कसमाथि भरोसा गर्ने ?

95

अहिले एउटा दलको बहुमतको सरकार अल्पमतमा परेको छ। सुन्दा विडम्बनापूर्ण लाग्छ, बहुमतको सरकार कसरी अल्पमतमा प–यो, किन प–यो र अब के हुन्छ ? अब के हुनुपर्छ भन्ने कुरा त धेरैले भनेका छन् तर हुनुपर्ने कुरा हुन्छ भन्ने प्रत्याभूति छैन। अहिले बहुमतको सरकार अल्पमतमा परेर संसद् विघटन भएको अवस्था छ। वर्तमान राजनीतिक अवस्था सबैलाई थाहा छ। देशबाट राणाशासन खारेज भएर २०१५ सालमा पहिलोपटक संसदीय निर्वाचन भयो। नेपाली काङ्ग्रेसले बहुमत ल्यायो। त्यस बेला संसद्मा वामपन्थी पार्टीको चार मात्र स्थान थियो। आजसम्म आइपुग्दा वामपन्थी पार्टीको बहुमतको सरकार बन्यो। जुन अल्पमतमा पुग्यो। यो पहिलो उदेकपूर्ण राजनीतिक परिघटना होइन, नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइराला पनि पहिलोपटक प्रधानमन्त्री बनेको बेला संसद्मा बहुमतको सरकार थियो। तर उनले संसद् विघटन गरे। यसमा संविधानगत वा संविधानइतर गतिविधि भयो भनेर कोकोहोलो मचाउनुको साटो यस्तो किन भयो र त्यस प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने प्रश्न ज्वलन्त भएर देखिएको छ।
यस्तो हुनु दलविशेषका नेताहरूको नालायकी हो। तर देशमा फेरि तिनै नेताहरूको हालिमुहाली देखिन्छ। त्यसपछि पनि गिरिजाप्रसाद कोइराला कैयौंपटक प्रधानमन्त्री बने। त्यस्तै खालको राजनीतिक परिघटना नेकाका अर्का नेता शेरबहादुर देउवाको पालामा पनि भयो। नेकाको सरकार बन्ने स्थिति उत्पन्न भयो भने अहिले पनि उनी नै एकमात्र दाबेदार हुन्। देशमा शासन गर्ने मुख्यतः दुई मात्र पार्टी छन्। नेपाली काङ्ग्रेस र नेकपा। तर दुवै दलका नेताहरूले आफ्नो बहुमत रहेको संसद् ढाले। तेस्रो विकल्प खोज्दा अहिलेको राजनीतिक परिदृश्यमा जनता समाजवादी पार्टी देखिन्छ। विभिन्न चरण पार गर्दै, प्रादेशिकताको तीन घुम्ती पार गर्दा यो पार्टी कम्तीमा नामकै मात्र भएपनि राष्ट्रिय पार्टीमा दरिएको छ। त्यसले भोलि विकल्प देला कि भन्ने पनि आस देखिंदैन, किनकि त्यसमा पनि नेतृत्वको होड चर्किएको छ। नेपाली काङ्ग्रेसमा देउवा र पौडेल–कोइराला समूह छ भने नेकपामा ओली र प्रचण्ड–नेपाल। यिनको हविगत देखेपछि भोलि निर्धक्कसँग सत्तामा पठाउने कसलाई ? जसपाले अहिले त्यो हैसियत प्राप्त गर्न सकेको छैन, विग्रह चाहिं पलाइरहेको छ। अनि भरोसा कसमाथि गर्ने ?
क्ष्Fणमैं आत्तिनेहरू त राजा आऊ देश बचाऊ भनेर गुहार माग्न थालेका छन्। यस्तैमा अतिवादी राजनीतिक दलहरूले खिचडी पकाउने मौका पनि भेटेका छन्। लामो सङ्घर्षपछि जसमाथि आस गरियो तिनले भरोसाको त्यान्द्रो पनि दिन सकेनन्। अबको विकल्प त एउटै हो रैथाने नेताहरूले राजनीतिबाट सन्न्यास लिऊन् वा यिनलाई संन्यासको बाटो देखाइयोस्। किनकि यिनलाई भय छैन, त्यसैले यी कुनै दायित्व वहन गर्दैनन्। जति बदमाशी गरे पनि, जति नालायकी देखाए पनि घुमिफिरी यिनीहरूले नै अवसर पाइरहने हो भने किन सत्ताकै लागि मरिहत्ते नगर्ने ? यिनको दायित्व भनेको कुर्सी मात्र हो। ओली गए प्रचण्ड, प्रचण्ड गए देउवा। यो समीकरण कि नेताहरूको नैतिकताले भत्कन्छ कि नेपाली मतदाताको विवेकपूर्ण मतले। नेताहरूमा नैतिकता खोज्नु बालुवा पेलेर तेल निकाल्नुसरह हो। बाँकी रह्यो मतदाता, के यो अहम् भूमिकामा जनता खरो उत्रला ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्