पृथ्वीनारायण शाह — आजको सन्दर्भमा

116

बासुदेवलाल दास  पिएचडी

परिचय ः वर्तमान नेपाल राष्ट्रको भौगोलिक स्वरूपको निर्माणमा मध्यकालीन गोरखा (गोर्खा) राज्यको महत्वपूर्ण योगदान छ। अहिले नेपालको गण्डकी प्रदेश अन्तर्गत एउटा जिल्लाको रूपमा रहेको गोरखा मध्यकालमा एउटा राज्य थियो, जसको राजगद्दीमा ३ अप्रैल, सन् १७४३ ई. (वि.सं.१७९९ चैत्र २५ गते) बुधवारका दिन पृथ्वीनारायण शाह आसीन भएका थिए। उनी राजा भएपछि त्यस बेलाको राजकीय छापमा प्रयोग हुने कालो मसीको ठाउँमा रातो मसी प्रयोग गर्न आरम्भ गरिएकोले त्यस बेलादेखि राजकीय छापलाई ‘लालमोहर’ भन्न थालिएको हो। गोरखा राज्यको विस्तारित सिमाना अन्तर्गत सन् १७६९ ई.मा नेपाल उपत्यका अथवा काठमाडौं उपत्यका पूर्णरूपमा समाहित भएपछि एकीकृत समस्त भूभागको नाम ‘नेपाल’ भएर यसको राजधानी काठमाडौं कायम गरी पृथ्वीनारायण शाह नेपालका राजा भएका थिए। यसपछि गोरखामा प्रचलित रहेको खश–भाषा, जसलाई गोरखा–भाषा भनिन्थ्यो, नेपाल राज्यको राजकीय भाषाको रूपमा स्थापित भएको थियो। हामीले अहिले प्रयोग गरिरहेको नेपाली–भाषा त्यही खश–भाषा अथवा गोरखा–भाषा हो। गोरखा–भाषामा प्रकाशित हुने पत्र भएकोले नै राणा प्रधानमन्त्री देव शमशेरको पालामा स्थापित समाचारपत्रको नाम ‘गोरखापत्र’ (गोर्खापत्र) राखिएको थियो। चक्रपाणि चालिसे रचित एवं नेपालमा राजतन्त्रात्मक व्यवस्था कायम रहेको समयसम्म गाइने राष्ट्रगान “श्रीमान् गम्भीर नेपाली…….हामी नेपाली साराले” को मौलिक रूप “श्रीमान् गम्भीर गोर्खाली …..हामी गोर्खाली साराले” भन्ने थियो। मूलरूपमा यो गान श्री ५ महाराजाधिराजको सलामी भनेर रचिएको थियो। यसमा पछि आएर ‘गोर्खाली’ शब्दको सट्टा ‘नेपाली’ शब्द राखिएको थियो। यसरी नै ‘नेपाली भाषा प्रकाशिनी समिति’बाट नाम परिवर्तित भई वर्तमान समयको “‘साझा प्रकाशन’ नामक संस्थान स्थापित हुँदाको बखतमा यसको नाम ‘गोर्खा भाषा प्रकाशिनी समिति’ थियो।
पृथ्वीनारायण शाहको जन्म ७ जनवरी, सन् १७२३ ई. (वि.सं. १७७९ पौष २७ गते) बृहस्पतिवारका दिन भएको थियो। उनको देहान्त ११ जनवरी, सन् १७७५ ई.(वि.सं.१८३१ माघ १ गते) बुधवारका दिन भएको थियो। राजगद्दीमा आसीन हुँदाको बखतमा उनी २० वर्षका थिए। राजा भएदेखिका ३२ वर्षसम्मको उनको जीवन निरन्तर परिश्रमले भरिएको थियो। पृथ्वीनारायण शाह एउटा राजा थिए। उनको व्यक्तित्वमा भएका गुणहरू एउटा राज्यका प्रमुखका लागि, एउटा नगरका प्रमुखका लागि, एउटा परिवारका प्रमुखका लागि एवं एउटा सफल अभिभावकीय व्यक्तित्वका लागि समेत उदाहरणीय तथा अनुकरणीय रहेको छ। यस्ता कुरा वर्तमान समयमा समेत अति नै सान्दर्भिक हुनाले यस आलेखमा पृथ्वीनारायण शाहका व्यक्तित्वका केही पक्षबारे चर्चा गरिएको छ।
