निरन्तरता दिएको कारण छिमेकी राष्ट्रहरूसितको उसको सम्बन्धमा त्यति घनिष्टता थिएन तर कोभिड भ्याक्सिनले भारत र बङ्गलादेशसितको सम्बन्धलाई पुरानै मित्रवत् अवस्थामा फर्काएको छ भने पाकिस्तानसित पनि सम्बन्ध सुध्रिने सम्भावना विकसित गरेको छ।
भारतले विगत १० महीनामा नेपाललाई कोभिड महामारीसित मुकाबिला गर्न निरन्तर औषधि, पिसिआर परीक्षण कीट, आइसियू भेन्टिलेटर एम्बुलेन्सलगायत अन्य औषधि उपकरण उपहारस्वरूप उपलब्ध गराउँदै आएको छ। भारतमा कोरोना भ्याक्सिन उत्पादन हुन थालेपछि सहज र सुलभ तरीकाले यसको भ्याक्सिन प्राप्त गर्न सक्ने तथा देशको अर्थतन्त्रले पनि पुरानै गति लिने अपेक्षा गर्न सकिन्छ। कोभिड भ्याक्सिनले भारत तथा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण एशियालगायत विश्वको राजनीतिक परिदृश्यमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पु–याउने अपेक्षा गर्न सकिन्छ। तेल कूटनीति, अर्थ कूटनीति र सामरिक नीतिबाट विश्व राजनीति प्रभावित हुँदै आएको हो तर अब स्वास्थ्य कूटनीतिले पनि ठूलो भूमिका खेल्न थालेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्