नारायणी अस्पतालकी हेमा थापालाई कोरोनाविरुद्ध पहिलो खोप

127

प्रस, वीरगंज, १४ माघ/
कोरोनाविरुद्धको खोप प्रदेश नं २ को नारायणी अस्पतालकी एनआइसियू वार्डकी इन्चार्ज हेमा थापालाई लगाएर शुरू भएको छ।
प्रदेश सरकार तथा नारायणी अस्पतालले आयोजना गरेको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री लालबाबूराउत गद्दीले गरेका थिए। मुख्यमन्त्री गद्दीले खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद ज्ञापन गरे। उनले प्रदेश २ मा कोरोना सबैभन्दा बढी फैलिएर सर्वसाधारण भयभीत र त्रसित भएको अवस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी प्रशासन, सञ्चारकर्मीलगायतले पु–याएको योगदानको प्रशंसा गरे।
मुख्यमन्त्री गद्दीले पहिलो चरणमा चिकित्सक, नर्स, सरसफाइकर्मी, प्रहरीलाई खोप लगाउने, दोस्रो चरणमा ज्येष्ठ नागरिक र तेस्रो चरणमा सर्वसाधारणलाई निश्शुल्क खोप लगाउने सरकारको योजना रहेको बताए। प्रदेश २ मा सबैभन्दा पहिले वीरगंजबाट नै कोरोना सङ्क्रमित फेला परेको र यहीबाट नियन्त्रणका लागि खोप अभियान शुरू भएकोमा खुशी व्यक्त गरे। उनले आमजनतालाई पनि खोप लगाउन आग्रह गरे।
जिल्ला खोप समन्वय समिति, पर्साका संयोजक प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद प्रदीप यादव, नगरप्रमुख विजयकुमार सरावगी, वीरगंजस्थित भारतका महावाणिज्यदूत नीतेश कुमार, मेसु डा सञ्जय ठाकुर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरसिया, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, स्वास्थ्य निर्देशक विजयकुमार झालगायतले मन्तव्य व्यक्त गरेका थिए।
मेसु डा ठाकुरले स्वास्थ्य कार्यालयमा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक गरी पहिलो चरणको पहिलो दिन सयजनालाई खोप लगाउने योजना रहेको बताए।
सङ्घ सरकारले पर्सामा नाम दर्ता भएका ५ हजार ५२० मध्ये अहिले ५ हजार खोप उपलब्ध गराएको छ र सोही अनुसार खोप लगाइने उनले जानकारी दिए।
प्रस, रौतहट/
कोरोनाविरुद्धको खोप रौतहटको गौर अस्पतालमा आज दिइएको छ। स्वास्थ्य कार्यालय गौरको आयोजनामा नगरप्रमुख अजयकुमार गुप्ता र प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले खोप अभियानको संयुक्तरूपमा उद्घाटन गरे।
रौतहटको लागि ४ हजार १० जनालाई पुग्ने खोप आएको स्वास्थ्य कार्यालय गौरका सहयोगी उमेश मण्डलले बताए। कार्यक्रममा प्रजिअ यादवले कोरोनाविरुद्धको खोप पहिलो चरणमा सरकारले निर्धारण गरे अनुसार चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालकलाई दिइने बताए। दोस्रो चरणमा ज्येष्ठ नागरिक, श्वासप्रश्वासका रोगी र तेस्रो चरणमा सर्वसाधारणलाई दिइने उनले जानकारी दिए।
प्रस, सप्तरी/
नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधवारदेखि देशभरमा शुरू भएसँगै सप्तरीमा पनि शुरू भएको छ। राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले खोप अभियान शुभारम्भ गरे। सप्तरीमा राजविराजस्थित अस्पताल र रूपनी गाउँँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पतालमा स्वास्थ्यकर्मी, सफाइकर्मीलाई पहिलो चरणमा खोप लगाउन शुरू गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन्।
खोप अभियान उद्घाटन गर्दै प्रदेश २ का सामाजिक विकासमन्त्री साहले ढुक्क भएर खोप लगाउन आग्रह गरे। खोप लगाएपछि कसैकसैलाई सामान्य असर देखा परे पनि ती असर केही समयपछि आफैं हराएर जाने उनको भनाइ थियो। असर देखिए पनि नआत्तिन उनले सुझाए।
खोप अभियानमा गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला, गम्भीर बिरामी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सहभागी नगराइने प्रमुख यादवले जानकारी गराए।
प्रस, सिराहा/
पहिलो चरणमा सिराहाका तीन हजार ९३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सञ्चारकर्मीसँग कुरा गर्दै बुधवार सो जानकारी दिएका हुन्।
पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइनेछ।
कोरोनाविरुद्धको तोकिएको सङ्ख्यामा खोप विभागबाट आइसकेको र जिल्ला अस्पतालमा भण्डारण गरी राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए। सिराहा अस्पतालको हाताभित्र तीनवटा बुथ स्थापना गरी बुधवार बिहान ११ बजेदेखि खोप लगाउन शुरू गरिएको छ।
निर्धक्क खोप लगाउन स्वास्थ्यकर्मी थापाको सुझाव
स्वास्थ्यकर्मी हेमा थापाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाउँदा आधा घण्टा बित्दा कुनै असर नपरेको बताइन्। साथीहरूले पहिलोपटक किन खोप लगाइस् भन्दै डर, त्रास देखाएको बताए पनि उनले शुरूमा कोरोना के हो भन्ने आफूलाई थाहा नभएको, प्रत्यक्षरूपमा कोरोना सङ्क्रमितको उपचार गर्दा पनि कोरोनासँग नडराएको अवस्थामा खोपसँग किन डराउने भन्दै खोप लगाएको बताइन्।
घरपरिवारबाट खोप नलगाउन दबाब आएको अनुभव सुनाउँदै खोप लगाएका मानिसको मृत्यु भएको, बिरामी भएको घटनाले आफूलाई पनि मनमा चीसो पसेको बताइन्। तर त्योभन्दा बढी कोरोनाबाट धेरै मानिस मरेकाले खोप लगाउनुपरेको बताइन्। पर्सा जिल्लामा ५३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको र थुप्रै सङ्क्रमित भेटेको स्मरण गर्दै उनले सबैलाई कोरोनाविरुद्ध खोप निर्धक्क लगाउन आग्रह गरिन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्