कठिन परिश्रमी तथा ज्ञानप्रति निष्ठा ः पृथ्वीनारायण शाहको जन्म गोरखाका राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीको गर्भबाट भएको थियो। उनमा बाल्यावस्थादेखि नै एउटा कठिन परिश्रमी व्यक्तिको झलक पाइन्छ। उनी आफ्ना मातापिता एवं गुरुप्रति आदरभाव राख्नुका साथै अनुशासनप्रिय तथा आज्ञाकारी बालकको रूपमा रहेका थिए। उनलाई जन्म दिने आमा कौशल्यावती भए पनि उनको पालन–पोषण, शिक्षा–दीक्षा र देखरेखमा जेठी आमा चन्द्रप्रभावतीको प्रमुख हात थियो। राजपरिवारको सुख–सुविधायुक्त वातावरणमा राजकुमारहरू विलासिता र आलस्यप्रति उन्मुख हुन सक्ने सम्भावनालाई दृष्टिगत गरेर जेठी आमाले पृथ्वीनारायण शाहलाई यस्ता कुराबाट टाढा राखी एउटा सफल र राजोचित गुणले युक्त राजाको रूपमा स्थापित गराउन चाहेकी थिइन्। आमाको समुचित ध्यान सन्तानको शिक्षा–दीक्षाप्रति भएमा तथा सन्तानले पनि ज्ञानार्जनप्रति निष्ठा राखेमा सफलता प्राप्त गर्न सजिलो हुने कुरा यसबाट थाहा पाइन्छ। जेठी आमाले भानु अर्याल र महेश्वर पन्तजस्ता गुरुहरूबाट पृथ्वीनारायण शाहलाई शिक्षा दिने प्रबन्ध मिलाएकी थिइन्। यसरी उनी साहित्य, पुराण, नीतिजस्ता शास्त्रविद्याका साथै राजकुमारोचित शस्त्रविद्याको समेत ज्ञान प्राप्त गरेका थिए।  
लक्ष्य प्रति एकाग्रता ः पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरकी राजकुमारीसित सन् १७३८ ई.मा भएको थियो। यो वैवाहिक सम्बन्ध सफल हुन नसकेकोले उनले सन् १७४० ई. मा बनारसकी राजकुमारीसित दोस्रो विवाह गरेका थिए। पहिलो विवाहको समयमा मकवानपुरबाट फर्किने बेला चन्द्रागिरि डाँडाबाट काठमाण्डौं उपत्यका देखेपछि उनको विचारमा त्यस क्षेत्रको राजा हुने इच्छा उत्पन्न भएको थियो। यस विचारलाई लक्ष्य बनाएर उनले आगामी पाइलाहरू चालेका थिए। यस अन्तर्गत नुवाकोटमाथि आक्रमण, भक्तपुरको यात्रा, लमजुङसित सन्धि, नेपाल उपत्यकाका चारैतिरका प्रदेशहरूमाथि अधिकार इत्यादि रहेका छन्। अन्ततः उनी, आफ्नो लक्ष्य प्राप्त गरी, नेपाल उपत्यकामाथि अधिकार स्थापित गरी विशाल नेपाल राष्ट्रको जग बसाल्न सफल भएका थिए।
