बस्ती, खेतीयोग्य जमीन जोगाएर रेलमार्ग बनाउन आग्रह

90

प्रस, निजगढ, १२ माघ/
निजगढ नगरपालिकाको बस्ती, खेतीयोग्य जमीन जोगाएर रेलमार्ग निर्माण गर्न जनप्रनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी, सरोकारवालाले रेल विभागलाई आग्रह गरेका छन्। राष्ट्रिय गौरवको आयोजना मेची—महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ—हेटौडा—भरतपुरखण्डको डिपिआर स्थलगतरूपमा सर्भे गर्न निजगढ आएको टोलीलाई दुई साता अघि निजगढका बासिन्दाले रोकेका थिए।
सर्भे कार्यमा अवरोध भएसँगै मेची—महाकाली विद्युतीय रेलमार्गको डिपिआर  निर्माण सन्दर्भमा सोमवार विभागले निजगढ नगरपालिकामा छलफल गरेको थियो ।
निजगढ नगरपालिकाको आयोजनामा भएको छलफलमा रेल विभागका सिनियर डिभिजन इन्जिनीयर देवेन्द्रप्रसाद साहले निजगढ क्षेत्रबाट यस अघि सर्भे  गरिएका चारवटा रेखाङ्कनबारे  जानकारी दिएका थिए। सो चार विकल्प मध्ये पूर्वको रौतहटको चोचा हुँदै निजगढको नदीकाट, ठाडोलाइन, तेस्रोलाइन, प्रभातबस्ती, शान्तिटोल, बजार टोल, बुद्धचोक जमुनापैनी टोल, गुम्बाटोल, असी बिघा, पुरानो निजगढ कछडिया बस्ती हुँदै लाल, चिसापानी, नयाँबस्ती, बुङजोर, बारथली, रामथली, कुलिया, भक्तलाल, डमरपुर हुँदै मार्ग खोल्नेगरी डिपिआर हुन लागेपछि स्थानीयले चर्को विरोध गर्दै सर्भे कार्य रोकेका थिए।
निजगढ नगरपालिका क्षेत्र भएर जाने रेलमार्गका लागि रेल विभागले नदीकाट, ठाडोलाइन, तेस्रोलाइन, प्रभातबस्ती, शान्तिटोल, बजार टोल, बुद्धचोक जमुनापैनी टोल, गुम्बाटोल, असी बिघा, पुरानो निजगढ कछडिया बस्ती क्षेत्रलाई पहिलो मार्ग, पश्चिम बकैया खोला छेउ हुँदै पुरानो निजगढलाई दोस्रो मार्ग, निजगढ पूर्वको भरतगंजसिगौल नजीक जङ्गल क्षेत्र हुँदै निजगढ बस्तीलाई तेस्रो मार्ग र निजगढ पश्चिम बकैया खोला पारी हुँदै लाल रतनपुरीको उत्तरी क्षेत्रबाट चौथो मार्ग विकल्पका रूपमा अध्ययन गरेका थिए।
लागत, वातावरण, प्राविधिकलगायत हिसाबले उपयुक्त हुने भन्दै पहिलो मार्गलाई फूलब्राइट कन्सल्ट्यान्टले रेल विभागलाई  डिपिआर प्रतिवेदन बुझाउन अध्ययन गरेको थियो।
आज रेल विभागका प्राविधिक, फूल ब्राइट कन्सल्ट्यान्सका प्रमुख मञ्जुलकृष्ण मानन्धर, प्राविधिकहरूसँग भएको छलफलमा चौथो मार्ग विकल्पबाट रेलमार्ग लैजान अधिकांश जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सरोकारवालाले सुझाव दिएका छन्।
सो कार्यक्रममा निजगढ नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले समेत स्थानीयको धन, सम्पत्तिमा क्षति नपुग्नेगरी रेलमार्ग बनाउनुपर्ने बताए।
सर्भे कार्यसमेत निजगढ नगरपालिकाको समन्वयमा गर्नुपर्ने बताउँदै सरकारको लागत मूल्य घट्ने नाउँमा बस्ती, खेतीयोग्य जमीनमा क्षति पु–याउन नहुने भन्दै त्यस्तो आग्रह गरिएको हो।
सो कार्यक्रममा निजगढ नगरपालिकाका अध्यक्षहरू केशव ढोडारी, रामजी बजगाईं, टेकबहादुर लामा, सुदर्शन वडाल, पद्मबहादुर मोक्तान, साबिक निजगढ गाविसका अध्यक्ष एकबहादुर श्रेष्ठ, उपाध्यक्ष अम्बिका चौलागाईं, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, पत्रकार जितलाल श्रेष्ठ, विष्णु खड्का, हिमेश घिमिरेलगायतले रेलमार्गको रेखाङ्कन गर्दा स्थानीयको गाँसवास, खेतीयोग्य जमीनको सुरक्षालाई ध्यानमा राखी रेलमार्ग बनाउन जोड दिएका थिए।
रेलमार्ग बनाउने नाउँमा जबरजस्ती गरे कडा सङ्र्घषमा उत्रने सरोकारवालाले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्