बा–ह दिनदेखि गोमन सर्पको पूजा

89

प्रस, महोत्तरी, १५ माघ/
भनिन्छ, ‘बाघको छोरा र साँपको छोरा कहिल्यै एक स्थानमा बस्दैन।’ तर यसको ठीकविपरीत महोत्तरीको बलवा नगरपालिका–११ रौजागाउँमा एउटा गोमन सर्प १२ दिनदेखि एकै स्थानमा बसिरहेको छ।
गाउँनजीकै जङ्गलको छेउस्थित  स्थानीय सतलाल राउतको खेतमा रहेको एउटा दुलोबाट हरेक दिन दिउँसो ठीक १२ बजेपछि उक्त गोमन सर्प निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको छ। सर्पलाई हेर्न दिउँसो १२ देखि बेलुका ४ बजेसम्म त्यहाँ हजारौं मानिसको भीड लाग्ने गरेको स्थानीय योगेश्वर धानुकले बताए। यसरी हेर्न आउनेहरूले यो साधारण सर्प नभएको र नागदेवता रहेको भन्दै पूजा आराधना गर्न थालेका छन्। पूजाआजा गर्नका लागि आउनेहरूको सङ्ख्या दिनहुँ बढ्दो छ।
दुलोबाट सो सर्प निस्कनेबित्तिकै पूजा गर्नका लागि चारैतिरबाट मानिसले घेर्ने र सर्पको नजीकसम्म पुग्ने गरेका छन्। नजीकै जाँदा पनि सर्प नडराइ आनन्दले सधैंझैं यथास्थानमा बस्ने र कसैलाई केही नगर्ने गरेको रौजागाउँ निवासी प्रदेशी थारूको भनाइ छ। सर्पलाई श्रद्धालु, भक्तजनहरूले कचौरामा दूध चढाउने र फूल, तुलसी, बेलपत्र साथै फलफूल  चढाउने गरेका छन्। नागदेवतालाई धुप र बत्ती नचल्ने भएकोले यी दुई चीज भने निषेध गरिएको छ।
वनमा घाँस काट्न गएका घँसिनीहरूको समूहले शुरूमा उक्त सर्पलाई देखेका थिए। उनीहरूले सर्पबारे गाउँमा बताएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्