लक्ष्य प्राप्तिका लागि रणनीति ः गोरखा एउटा सानो राज्य थियो। एउटा राजाले आफ्नो राज्यको भूभाग विस्तार गर्दा राज्य ठूलो हुनुका साथै सबल पनि हुने हुँदा यसै लक्ष्यका साथ पृथ्वीनारायण शाहका पिताले सन् १७३७ ई. मा नुवाकोटमाथि आक्रमण गरेका थिए, जसमा गोरखाको पराजय भएको थियो। अर्कोतिर, युवाराजावस्थादेखि नै शासकीय कार्यमा योगदान गर्दै आएका पृथ्वीनारायण शाह आफ्नो लक्ष्यप्रति प्रतिबद्ध थिए। त्यस बेला मकवानपुर एउटा ठूलो र शक्तिशाली राज्य थियो। यस्तो राज्यसित सम्बन्ध स्थापित भएमा आफ्नो शान बढ्ने कुरा विचार गरी गोरखाले मकवानपुरसित वैवाहिक सम्बन्ध स्थापित गरेको थियो, तर कारणवश सम्बन्ध सुमधुर रहन सकेन। त्यस्तै, पृथ्वीनारायण शाह गोरखाको प्रतिनिधि भएर सन् १७४१ ई. मा भक्तपुरको यात्रा गरेका थिए, जसबाट नेपाल उपत्यकाबारे धेरै जानकारी प्राप्त गर्न सकिएको थियो। उनी राजा भएपछि सन् १७४३ ई.मा नुवाकोटमाथि आक्रमण गरेका थिए, जुन गोरखाद्वारा गरिएको दोस्रो आक्रमण थियो। यसमा पनि गोरखाको पराजय नै भएको थियो। त्यसपछि उनी बनारसको यात्रा गरी हात–हतियार सङ्कलन गर्नुका साथै राज्यको आन्तरिक प्रशासनिक तथा सैनिक व्यवस्था मिलाएर तथा नेपाल उपत्यकाका मल्लराजाहरूबीच फूट उत्पन्न गराएर पूर्ण रणनीतिक योजनाका साथ २६ सेप्टेम्बर, सन् १७४४ ई. (वि.सं. १८०१ आश्विन १४ गते) शनिवारका दिन नुवाकोटमाथि आक्रमण गरी विजय प्राप्त गर्नुका साथै वरिपरिका केही क्षेत्रसमेत गोरखाको अधीनमा पार्न सफल भएका थिए। यसरी नै, कीर्तिपुरमाथिको पहिलो आक्रमणमा गोरखाको पराजय भएपछि नेपाल उपत्यकाको आर्थिक नाकाबन्दी गर्न मकवानपुरसमेत उपत्यकाका वरिपरिका भूभागमाथि नियन्त्रण कायम गरिएका थिए। यस प्रकार, लक्ष्य प्राप्तिका लागि सम्भव सबै प्रकारका रणनीतिहरू उनले अँगालेका थिए।
स्वाभिमान तथा धैर्यशीलता ः पृथ्वीनारायण शाह एउटा स्वाभिमानी र धैर्यशील व्यक्ति थिए। उनमा यस्ता गुणहरू उचित शिक्षा–दीक्षाबाट प्राप्त भएको थियो। मकवानपुरसित वैवाहिक सम्बन्ध सफल नहुनुमा उनको स्वाभिमान पनि एउटा कारण रहेको इतिहासकारहरू बताउँछन्। यो सम्बन्ध सुमधुर होओस् भनी पटक–पटक प्रयास हुँदा पनि सफल भएको थिएन, किनकि पृथ्वीनारायण शाह आफ्नो स्वाभिमानमाथि कुनै प्रकारको आँच आउनदिन चाहँदैन थिए। अर्कोतिर, उनको समस्त जीवनबाट हामी धैर्यशीलताको परिचय पाउँदछौं। गोरखा राज्यको विस्तार गर्ने लक्ष्यसाथ नुवाकोटमाथि गरिएका दुईओटै आक्रमण विफल भएपछि धैर्यपूर्वक रणनीति बनाएर सन् १७४४ ई.