मर्दैछन् नेपाली

83

भर्खरै मलेसियाबाट १८ जना नेपालीको शव नेपाल आइपुग्यो। उनीहरू त्यहाँ कुनै प्रत्यक्ष्F युद्ध लड्न गएका थिएनन्। हो, आफ्नो भूमिमा भोकसँग परास्त भएर आजीविकाको खोजी गर्दै बिरानो धरतीमा पुगेका थिए। तिनको आयबाट सरकारले विप्रेषण प्राप्त गरेर विश्वमा आफ्नो नाक ठाडो राख्न सकेको छ। तिनको आयबाट नेपालको ‘प्रतिव्यक्ति आय’मा वृद्धि भएको छ। तिनले विदेशमा सिकेर आएको सीपले यस धरतीमा केही भएपनि स्वरोजगारका कार्यक्रमहरू चलेका छन्। तर तिनको लाश एउटा होइन, दुईटा होइन, थान गन्तीमा आउनु र देशका शासकहरूलाई किञ्चित पीर नपर्नु चाहिं लज्जास्पद विषय हो। ती १८ जना एकै चिहान भएका भने होइनन्, अलग–अलग ठाउँमा काम गर्ने सिलसिलामा अलग–अलग कारणले र अलग–अलग मितिमा मृत्यु भएको हो। मानिस मरेपछि उसको सद्गत् मानवकै पहिलो दायित्व हो। जुनसुकै धर्म वा सम्प्रदाय होस्, जन्मजत्तिकै महत्वपूर्ण हुन्छ, अन्तिम संस्कार पनि। तर नेपालको सरकार यति गैरजिम्मेवार छ कि लाश पनि थान गन्ती पूरा नभएसम्म ल्याउन सक्दैन।
आफ्नै देशमा जब मानिस भोकले छटपटिन्छ, आजीविकाको सामान्य अवसर पनि पाउँदैन, दौंतरीको रमझम हेरेर न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन, अनि ऊ बिरानो देशको बाटो खोज्छ। सरकारले त्यस्तालाई हौंस्याउँछ, विभिन्न सुविधाको प्रलोभन दिन्छ। तर जब ऊ विदेशमा कुनै कारणले जेल पर्छ, नजानेको मुलुकको कुनै कानूनी फन्दामा फस्छ सरकार उसलाई सहयोग गर्न कुनै प्रयत्न गर्दैन। यसरी आजीविकाको लागि भौंतारिंदै विदेश पुगेका नेपालीहरूमध्ये प्रत्येक दिन एकजनाको मृत्यु हुने पुरानो तथ्याङ्क हो। तर सरकारले आजसम्म नेपालीको मृत्यु किन हुन्छ, तिनको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने सोचेको वा तत्सम्बन्धी उपाय गरेको देखिंदैन। हो, केही देशसँग श्रम सम्झौता भएको छ, लाज ढाक्ने उद्देश्यलेस अन्यथा काम लागुन्जेल भाँडो नभए ठाँडो भन्ने उखान त छँदैछ। त्यसमाथि उखान–टुक्काले नेपाली भाषालाई समृद्ध बनाउने शासक भएको मुलुकमा असहज मुद्दामा एकाध उखान–टुक्का उफारिदिए पुगिहाल्यो। यस्तो विडम्बना सत्तासीनहरूसँग मात्र भए, सन्तोष गर्ने ठाउँ हुन्थ्यो। यहाँ त प्रतिपक्षी पनि उस्तै छ। ‘जता हे–यो उतै मेरा नजरमा ‘रावण’ प्यारा छन्’।
देशप्रति, जनताप्रति यो असहिष्णु व्यवहार अति भयो। यो व्यवहार निरङ्कुशताको चरम हो। निरङ्कुशता शासकले गरेको प्रत्यक्ष्F दमन–शोषण मात्र होइन। नागरिकप्रति गैरजिम्मेवारी पनि निरङ्कुशता नै हो। पहिलो गैरजिम्मेवारी आफ्नो नागरिकलाई आजीविका दिन नसक्नु र दोस्रो स्वयम् अघि सरेर रोजगार खोजी गर्ने नागरिकलाई उचित सुरक्षा र प्रोत्साहन दिन नसक्नु सरकारको नालायकी हो। तर लोकतान्त्रिक मुलुकमा सरकार गैरजिम्मेवार हुँदा प्रतिपक्षले पहिले आवाज उठाउँछ, यहाँ भने यस मामिलामा प्रतिपक्ष्F पनि गैरजिम्मेवार देखिन्छ। १८ जनाको शव आउँदा न सरकारले कुनै ठोस विज्ञप्ति जारी ग–यो, न प्रतिपक्ष्Fले सरकारको झाक्लो झार्ने गरी प्रतिवाद ग–यो। यस्तै राज्यशैलीलाई लोकतन्त्र भनिएको हो भने किन चाहियो लोकतन्त्र ? तर दोष लोकतन्त्रको होइन, त्यसलाई कार्यान्वयन गर्ने प्रवृत्तिको हो। दुर्भाग्य यो छ कि आज देशका सबै राजनीतिक दलभित्र त्यही दूषित प्रवृत्ति हावी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्