शिक्षालाई कसरी व्यावहारिक जीवनसँग जोड्ने

87

अनन्तकुमार लाल दास

आजको प्रतिस्पर्धात्मक युगमा शिक्षालाई यदि व्यावहारिक जीवनसँग जोडियो भने त्यो बढी उपलब्धिमूलक हुन सक्छ। यसो भन्नु पछाडिको एकमात्र कारण हो, आजको विद्यार्थीलाई इन्टरेटको माध्यमले विश्वको जानकारी त प्राप्त भइरहन्छ तर आफ्नै छेउको गाउँ वा शहरमा के भइरहेको छ, न्यूनतम पनि जानकारी हुँदैन। वर्तमान पुस्तालाई पुस्तकको बोझबाट बाहिर निकाल्नु आजको खाँचो हो। यसका लागि एउटा शिक्षकले अलिकति सक्रियता देखाएमा पाठ्यक्रमले दिन खोजेको उपलब्धि सजिलै विद्यार्थीहरूलाई प्रदान गर्न सकिन्छ साथै उनीहरूलाई स्थानीयतासँग पनि जोड्न सकिन्छ।
आज पाठ्यक्रमभित्रैबाट यस्ता थुप्रै क्रियाकलाप गर्न सकिन्छ जसले उनीहरूको किताबी ज्ञानलाई झन् परिपक्व र रोचक बनाइदिन्छ। यस्ता क्रियाकलाप गर्दा स्थानीय मानिस, सङ्घसंस्था वा सम्बन्धित निकायको मदत लिन सकिन्छ। जस्तै गाउँ वा शहरको जनसङ्ख्या पत्ता लगाउनु–त्यहाँ कति पुरुष, कति महिला, कति केटाकेटी छन्। उनीहरूको शैक्षिक योग्यता, व्यवसाय र उनीहरू कति दक्ष छन् भन्ने कुरा विद्यार्थीहरूका लागि रोचक र ज्ञानवद्र्धक हुनुको साथै उनीहरूमा खोज प्रवृत्ति उत्पन्न हुन्छ। किताब पढेर लेख्नु र गरेर लेख्नुमा धेरै फरक हुन्छ।
यसैगरी विद्यार्थीहरूलाई आआफ्नो गाउँ वा शहरको नक्शा बनाउन दिने। सो नक्शाभित्र त्यहाँ रहेका महत्वपूर्ण ठाउँ–जस्तै बढी जनघनत्व भएका बस्ती, विद्यालय, खेत, नदी, पहाड आदि सङ्केतको माध्यमले देखाउने अभ्यास गर्न लगाउने। यसबाट उनीहरूलाई आफ्नो गाउँ वा शहरबारे धेरै कुरो जान्न मदत पुग्छ। त्यसैगरी विज्ञान अन्तर्गत विद्यालयमा भएको वर्षामापक यन्त्र र तापमापक यन्त्रको अध्ययन गर्न र एक सातासम्मको अध्ययन–चार्ट तयार गर्न लगाउन सकिन्छ। त्यस्तै विभिन्न मौसमको रेकर्ड पनि राख्न सकिन्छ। यसबाट औसत हावापानीको अनुमान लगाउन सकिन्छ। हावापानीमा कस्तो र कुन मौसममा कसरी परिवर्तन आउँछ भन्ने कुरा सजिलै थाहा हुन्छ।
त्यस्तै हाम्रो गाउँ वा शहर अन्य गाउँ वा शहरसँग कसरी जोडिएको छ र त्यहाँसम्म पुग्ने साधन के–के छन् ? हामी त्यहाँ कुन साधनबाट पुग्न सक्छौं ? त्यस ठाउँमा सडक नभएको कारण कुनकुन कठिनाईको सामना गर्नुपर्छ ? यसरी उनीहरूलाई यातायातको साधन, त्यसको प्रयोग र कसरी त्यसले विकास कार्यमा सघाउ पु–याउँछ भन्नेबारे विद्यार्थीहरूलाई थाहा हुन्छ।
त्यस्तै आफ्नो छरछिमेकको कुनै तीर्थस्थल, कुनै पर्यटकीय स्थल, स्थानीय दृष्टिकोणले कुनै महत्वपूर्ण ठाउँ, औद्योगिक दृष्टिकोणले महत्वपूर्ण ठाउँको अध्ययन भ्रमण गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुपर्छ। त्यस्तै त्यहाँ पाइने स्थानीय जनावरहरूको अध्ययन गर्न लगाउनुपर्छ। यसबाट विद्यार्थीहरूलाई गाईले दूध मात्र दिंदैन, यसको गोबर र मूत्र पनि काम लाग्ने वस्तु हो। यस्ता सर्वेक्षणको बेला विद्यार्थीहरूलाई जनावरहरू बहुउपयोगी भएकाले तीप्रति दयाभाव राख्नुपर्छ किनभने उनीहरू पनि हाम्रा लागि त्यतिकै लाभदायक हुन् भन्ने भावना उम्रन्छ।