मा गरिएको तेस्रो आक्रमणमा गोरखाको विजय भएको थियो। यस्तै, कीर्तिपुरमाथिको पहिलो २८ मई, सन् १७५७ ई.(वि.सं.१८१४ ज्येष्ठ १९ गते) शनिवारको आक्रमणमा कालु पाँडेजस्ता वीर योद्धाको निधन र दोस्रो १६ सेप्टेम्बर, सन् १७६४ ई. (वि.सं.१८२१ आश्विन ४ गते) रविवारको आक्रमणमा भाई शूरप्रताप शाहको आँखा फुट्नुजस्ता आघातबाट विचलित नभई धैर्यपूर्वक युद्ध–रणनीतिका वैकल्पिक उपाय अवलम्बन गरी छलपूर्वक १२ मार्च, सन् १७६६ ई. (वि.सं.१८२२ चैत्र ३ गते) बुधवार कीर्तिपुरमाथि अधिकार कायम गरिएको थियो। यसरी नै, कान्तिपुरमाथि २६ सेप्टेम्बर, सन् १७६८ ई.(वि.सं. १८२५ आश्विन १४ गते) सोमवार र ललितपुरमाथि ६ अक्टूबर, सन् १७६८ ई.(वि.सं. १८२५ आश्विन २४ गते) बृहस्पतिवार अधिकार कायम भइसके तापनि भक्तपुरमाथि नियन्त्रण कायम गर्न एक वर्ष धैर्यपूर्वक तयारी गर्नुपरेको थियो। यसप्रकार, भक्तपुरमाथि १३ नोभेम्बर, सन् १७६९ ई.(वि.सं.१८२६ मङ्सिर २ गते) सोमवारका दिन गोरखाको अधिकार स्थापित भएसँगै समस्त नेपाल उपत्यका अर्थात् काठमाडौं उपत्यकाको भूभाग गोरखा अधीनस्थ भएको थियो।
शत्रु र मित्रको पहिचान ः जीवनमा सफलताका साथ अगाडि बढ्ने क्रममा शत्रु र मित्रको पहिचान आवश्यक हुन्छ। पृथ्वीनारायण शाह नेपाल उपत्यकामाथि अधिकार कायम गर्ने लक्ष्य राखेपछि उनका मामा उद्योत सेनले उपदेश दिंदै भनेका थिए कि गोरखा भनेको सर्प हो, नेपाल उपत्यका भनेको भ्यागुतो हो र लमजुङ भनेको गरुड हो। सर्पले भ्यागुतो खान खोज्नुभन्दा पहिले आफूलाई गरुडदेखि सुरक्षित तुल्याउन आवश्यक हुन्छ। अतः उपत्यकातिर अभियान थाल्नुभन्दा पहिले लमजुङसित सुरक्षात्मक उपाय गर्नुपर्दछ। यस विचारको आधारमा २१ जनवरी, सन् १७४० ई.(वि.सं. १७९६ माघ १२ गते) बृहस्पतिवारका दिन गोरखा र लमजुङबीच सन्धि गरिएको थियो। यसबाट एकातिर, गोरखामाथि लमजुड्ढो आक्रमणको शङ्का रहेन भने अर्कोतिर, चौबीसी समूहका राज्यहरूको गुटमा भेद उत्पन्न भएकोले उतातिरबाट गोरखा झन् सुरक्षित हुन पुगेको थियो। त्यस्तै भक्तपुरका राजकुमार वीरनरसिंहसित मित्रताको सम्बन्ध स्थापित गरी उपत्यकाका राज्यहरूबीच फूट गराउन सकिएको थियो। सैनिक अभियानका सिलसिलामा गोरखाली सेनाको सामना बङ्गालका नवाब मीर कासिमको सेनासित जनवरी, सन् १७६३ ई.मा एवं ब्रिटिश इस्ट इन्डिया कम्पनीको सेनासित अक्टूबर, सन् १७६७ ई. मा भएका कारण पृथ्वीनारायण शाहको दक्षिणी शक्तिहरूसित सतर्कतापूर्ण सम्बन्ध रहेको थियो। आफ्नो अभियान असफल भएपछि ब्रिटिश कैप्टन किनलक फर्कने बेलामा बारा, पर्सा र रौतहटका केही भूभागमाथि अधिकार स्थापित गरी बसेका थिए। बारामा बसेका बखत किनलकले २५ दिसम्बर, सन् १७६७ ई. वि.