राजस्व सङ्कलनमा कर्मचारी र एजेन्टको भूमिका महत्वपूर्ण

53

प्रस, वीरगंज, १३ माघ/
वीरगंज भन्सार कार्यालय तथा भन्सार एजेन्ट सङ्घको आयोजनामा  ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवस आइसिपीको भवनमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आसमान तामाङले कुल राजस्वको धेरै मात्रा सीमाबाट हुने व्यापारबाट उठेको राजस्वबाट आउने गरेकोले सो कार्यमा भन्सारका कर्मचारी तथा एजेन्टको भूमिका महत्वपूर्ण रहेको बताए। उनले राज्यले दिएको लक्ष्य पु–याउनमा अहम् भूमिका खेल्ने कर्मचारी, भन्सार एजेन्ट, सुरक्षा निकायलाई अझ तदारूकताका साथ अगाडि बढ्न निर्देशन दिए। स्थानीय तहमा राजस्व चुहावट, सीमा व्यवस्थापनलगायतका काममा सक्दो प्रविधिको सदुपयोग गर्न सुझाए। आरोप–प्रत्यारोपबीच खाडल पुर्न प्रविधिको सदुपयोग गरे सरकारको लक्ष्य पनि पूरा हुने र विभिन्न लाञ्छनाबाट बच्ने बताए।
प्रजिअ तामाङले आयातकर्ता र निर्यातकर्ताबीच झन्झटविना सजिलो तरीकाबाट चेकजाँच गर्न कर्मचारीलाई निर्देशन दिए। चुहावट नियन्त्रणका लागि बजार अनुगमन गर्न अति आवश्यक रहेको र यसमा व्यापारी, व्यवसायीको आवश्यकता रहेको बताए। भन्सार कर्मचारीहरूप्रति दुःखेसो पोख्दै प्रजिअ तामाङले क्षमताभन्दा बढी मालसामान बोकेका गाडीलाई पास नगर्न सुझाव दिए। यस्ता गाडीले बाटो भत्काउने गरेको कारण देशलाई बर्सेनि अर्बौं रुपैयाँ घाटा हुने गरेको बताए। क्षमताभन्दा बढी मालसामान पठाउँदा राजस्व कम आउने र अर्कोतिर देशलाई घाटा हुने गरेकोले क्षमताभन्दा बढी सामान भएमा अनलोड गराउन बताए। भन्सारबाट छुटेका गाडीमध्ये ९० प्रतिशत गाडीमा ओभरलोड हुने र ती गाडीलाई प्रहरीले  सामान्य जरिवानाबाहेक अन्य कुनै कारबाई नभएकोले भन्सारबाट यसको रोकथाम हुनुपर्ने बताए।
वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले वीरगंज भन्सारबाट धेरै निर्यातकर्ताले राजस्व तिर्ने तर भन्सार दिवसको अवसरमा कुनै व्यापारी, व्यवसायीलाई नसम्झेकोमा दुःखेसो पोखे। उनले भन्सार र व्यवसायीबीच एकता हुनु आवश्यक रहेको बताए।  
भन्सार कार्यालयका प्रमुख महेश आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सुक्खा बन्दरगाहका भन्सार अधिकृत डा लालबहादुर खत्री, भन्सार एजेन्ट सङ्घका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा उत्कृष्ट कर्मचारी, एजेन्ट, सरोकारवालाई सम्मानित गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्