यसका साथै विद्यार्थीहरूसँग स्थानीय गीत, उखान–टुक्का, विभिन्न जातिका लोककथा पनि सङ्कलन गर्न लगाउनुपर्छ। यस्तो भ्रमणबाट उनीहरूले कुनै खास समुदायबाट पनि यस्ता धेरै कुरा पाउन सक्छन्। आफूभन्दा ठूलाबडासँग यस्ता थुप्रै कुराको जानकारी प्राप्त गर्न सक्छन् जुन उनीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ।
स्थानीय भाषाका एक हजारदेखि पाँच हजार शब्दको एउटा सानो शब्दकोष पनि विद्यार्थीहरूको सहयोग लिई बनाउन सकिन्छ। यसका लागि शिक्षकहरूले विद्यार्थीहरूलाई विभिन्न विषय दिएर सम्बन्धित बीस–बीसवटा शब्द सङ्कलन गर्न लगाउन सकिन्छ। स्थानीय भाषामा थुप्रै अन्य भाषाका शब्दहरू पनि छन्। केही यस्ता शब्द पनि हुन सक्छ जसको समानानार्थी शब्द हुँदैन। यसबाट विद्यार्थीहरूलाई स्थानीय समृद्ध परम्पराको ज्ञान प्राप्त हुन्छ जसले एक अर्कालाई जोड्न मदत गर्छ।
यसबाहेक विद्यार्थीहरूलाई कृषिसँग जोडिएको मान्यता, हावापानीसँग जोडिएको मान्यता आदिको ज्ञान हासिल हुन्छ। यी यस्ता मान्यता हुन् जुन अनुभवबाट प्राप्त हुन्छ। यस ज्ञानको आधारमा वर्तमानको सत्यतासँग तुलना गर्न सकिन्छ। यसबाहेक गाउँको सिमानामा कुन–कुन जनावर पाइन्छ। ती पशुपक्षी, कीराहरूको विस्तृत अध्ययन गर्न सकिन्छ। जस्तै चराहरू अन्नबालीलाई एकातर्फ नोक्सान पु–याउँछ भने अर्कोतर्फ त्यसको मल उत्तम खाद पनि हुन्छ। यस्ता अध्ययनले एक अर्काबीच सम्बन्ध पनि थाहा हुन्छ।
स्थानीय मानिसले बोटबिरुवाको उपयोग कसरी गर्छन् भन्ने कुरा विद्यार्थीहरूलाई सोबारे अध्ययन गर्दा थाहा हुन सक्छ। जस्तै कुन–कुन बोटबिरुवा इन्धनका लागि, कुन जडीबुटीको रूपमा, कुन–कुन चरणमा प्रयोग हुन्छ। त्यसैगरी बोटबिरुवा, माटो, पानी, पशुपक्षीबीच कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा पनि ज्ञात हुन्छ।
कृषिसम्बन्धी अध्ययनबाट उत्पादनमा किन कमी देखा परिरहेको छ ? आज कुन–कुन अन्नबालीको उत्पादन भइरहेको छ ? कसरी रासायनिक खादको उपयोगले अन्नबालीलाई स्वास्थ्यको दृष्टिले अनुपयुक्त बनाइरहेको छ ? मिश्रित कृषि प्रणाली र एकल कृषि प्रणालीबीच के फरक हुन्छ आदि थुप्रै कुराबारे जानकारी हासिल गर्न सकिन्छ। यस अध्ययनले विद्यार्थीहरूलाई के गर्नु उचित हुन्छ भन्ने कुराको पनि ज्ञान दिन्छ।
यस्तै पानी संरक्षणसम्बन्धी अध्ययनले विद्यार्थीहरूलाई यसको महत्वबारे बताउँछ भने हाम्रो समुदायमा पानीको वर्तमान स्थितिबारे जानकारी प्रदान गर्छ। यस अध्ययनबाट के पनि थाहा हुन्छ भने जुन घरमा पहिले पानी आउँथेन आज पाइपको माध्यमले प्राप्त भइरहेको छ। कहीं स्थानीय तलाउमा पानी घटेको छ भने कहीं पानी नै छैन, कहीं भने पानीले त्रासदीको रूप लिएको छ। यीे सबै कुराको तत्कालीन र दीर्घकालीन प्रभावको तुलनात्मक अध्ययन पनि गर्न सकिन्छ।