सं.१८२४ पौष १४ गते शुक्रवार)का दिन पत्र लेखेर पटनाका ब्रिटिश अधिकारी मिस्टर रम्बोल्डलाई तत्कालीन वस्तुस्थितिबारे जानकारी गराएका थिए। पछिल्लो समयमा, पृथ्वीनारायण शाहले आफ्नो दूत पठाएर रौतहटका २२ गाउँका साथै बारा र पर्साका ब्रिटिश अधिकृत भूभाग विषयक समस्या समाधान गराएका थिए।
कूटनैतिक योग्यता ः कूटनैतिक योग्यताका दृष्टिले पृथ्वीनारायण शाह सफल व्यक्तिका रूपमा देखिन्छन्। गोरखा राज्यको भूभाग विस्तृत पार्ने सन्दर्भमा अनेक कारणले गर्दा कूटनैतिक रूपमा समेत पहिलो प्राथमिकतामा नुवाकोट क्षेत्रमाथि अधिकार कायम हुनु आवश्यक रहेको कुराप्रति उनी सजग थिए। त्यस्तै, नेपाल उपत्यकामाथि अधिकार गर्नका लागि गोरखाको छिमेकी राज्य लमजुङसमेत अन्य चौबीसी राज्यहरूसितको सम्बन्धलाई उनले ध्यानमा राखेका थिए। भक्तपुरसित मित्रताको सम्बन्ध स्थापित गरी, विजित केही भूभाग प्रदान गर्ने आश्वासन दिएर उपत्यकाको गुटमा विभेद गराउनु तथा नुवाकोट र कीर्तिपुरमाथि अधिकार कायम गर्न गरिएको साम, दाम, दण्ड र भेदजस्ता अभ्यासले उनमा रहेको कूटनैतिक योग्यताको परिचय पाइन्छ। मकवानपुरका राजा हेमकर्ण सेन उनका ससुरा थिए, अतः उनको जीवनकालसम्म गोरखाले मकवानपुरमाथि आक्रमण गरेन। उनको देहान्तपछि मकवानपुरका साथै हरिहरपुर र सिन्धुली क्षेत्रका भूभागमाथि समेत गोरखाको नियन्त्रण स्थापित गरिएको थियो, किनकि यो कूटनैतिक तथा रणनीतिक दृष्टिले आवश्यक थियो। कान्तिपुरमाथि आक्रमण गर्दा इन्द्रयात्राको उत्सवको अवसर थियो। पृथ्वीनारायण शाहले सो उत्सव यथावत् मनाइराख्न आदेश गरेका थिए। यसरी नै, नेपाल उपत्यकामाथि अधिकार स्थापित भएपछि उनले गोरखा राज्यको विस्तृत भूभाग समेटिएको देशको नाम नेपाल राख्नुका साथै राजधानी काठमाडौंमा कायम गरेका थिए। उनले आफ्नो राज्यलाई ‘सबै जातको फुल्बारि हो’ भनेका थिए। अर्कोतिर, उनले नेपालको भू–राजनैतिक अवस्थाको स्पष्ट शब्दमा वर्णन गर्दै भनेका थिए—“यो राजे दुई ढुंगाको तरूल जस्तो रहेछ. चीन बादसाहसित ठुलो घाहा राषनु. दषिनको समुन्द्रका बादसाहसित घाहा ता राषनु तर त्यो महाचतुर छ हिन्दुस्थाना दबाईराषेछ ”।
