नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना

130

विश्वराज अधिकारी

वस्तु, सेवा र व्यापार कुनै पनि अर्थ व्यवस्थाका अति नै महत्वपूर्ण आधार स्तम्भहरू हुन्। यी तीन स्तम्भले नै कुनै पनि राष्ट्रको अर्थ व्यवस्थालाई राम्ररी उभ्याएका हुन्छन्। यी आधार–स्तम्भ जति बलिया भयो देशको अर्थ व्यवस्था पनि सोही अनुसार स्थिर हुन्छ, बलियो हुन्छ।
अर्को किसिमले हेर्ने हो भने वस्तु र सेवा रथका दुई पाङ््रग्रा हुन् भने व्यापार सारथी हो। व्यापारले नै कुनै पनि राष्ट्रको विभिन्न बजारमा उत्पादित वस्तु एवं सेवा उत्पादन स्थलबाट उपभोक्ता समक्ष पु–याउने गर्दछ।
तर हामीले यस आलेखमा चर्चा गर्न खोजेको विषय भने नयाँ वस्तु, सेवा एवं व्यापारको विकासले कुनै पनि देशको अर्थ व्यवस्थालाई गति दिन्छ भन्ने हो। अर्थात् राष्ट्रिय अर्थतन्त्रको विकासको गतिलाई तीव्रता दिनका लागि देशभित्र नयाँ–नयाँ वस्तु, सेवा र व्यापारको विकास आवश्यक हुन्छ। चलनचल्तिका वस्तु एवं सेवा जति छ त्यति नै रहेर नयाँ वस्तु एवं सेवाको विकास नगर्ने हो भने अर्थतन्त्रले गति प्राप्त गर्न सक्तैन र धनीहरूको हातमा रहेको पैसा (आम्दानी) गरीबसम्म पुग्न कठिन हुन्छ। यस्तै किसिमले नयाँनयाँ व्यापारका तरीका विकास नगर्ने हो भने पनि धनीहरूको हातमा रहेको पैसा गरीबसम्म पुग्न कठिन हुन्छ। नयाँनयाँ वस्तु, सेवा एवं व्यापारको विकास भएमा राज्यले नियम, कानून नबनाएर नै पनि सरल प्रक्रियाद्वारा धनीहरूको बचत (आम्दानी) गरीबहरूको हातमा जान्छ। खोलाको पानी स्वतः अग्लो स्थानबाट होचो स्थानमा बगेझैं।
नयाँ वस्तु, सेवा र व्यापारको विकास किन आवश्यक छ ?
देशको अर्थ व्यवस्थालाई बलियो पार्न नयाँनयाँ वस्तुको आविष्कार तथा विकास प्रत्येक वर्ष गर्न आवश्यक छ। मौजुदा वस्तुमा सुधार भएर अर्को वस्तुको रूपमा वा नितान्त नौलो वस्तुको रूपमा विभिन्न वस्तु बजारमा आउन आवश्यक छ। त्यस्तो किन होला ? त्यस्तो किन भने नयाँनयाँ माग सृजना गर्न नयाँनयाँ वस्तुको विकास आवश्यक हुन्छ। नयाँनयाँ वस्तुको आविष्कार भए मात्र उत्पादनले निरन्तरता पाउँछ वा उत्पादनमा वृद्धि हुन्छ। जस्तै यदि डिजिटल नाडी घडी मात्र बजार रहने स्थिति भयो र स्मार्ट घडीको उत्पादन भएन, अर्थात् एउटै किसिमको घडी निरन्तर उत्पादन भइरह्यो भने घडीको कुल मागमा वृद्धि हुँदैन र उत्पादनमा पनि वृद्धि हुन सक्तैन। किनभने कुनै व्यक्तिले यदि डिजिटल घडी खरीद गरेको छ भने उसको त्यो घडी दसौं वर्ष चल्न सक्छ र उसले दस वर्षसम्म नयाँ घडीको माग गर्दैन। यस्तो अवस्था अन्त्य गर्न, यदि नयाँ वस्तुको रूपमा स्मार्ट घडी उत्पादन गर्ने हो भने, डिजिटल घडी हुनेले चालू अवस्थमा रहेको नाडी टिजिटल घडी लगाउन बन्द गर्छ र नयाँ विकास भएको वस्तु (स्मार्ट घडी) माग गर्छ। स्मार्ट घडी खरीद गर्छ र त्यो नयाँ खरीदद्वारा बजारमा नयाँ माग सृजना हुन्छ। नयाँ उत्पादनको अवसर सृजना गर्छ। नयाँ रोजगार सृजना गर्छ र यसरी धनीको हातमा रहेको पैसा गरीबको हातमा जाने वातावरण सृजना हुन्छ। अर्कोतिर उत्पादनले पनि निरन्तरता पाउँछ। बजारमा नयाँ वस्तु (स्मार्ट घडी) को प्रवेश भएकोले त्यस वस्तुको माग स्वाभाविकरूपमा बढ्छ।
