ट्याङ्कर चालकको हडताल सहमतिमा टुङ्गियो

90

प्रस, वीरगंज, १२ माघ/
ट्याङ्कर चालकहरूको हडताल सोमवारबाट सकिएको छ। नेपाल आयल निगम शाखा कार्यालय, वीरगंजमा आज बसेको सरोकारवालाको बैठकमा सहमति भएपछि हडताल सकिएको नेपाल ट्याङ्कर चालक सङ्घका अध्यक्ष विनोद मानन्धरले बताए।
बैठकमा आयल निगमको प्रादेशिक कार्यालय अमलेखगंजबाट पेट्रालियम पदार्थ बिलिङ गरी पर्सा, बारा अन्तर्गतका पेट्रोलपम्पमा खाली गर्दा ट्याङ्कर चालकलाई खुराकबापत प्रति च्याम्बर रु ५ सय र बाँकी सम्बन्धित ट्याङ्करधनीले लोडिङ खर्चबापत प्रत्येक ट्रिपको रु १ हजार दिने निर्णय भएपछि हडताल टुङ्गिएको अध्यक्ष मानन्धरले बताए।
६ चक्के ट्याङ्करमा चारवटा च्याम्बर र १० चक्के ट्याङ्करमा ५ वटा च्याम्बर हुन्छन्। यस हिसाबले प्रतिट्रिप चालकले खुराकबापत पम्पसँग रु २ हजारदेखि अढाई हजार पाउनेछन्। यसअघि २०७३ माघमा भएको सहमतिमा चालकले प्रतिट्रिप रु ५ हजार खुराक भत्ता पाउने व्यवस्था गरिएको थियो। रु ५ हजार खुराक भत्तामा रक्सौल डिपोमा रु २ हजार लोड गर्दा खर्च हुने गरेकोले अब सो अवस्था नहुँदा कटौती गरेर रु ३ हजारदेखि ३५ सय दिने कुरामा सहमति भएको हो। रक्सौल डिपो माघ ७ गतेदेखि सुरक्षाको कारण बन्द गरिएपछि अब अमलेखगंज डिपोमा तेल खन्याउनुपर्ने र त्यहाँबाट लोड गरेर ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
अमलेखगंजमा तेल खन्याउँदा र लोड गरी ल्याउँदा रक्सौल डिपोसरह रु २ हजार खर्च नलाग्ने हुँदा व्यवसायीले यसअघि चालकलाई दिंदै आएको रकम कटौती गरेको हो। आजको बैठकमा आयल निगम २ नं प्रदेश कार्यालयका प्रादेशिक प्रमुख भरत रेग्मी, ३ नं प्रदेश थानकोटका प्रादेशिक प्रमुख उपेन्द्र सुवेदी, नेपाल आयल निगम शाखा कार्यालय वीरगंजका प्रमुख मनोजकुमार ढकाल, नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी सङ्घका अध्यक्ष मनोजकुमार दास, पेट्रोलियम पदार्थ डिलर्स एशोसिएशन पर्सा र बाराका अध्यक्ष क्रमशः विनोदकुमार चौरसिया, सुरेन्द्रप्रसाद श्रीवास्तव, अखिल नेपाल टे«ड युनियन महासङ्घका केन्द्रीय सदस्य बेनीप्रसाद तिमल्सिना, लखनदेवप्रसाद कुर्मी, चालक प्रतिनिधिहरू जगदीश साह, सिकन्दर गिरी, कमलेश पटेल, ट्याङ्करधनी प्रह्लाद महतो नुनियालगायतको सहभागिता थियो।
खाइपाइ आएको सुविधामा पचास प्रतिशत कटौती गरिएपछि ट्याङ्कर चालकहरू हिजो आइतवारदेखि हडतालमा उत्रेका थिए।
एक दिने हडतालपछि सहमति भएको र ट्याङ्करहरू सञ्चालनमा आएको अध्यक्ष्F मानन्धरले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्