सेना/सिपाहीप्रति दृष्टिकोण ः पृथ्वीनारायण शाहका जीवनका महत्वपूर्ण वर्षहरू सैनिक अभियानमा बितेका थिए। आफ्नो लक्ष्य प्राप्तिमा सघाएका सेना र सिपाहीहरूप्रति उनमा अति नै स्नेह र सौहाद्र्रपूर्ण विचार रहेका थिए। कालु पFँडेलाई काजी बनाउने निर्णयमा जनमतको कदर गर्नु, थर–घर (पाँडे, पन्त, बोहरा, अज्र्याल, खनाल, राना) प्रति सहयोगात्मक भावना राख्नु उनका यस्तै विचारका परिणाम थिए। उनका दिव्योपदेशका शब्दहरू — “राजाले विवेक राषीदिया देसदेसका सिपाहि पनि आसा राषी आउन्छन्”, “राजाका सार भन्याको सिपाहि र रैतिहरू हुन्”, “सिपाहि भन्याको तिषारिराषनु. तिषारिराष्याका सिपाहि कसैका मलाजामा पस्तैनन् र आफनु काज पत्य हुन्छ”, “लडाञीमा पनि हान्न्या र सष दिन्या ई दुवै बरोबर हुन् जागिर दिदा बितल् दिदा दुवैलाई बरोबर दिनु”, “म–यो भन्या उस्का छोरा षुडा हान्न्या नहुन्ज्याल् मरवट् दिनु. षुडा हान्न्या भयापछि जागिरमा उकालि दिनु”…..इत्यादि अध्ययन गर्दा सेना र सिपाहीप्रति उनको दृष्टिकोण स्पष्ट हुन्छ।
देशवासीको उन्नति र प्रगति प्रति साकाङक्ष ः पृथ्वीनारायण शाह एउटा महत्वाकाङ्क्षी व्यक्ति थिए। उनलाई सानो गोरखा राज्यले पुगेको थिएन। उनी आफ्नो राज्यको भूभाग विस्तृत पार्न चाहेका थिए। यसले गर्दा राज्य सबल हुनुका साथै प्रजा पनि सुखी हुने उनको विश्वास थियो। उनकै शब्दमा — “राजाका भंडार भन्याका रैतानहरू हुन्”। स्वदेशी उद्योग र वैदेशिक व्यापारको विकास भए प्रजामा सुख सुविधा हुनुका साथै राज्य पनि सम्पन्न हुने कुरा व्यक्त गर्दै उनले भनेका थिए — “आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगत षैचनु” तथा “प्रजा मोटा भया दर्बार बलियो रहन्छ”। वाणिज्य व्यवसाय र व्यापारमा विदेशी व्यापारीको पहुँचलाई हतोत्साहित गरी स्वदेशी व्यापारीको भूमिकालाई महत्व दिंदै उनले भनेका थिए—“देसका माहाजन्लाई गोडप्रसाहदेषी उभ आउन नदिनु देसका माहाजन्हरू हाम्रा मलुकमा आया भन्या दुनिञा कंगाल गरि छाड्दछन्”। यसमा रहेको गोडप्रसाह भन्ने स्थान वर्तमान पर्सा जिल्ला, पर्सागढी नगरपालिका वार्ड नं. २ मा पर्ने गोरपसरा स्थान हो, जुन त्यस बखत एउटा महत्वपूर्ण व्यापारिक केन्द्र हुनुका साथै भारतीय क्षेत्रबाट हुने व्यापारको मुख्य मार्ग रहेको बुझिन्छ।