माथि उल्लेख भए अनुसार नयाँ वस्तुको विकास एवं आपूर्तिले रोजगारमा स्थिरता ल्याउने वा वृद्धि नै पनि गर्ने हुनाले विकसित देशहरूले नयाँनयाँ वस्तुको विकासमा अति नै जोड दिएका हुन्छन्।
नयाँनयाँ सेवा उत्पदानले पनि नयाँ वस्तुको विकासले गर्ने कार्य गर्छ। नयाँ सेवाको विकासले बचत हुने वा राम्रो आम्दानी हुनेहरूको पैसा थप कुरामा खर्च हुने बाटो खोलिदिन्छ। सेवा उत्पादनमा वृद्धि भएर रोजगारको थप अवसर सृजना गरिदिन्छ। माथि भनेझैं धनीहरूको हातमा रहेको बचत गरीबहरूको हातमा जाने वातावरण सृजना गरिदिन्छ। नेपालमा नयाँनयाँ सेवाको विकास हुने गति र सङ्ख्या दुवै सुस्त छ। पछिल्लो समयमा नेपालमा विकास भएका सेवाहरूमा स्काइडाइभिङ, बन्जी जम्पिङ, पाराग्लाइडिङ, रिसोर्ट, पार्टी–पैलेस, वर्थडे पार्टी भेन्यु, वर्थडे केक निर्माण आदिलाई लिन सकिन्छ।
अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न कुनै पनि अर्थ व्यवस्थामा प्रत्येक वर्ष नयाँनयाँ सेवा विकास हुन आवश्यक छ। कृषि युग वा जमीनदारी प्रथा रहेको समयमा नयाँनयाँ सेवाहरूको विकास हुने परिपाटीको सर्वथा अभाव थियो र यो कारणले गर्दा नै केही व्यक्ति मात्र धनी भएर बहुसङ्ख्यक व्यक्ति गरीब हुन पुगेका थिए। तर जब समाजमा औद्योगिक युगले प्रवेश ग–यो, नयाँनयाँ वस्तु एवं सेवा उत्पादन गर्ने क्रम बढेर गयो, धनी वा राम्रो आम्दानी हुने व्यक्तिको सङ्ख्या पनि वृद्धि भयो।
यसैगरी नयाँ किसिमका व्यापारले पनि गरीबहरूको हातमा पैसा (आम्दानी) पु–याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। सीमित व्यापार हुनु र अनेक किसिमका व्यापार हुनुले राष्ट्रिय अर्थ व्यवस्थमा विशेष अर्थ राख्दछ। उदाहरणको रूपमा– नेपालमा केही वर्ष पहिलेसम्म पनि वस्तुहरू उपभोक्तासम्म केवल खुद्रा बिक्रेताका पसलबाट मात्र पुग्ने गर्दथ्यो। अर्थात् वस्तु खरीद गर्न उपभोक्ताहरू अनिवार्य रूपमा खुद्रा बिक्रेताकहाँ पुग्नुपर्ने स्थिति थियो। तर अहिले अनलाइन सपिङ, होम डेलिभरीजस्ता नयाँनयाँ किसिमका व्यापारको विकास भएको छ। हुनत यी व्यापारहरूको विकास अमेरिका तथा युरोपमा वर्षौ पहिले भइसकेको थियो। नेपालमा भने हालै प्रयोग हुन थालेको हो। नेपालमा यिनको प्रयोगमा सहजता र व्यापकता आउन थालेकोले नेपालका लागि यी व्यापारलाई नयाँ व्यापारको रूपमा लिनुपर्ने हुन्छ।
राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ तुल्याउन नयाँनयाँ किसिमका व्यापारको विकास हुनु आवश्यक छ। नेपालमा भने नयाँ किसिमको व्यापारको विकास हुने क्रम ज्यादै सुस्त छ। तर एउटा कुरा के सुखद छ भने नेपालमा केही क्षेत्रमा भने केही सर्वथा पृथक किसिमका व्यापारको विकास भएको छ। त्यसको उदाहरण पर्यटन क्षेत्रमा प्रारम्भ भएको ‘होम स्टे’ व्यापारलाई लिन सकिन्छ। ँब् जयmभ बधबथ ाचयm जयmभ” को नाराका साथ नेपालमा विकास एवं सञ्चालन भएको यो नयाँ व्यापारले नेपालको पर्यटन क्षेत्रको विकासमा विशेष योगदान पु–याएको त छ नै, पहाडी एवं हिमाली क्षेत्रका गरीब परिवारसम्म आम्दानी पु–याउन विशेष भूमिका पनि खेलेको छ। साथै सांस्कृतिक विविधताले भरिएको नेपाललाई विश्व सामु परिचित गराउन पनि विशेष भूमिका खेलेको छ। सन्तोषको कुरा के छ भने विदेशमा ‘एबर बी एन्ड बी’ व्यापारको विकास (स्थापन एवं प्रयोग सन् २००७ मा) हुनुपूर्व नै नेपालमा होम स्टे व्यापारको प्रयोग भइसकेको थियो।
