पर्सा जिल्लाभरि भुस्याहा कुकुरको आतङ्क

83

प्रस, सेढवा, १३ माघ/
पर्साका ग्रामीण क्षेत्रमा भुस्याहा कुकुरहरूको बिगबिगी बढेको छ।
सडकमा हिंड्ने बटुवा, बालबालिका, वृद्धहरूलाई भुस्याहा कुकुरहरूले टोकेर दुःख दिने क्रम बढेको छ। पशु अधिकारवादीहरूको कारण भुस्याहा कुकुर नियन्त्रण अभियान प्रभावित भएपछि जिल्लाभरि भुस्याहा कुकुर बढेका छन्। भुस्याहा कुकुर नियन्त्रणका लागि पालिकास्तरमा कुनै पनि कामकारबाई भएको छैन।
पर्सागढी नगरपालिमा मात्र भुस्याहा कुकुरको आतङ्कबाट जोगिन नियन्त्रणका लागि रेबिजविरुद्ध खोप दिने कार्य सम्पन्न भएको छ। सोबाहेक कुनै पनि पालिकामा यस्तो कार्य भएको छैन। वीरगंज महानगरपालिकाले दुई वर्षअघि भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्ने योजना बनाएको थियो तर सो योजना कागजमैं सीमित रहेकोले कार्यान्वयन हुन सकेन।
पहिलो चरणमा एक हजार कुकुरको बन्ध्याकरण गर्ने महानगरपालिकाले घोषणा गरेको थियो। दुई वर्ष बित्दा पनि रेबिजविरुद्ध खोप दिएर पनि भुस्याहा कुकुरको आतङ्क रोक्न सकेको छैन। नगरभरि भुस्याहा कुकुरको आतङ्क छ।
पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा भुस्याहा कुकुरको आतङ्कले सीमा नाघेको छ। बालबालिका, वृद्धवृद्धाहरूलाई टोक्नुका साथै हाँस, कुखुराको खोरमा पसेर नोक्सान गर्ने गरेको छ।
भुस्याहा कुकुरको टोकाइले रेबिजको खतरा भएकोले घाइते हाँस, कुखुरालाई त्यत्तिकै फाल्नुपरेको स्थानीयले बताए। खासगरी चीसोयाममा कुकुरको आतङ्क बढी हुने गरेको छ। यही बेलामा रेबिजविरुद्ध खोपको अभाव हुने गर्छ। सरकारी अस्पतालमा तोकिएबमोजिम खोप आउने हुनाले सोभन्दा बढी मानिसहरू निजी औषधिपसलबाट खोप खरीद गर्नुपर्ने बाध्यता छ। सरकारी अस्पतालमा सस्तो भएपनि निजी पसलबाट किन्दा प्रतिफाइल रु ५५० पर्न जान्छ। एकजनाले कम्तीमा ५ वटा फाइल खोप लिनुपर्ने हुन्छ। पर्सा जिल्लामा नारायणी अस्पताल र पोखरिया अस्पतालमा मात्र सरकारीस्तरमा रेबिजविरुद्ध खोप उपलब्ध छ।
जीराभवानी गापाका स्वास्थ्य संयोजक सफिकुल अन्सारीले स्वास्थ्य मन्त्रालयले एमबिबिएस चिकित्सकहरूबाट मात्र यो खोपको प्रयोग गर्न पाउने व्यवस्था गरेकाले दुईवटा अस्पतालमा सीमित भएको बताए।
प्रस, पर्सागढी/
पर्सागढी नगरपालिकाको आर्थिक सहयोगमा तराई नेपाल संस्थाले नगरभरिका भुस्याहा कुकुरलाई रेबिजविरुद्ध खोप लगाएको छ।
नगरपालिकाले १४ सय भुस्याहा कुकुरलाई रेबिजविरुद्ध खोप दिने अभियान शुरू गरेकोमा १ हजारभन्दा बढी भुस्याहा कुकुरलाई खोप दिएको तराई नेपाल संस्थाकी प्रमुख ममता साहले बताइन्। खोपपछि भुस्याहा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने र सोहीअनुरूप बन्ध्याकरण गरिने प्रमुख साहले जानकारी गराइन्। बन्ध्याकरणको लागि नगरपालिकासँग सम्झौताको क्रममा रहेको र सम्झौतापछि प्राविधिक टोली बोलाएर बन्ध्याकरण गर्ने कार्यक्रम छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्