राज्यको एकता र अखण्डताप्रति प्रतिबद्ध ः पृथ्वीनारायण शाहको पालामा वर्तमान नेपाल राष्ट्रको भौगोलिक स्वरूपको निर्माण, यद्यपि भइसकेको थिएन, तथापि गोरखा राज्यले एउटा विस्तृत भूभाग अधीनस्थ गरी ‘नेपाल’ संज्ञा अङ्गीकार गरिसकेको थियो। नेपाल (काठमाडौं) उपत्यकाका साथै मकवानपुर इत्यादि सेनवंशीय शासन रहेका राज्यहरू गोरखाको अधीन आइसकेपछि पृथ्वीनारायण शाहका भाइहरूले राज्यको विभाजन गर्ने विचार व्यक्त गरेका थिए, किनकि गोरखाको सैनिक अभियानमा उनका भाइहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। परन्तु, राज्यको विभाजनको विचारलाई पृथ्वीनारायण शाहले कठोरतापूर्वक अस्वीकार गरिदिएका थिए। राज्यको विभाजन गर्दा शक्ति कमजोर हुने तथा अन्ततः राज्यको अन्त्य हुने कुरा पृथ्वीनारायण शाहलाई थाहा थियो। उनको यस्तो निर्णयले उनका भाइहरू उनीसित रिसाएर राजधानी बाहिर गइबसेका थिए। उनका भाई महोद्दामकीर्ति शाह बारा जिल्लाको कलैयामा आएर बसेका थिए भने अन्य केही चौबीसी राज्यतिर गएका थिए। नेपाली साहित्यको प्रख्यात खण्डकाव्य ‘राष्ट्र–निर्माता’मा कवि माधव घिमिरे लेख्दछन् ः
दलमर्दन शाह ः तसर्थ दाज्यै अब बढ्न छाडौं, यो राज्य हामी सब भाई बाँडौं।
जेथा बुबाको दुध यो मुमाको, कमाई भाई सबका भुजा को।।
पृथ्वीनारायण शाह ः पारिन्छ सत्ता जब खण्ड खण्ड, रहन्छ के राष्ट्र त्यहाँ अखण्ड।
थुत्तिन्छ पत्ता जब खात खात, सिद्धिन्छ शोभा अनि फूल बाट।।
विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति, सहन्न भाई म त एक रत्ति।
विशाल नेपाल म त रच्छु रच्छु, कहाँ छ मृत्युञ्जयलाई मृत्यु।।
यसबाट उनको राष्ट्रिय एकता र अखण्डता प्रतिको प्रतिबद्धता देखिन्छ।
निष्कर्ष ः पृथ्वीनारायण शाहका बारेमा अनेक ग्रन्थ लेखिएका छन्। यस सानो आलेखमा उनका विविध आयामबारे कतिपय कुरा समेट्न सकिएको छैन, तथापि, माथि चर्चा गरिएका उनको व्यक्तित्वमा भएका केही गुणहरू आजको समयमा समेत उत्तिकै सान्दर्भिक र उपयोगी रहेका छन्। यसरी, इतिहासको अध्ययनबाट अनेक अनुकरणीय उदाहरणहरू प्राप्त गर्न सकिन्छ, जसबाट हामी आफ्नो वर्तमानलाई सफल बनाउँदै भविष्यप्रति सकारात्मक परिवेशको निर्माण गर्न सक्दछौं।
केही सन्दर्भ ग्रन्थसूची
आचार्य, बाबुराम ः श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी
ज्ञवाली, सूर्यविक्रम ः पृथ्वीनारायण शाह
पन्त, दिनेशराज ः गोरखाको इतिहास
(त्रिभुवन विश्वविद्यालय, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजको इतिहास शिक्षण विभागद्वारा मिति २०७७।१०।९ गते शुक्रवार आयोजित प्राज्ञिक गोष्ठीमा प्रस्तुत आलेख)    
आलेख प्रस्तुति ः– वासुदेवलाल दास, पीएच.डी.
प्राध्यापक तथा विभागीय प्रमुख, इतिहास शिक्षण विभाग,

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्