यसबाहेक स्थानीय कारीगरहरूको अध्ययनले स्थानीय तहमा उत्पादन हुने घरेलु सामग्री र त्यसको प्रयोगबारे हामीले ज्ञान हासिल गर्न सक्छौं। ती कारीगरहरूले वर्तमानमा भोग्नुपरेका अप्ठ्याराहरू सम्बन्धमा पनि जानकारी लिन सक्छौं। उनीहरूले कसरी ती सामग्री उत्पादन गर्छन् र त्यसका लागि कस्तो स्थानीय सामग्री प्रयोग गर्छन् भन्ने कुराको पनि ज्ञान हासिल हुन्छ। यसैगरी गाउँ वा शहरका मानिसहरूले कसरी आवश्यक सामग्री प्राप्त गर्छन् भन्ने कुराको पनि अध्ययन गर्न सकिन्छ। ती सामग्रीको सूची बनाउन सकिन्छ। कुन सामग्री गाउँलेहरूका लागि र कुन सामग्री शहरियाहरूका लागि महत्वपूर्ण हुन्छ ? उनीहरूले ती सामग्री कसरी प्राप्त गर्छन् ? कुन सामग्री हाम्रो आधारभूत आवश्यकता हो र कुन होइन ?
गाउँलेहरू कस्तो व्यवसाय गर्छन् ? गाउँलेहरूले बेच्ने सामानको सही मूल्य पाउँछन् कि पाउँदैनन् भन्ने कुरा पनि अध्ययनबाट जान्न सकिन्छ। मूल्य र दाममा के फरक छ ? कुनै पनि वस्तुको मूल्य ठाउँ अनुसार फरक–फरक किन हुन्छ ? यसको दीर्घकालीन असर के हुन सक्छ ? मूल्य र दामबीचको फरकले विद्यार्थीहरूको ध्यानाकर्षण गर्छ जुन उनीहरूका लागि लाभकारी हुन सक्छ।
स्थानीय वास्तुकला सम्बन्धमा पनि विद्यार्थी तथा शिक्षकहरूद्वारा विस्तृत अध्ययन गर्न सकिन्छ। यस प्रकारको अध्ययन केही कलासँग सम्बन्धित हुन्छ भने केही परम्परासँग। आर्थिक र हावापानीको दृष्टिकोणले यसको महत्वबारे अध्ययन गर्न सकिन्छ। यस प्रकारको अध्ययनले विद्यार्थीहरूको समझ प्रस्ट र दृष्टिकोण सटीक बनाउन मदत गर्छ।
यस आलेखमा किताबी ज्ञानबाट बाहिर निस्केर त्यसलाई व्यावहारिक जीवनसँग कसरी जोड्ने विषयमा शिक्षकहरूका लागि केही बुँदा सङ्केतको रूपमा प्रस्तुत गरिएको छ।  उपर्युक्त बुँदाहरूको आधारमा कैयन प्रकारको क्रियाकलाप गर्न सकिन्छ। यी क्रियाकलापहरू गर्दा विद्यार्थीहरूले शिक्षाका चारवटै प्रक्रिया लेखाइ, पढाइ बोलाइ, सुनाइजस्ता कुराको पनि व्यावहारिक ज्ञान प्राप्त गर्छन्। यसबाहेक अन्य विषय–जस्तै सामाजिक, विज्ञान, भूगोल, पर्यावरण, गणित आदिको पनि व्यावहारिक ज्ञान प्राप्त गर्छन्।
शिक्षकहरू जुन जानकारी पाउनु भार ठान्छन् सोही कार्य उनीहरूको पाठ्यक्रमको हिस्सा बन्न पुग्छ। यसबाट विद्यार्थीहरूमा अभूतपूर्व प्रतिभा विकास हुन्छ। यस प्रकारको क्रियाकलापबाट शहर र गाउँ एकअर्काको नजीक आउँछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुन्छ। टाढिएको सम्बन्ध स्थापित हुन्छ। उनीहरू पढाइलाई व्यावहारिक जीवनसँग जोड्न सक्छन् र परम्परागत घोकन्ते शिक्षाको बिस्तारै अन्त्य हुन्छ। स्थानीय ज्ञानप्रति जब उनीहरू सजग हुन्छन्, अनेकौं समसामयिक समस्याको समाधान सजिलै हुन थाल्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्