सुविधा कटौतीको विरोधमा ट्याङ्कर चालक हडतालमा

87

प्रस, वीरगंज, ११ माघ/
ट्याङ्कर चालकहरू आइतवारदेखि हडतालमा उत्रिएका छन्। ट्याङ्कर व्यवसायी सङ्घले चालकहरूले खाइपाइ आएको सुविधामा पचास प्रतिशत कटौती गरेपछि आजदेखि चालकहरू हडतालमा उत्रिएका हुन्।
२०७३ माघ १६ गते ट्याङ्कर व्यवसायी, चालक र आयल नियमका कर्मचारीबीच सहमति भएर चालकहरूको स्थानीय भत्ता रु ५ हजार निर्धारण गरिएको थियो। अहिले सो भत्ता कटौती गरेर रु २ हजारमा झारिएपछि चालकहरू हडतालमा उत्रिएको नेपाल ट्याङ्कर चालक सङ्घका अध्यक्ष विनोद मानन्धरले बताए। उनले भारतको रक्सौलस्थित भारतीय आयल निगमको डिपोले सुरक्षा कारण देखाएर डिपो बन्द गरेपछि भारतका विभिन्न डिपोबाट ढुवानी गरेर अमलेखगंज डिपोसम्म पु–याउनुपर्ने समस्या आइपरेको र चालकहरूलाई पहिलेभन्दा बढी धपेडी परेकोमा भत्ता थप गर्नुपर्नेमा पचास प्रतिशत कटौती गरेर अन्याय गरेको हुँदा हडताल गर्नुपरेको बताए।
नेपाल आयल निगमको मध्यमाञ्चल कार्यालय वीरगंजमा आज बिहानदेखि चालकहरू हडतालमा उत्रिए। उनले निगमलाई निवेदन दिंदै खाइपाइ आएको सुविधा कटौती गरिएको र सो उपलब्ध नहुन्जेल ट्याङ्कर चलाउन असमर्थ रहने बताए। सङ्घका अध्यक्ष मानन्धरले रक्सौल डिपो बन्द भएपछि व्यवसायीहरू हडतालमा उत्रेका र उनीहरूले नेपाल आयल निगमसँग ढुवानी खर्च वृद्धि गर्नुका साथै पर्सा, बारा, रौतहटमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेका छन्। तर चालकहरूको भत्ता भने कटौती गरिएकामा आपत्ति जनाए। उनले भत्ता कटौती गरेर व्यवसायीहरूले चालकहरूमाथि अन्याय गरेको प्रतिक्रिया दिए। व्यवसायीहरूले नेपाल आयल निगमसँग पूर्ववत् भाडामा वृद्धि गराएका छन् भने पर्सा, बारा, रौतहटमा बिक्री हुने पेट्रोलियम पदार्थमा पनि खुद्रा मूल्य बढाएका छन्। अहिले वृद्धि भएको पेट्रोलको मूल्य खुद्रामा रु १०९ देखि १०९.७० सम्म निर्धारण गरिएको छ भने डिजेलको मूल्य पनि प्रतिलिटर रु ९२ देखि ९२.७० सम्म कायम गरिएको छ।
बाराको पथलैया, सिमरा, कलैया, फेटा, बरियारपुर, तेलकुवा, मनहर्वा, गंजभवानीपुर, बेल्दारी, कोतवाली, कबही, सिम्रौनगढ र रौतहटको सरमुजवा, बङ्कुल, हरैयासम्मको क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्