साना बालकहरू शीतलहरमा चौरमा पढ्न बाध्य

118

प्रस, सेढवा, ११ माघ/
जगरनाथपुर गाउँपालिका–३ स्थित बाबा वैद्यनाथ प्रावि गढैयामा अध्ययनरत विद्यार्थीहरूलाई अध्यापनमा समस्या भएको छ।
शीतलहरको बेला बालबालिकाहरू कक्षाकोठाको अभावमा चौरमा बसेर पढ्न बाध्य छन्। सो विद्यालयमा चारवटा अर्धपक्की कोठा छन्। यहाँ बाल विकासदेखि कक्षा ५ सम्मको अध्ययन हुने गरेको छ। सबै कक्षा सञ्चालनको लागि ६ वटा कोठा आवश्यक छ तर चारवटा अर्धपक्की कोठामा कक्षा २ देखि ५ सम्म अध्यापन गराइन्छ भने बाल विकास र कक्षा १ का विद्यार्थीलाई चौरमा पालमा बसाएर अध्यापन गराइन्छ।
साना बालबालिकाहरू अध्ययनरत यो विद्यालयमा बाल विकास र कक्षा १ का झनै साना विद्यार्थीहरूलाई खुला चौरमा शीतलहरको बेला चीसोमा पढाउनु स्वास्थ्यको दृष्टिकोणले पनि जोखिमपूर्ण छ। विद्यालय भवन निर्माण नभएको कारण यस्तो अवस्था आएको प्रधानाध्यापक बादशाह साहले बताए। बाल विकास र कक्षा १ का ५५ जना विद्यार्थी अहिले खुला आकाशमुनि चीसोमा अध्ययन गर्छन्।
विद्यालयका चारवटा अर्धपक्की घर आव २०७५/०७६ मा पूर्वसांसद लक्ष्मणलाल कर्णको संसदीय विकास कोषको रु १० लाख सहयोगमा निर्माण गरिए पनि अहिलेसम्म पूरा हुन सकेको छैन। अधूरो रहेको भवनको छाना गापाले मरम्मत गरिदिएको प्रअ साहले बताए। यो विद्यालयमा गापाका वडा नं १, २, ३ को पाँडेपुर, जानकीटोला, गढैया, जमुनियाका २३० जना विद्यार्थी अध्ययनरत छन्। त्यसमध्ये ५५ जना विद्यार्थी दैनिक खुला आकाशमुनि चौरमा अध्ययन गर्न बाध्य छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्