नेपालमा नयाँ किसिमका व्यापारहरूको विकास त भएको छ तर कछुवाको चालमा।
विश्वमा वर्षभरिमा सर्वाधिक नयाँ नयाँ किसिमका वस्तु, सेवा, एवं व्यापारको विकास गर्ने दौडमा अमेरिका नै अग्र पङ्क्तिमा रहेको हुनुपर्छ। अमेरिकामा प्रत्येक वर्ष सयौंको सङ्ख्यामा नयाँ वस्तु एवं सेवाको विकास हुन्छ। तीमध्ये केही मात्र बजारबाट बहिष्कृत हुन्छन् भने बहुसङ्ख्यकले बजारमा दीर्घ जीवन प्राप्त गर्छन्। खासगरी उपभोक्ता वस्तुको क्षेत्रमा प्रत्येक वर्ष अमेरिकामा सयौ बढी वस्तु एवं सेवाको विकास हुन्छ। अनि विश्वका बाँकी मुलुकले अमेरिकाले विकास गरेका ती वस्तु एवं सेवा आफ्नो देशमा उत्पादन गर्न थाल्छन्। उदाहरणको रूपमा अमेरिकामा ‘अमेजन’ बाट प्रारम्भ भएको ‘अनलाइन सपिङ’ अहिले विश्वका अनेक देशमा प्रचलित हुन थालेको छ। अनलाइन सपिङ व्यापारको विकास सर्वप्रथम अमेरिकामा नै भएको हो। यसैगरी एबर बी एन्ड बीको व्यापारको विकास पनि अमेरिकामा नै भएको हो। गुगल, युट्युब, फेसबूक आदिको विकास पनि अमेरिकामैं भएको हो। अमेरिकामा अनेक किसिमका व्यापारको पनि विकास हुने गरेको पाइन्छ, त्यो पनि ठूलो सङ्ख्यामा।
अमेरिकास्थिति विश्वविख्यात कम्पनी ‘एप्पल’ (स्थापना १९७६) ले नयाँ नयाँ वस्तु ( कम्प्युटरको विकास गर्न विश्वमैं ख्याति आर्जन गरेको छ। मुख्य गरी कम्युटर (लैपटप(एऋ यच ःबअक) तथा सेलफोनका नयाँ–नयाँ मोडेल उत्पादन गर्नमा एप्पलको स्थान अग्रणी छ र यसको यो स्थानलाई अर्कोले प्राप्त गर्न असम्भव नभए पनि कठिन भने अवश्य छ। एप्पलले प्रत्येक वर्ष नयाँनयाँ मोडेल (नयाँ वस्तुको रूपमा) का सेल फोनहरू उत्पादन गरेर बजारमा ल्याउँछ। एप्पलका ती नयाँ मोडेल खरीद गर्न उपभोक्ताहरूको सङ्ख्या बजारमा यसरी ह्वात्त बढ्छ कि बिक्रेताहरूको पसलमा एप्पलका नयाँ मोडेलका सेलफोन खरीद गर्न क्रेताहरूको लामोलामो पङ्क्ति निर्माण हुन पुग्छ।
अमेरिकी अर्थतन्त्र विश्वमा नै सर्वाधिक बलियो हुनु र राष्ट्रिय आय अन्य मुलुकको तुलनतामा सन्तुलित किसिमले अमेरिकीहरूमाझ पुग्नुमा त्यहाँ प्रत्येक वर्ष नयाँनयाँ किसिमका वस्तु, सेवा एवं व्यापारको विकास हुनु हो। अमेरिकालाई विश्वमा नै धनी तुल्याउन विभिन्न कुराले महत्वपूर्ण भूमिका खेलेको छ, तीमध्ये प्रत्येक वर्ष नयाँनयाँ किसिमका वस्तु, सेवा एवं व्यापारको विकास हुनु पनि एक हो।
हेर्दा सामान्य देखिए तापनि नयाँनयाँ वस्तु, सेवा एवं व्यापारको विकासले मुलुकलाई धनी तुल्याउनमात्र होइन, धनीहरूको हातमा रहेको आम्दानी गरीबसम्म पु–याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नेपालमा पनि हामीले नयाँनयाँ वस्तु, सेवा एवं व्यापारको विकासमा जोड दिनु आवश्यक छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्