चर्कंदो छ शीतलहर

96

सामान्यतया माघे सङ्क्रान्तिदेखि तापक्रम बढ्ने प्राकृतिक नियम हो। अझ माघे सङ्क्रान्ति वा सो आसपास पानी परेको छ भने मौसम चीसो भए पनि घाम लागिदिनाले राहत महसूस हुन्छ। यसपालि पुसमा केही दिन चीसो भएर माघ लागेदेखि नै शीतलहर शुरू भएको छ। प्रकृतिको नियममा आएको परिवर्तनको प्रत्यक्ष्F कारण वातावरणको अस्थिरता नै हो। मानिसले प्रकृतिसँग जथाभावी खेलाँची गर्न थालेपछि प्रकृतिले पनि आफ्नो नयाँ रूप देखाएको हो। हामीले आफ्नो स्वार्थका लागि प्राकृतिक सन्तुलनलाई कहीं पनि स्थिर रहन दिएनौं। प्रकृतिले भन्छ–मबाट त्यतिमात्र लेऊ, जसको पूर्ति हुन सक्छ। प्रकृतिमा पु–याएको क्ष्Fतिको पूर्ति तत्काल हुन सकेन भने प्रकृति आफैं मरम्मत सुधारतर्फ अग्रसर हुन्छ र त्यसको असर मानवका लागि प्रतिकूल हुन्छ। मौसममा हुने अप्रत्याशित परिवर्तनका लागि हामीले प्राकृतिक सन्तुलन बिगारेकोले नै हो। अत्यधिक वन–जङ्गलको कटाइ, जथाभावी प्राकृतिक भूगोलमाथि थिचोमिचो, प्राकृतिक उत्पादनको अमर्यादित दोहन आज विश्वभरि सभ्यताको प्रतीक बनेको छ। यसले प्राकृतिक सन्तुलन बिग्रेर हामीले दिन प्रतिदिन अनौठा प्राकृतिक प्रकोपको सामना गर्नुपरिरहेको छ।
यो त भयो प्रकृति–मानव द्वन्द्वको परिणाम। यस परिणामको भुक्तमान सम्पूर्ण मानव समाजले कालान्तरमा भोग्नु नै पर्छ, तर तत्काल भने शीतलहरको तोडले गरीब र विपन्नहरूलाई नराम्ररी गाँज्न थालेको छ। हामी यस समस्याको हल सरल तरीकाले गर्न चाहन्छौं। केही परमार्थी व्यक्ति, संस्था तथा सरकार अघि सरेर केही थान न्यानो वस्त्र उपलब्ध गराउँछौं र आफूले ठूलो पुरुषार्थ गरेको ठान्छौं। यस्तो प्रत्येक वर्ष हुन्छ। प्रत्येक वर्ष ती गरीबहरूलाई न्यानो कपडा वितरण गर्नैपर्ने हुन्छ। किनकि यो सामग्री प्रत्येक गरीबले पाएको हुँदैन। जसले पाएको हुन्छ, उसले पनि आउँदो जाडोको मौसमसम्म आफ्नो जीवनस्तर यति उकास्न सकेको हुँदैन कि स्वयं न्यानो कपडा खरीद गर्न सकोस्। यस कार्यमा न सरकारले सघाउँछ, न कोही व्यक्ति र संस्था नै अघि सर्छ। व्यक्ति र संस्थाले गरेर त साध्य पनि हुँदैन, तात्नुपर्ने सरकार हो। गरीबलाई भनी वितरण गरिएको त्यै अपुग सामग्री पनि केही प्रतिशत हुनेखानेले उम्काउँछन्। वस्तुतः हामीले कसैमाथि दया गरिरहेका हुन्छौं, उसलाई सहयोग चाहिं पु–याउँदैनौं।
हाम्रो सरकारको चाल पनि गजबको छ। ऊ राहत दिन चाहन्छ तर यति प्रतिबन्धहरू थोपरेर दिन चाहेको हुन्छ कि राहत पुगुन्जेल सरोकारवालाको खाँचो टरिसकेको हुन्छ वा राहत उपलब्ध गराउनै नसकिने अवस्था विद्यमान भइदिन्छ। हो तत्कालका लागि राहत भनेको दाउरा वितरण हुन सक्दछ, त्यो पनि सबै ठाउँमा उपलब्ध गराउन सकिन्न। उपलब्ध गराएको ठाउँमा पनि सबै समय उपलब्ध गराउन सकिन्न। त्यसको उपयोग बेलुका वा बिहानमात्र सम्भव हुन्छ। दाउरा वितरण घरघरमा गर्ने कुरा पनि आएन। समूहका लागि मात्र उपलब्ध गराइन्छ। अनि जाडोको रातको के औषधि ? त्यसैले खासगरी दलित भनिएका समुदायमा मादक पदार्थ खाने चलन बढी हुने गरेको हो। खासमा राहत भन्ने कुरा बर्सेनि वितरण गरिनु पनि हुन्न। यो त अप्रत्याशित विपदाका लागि हो। निर्धारित विपत्को समाधान त व्यक्तिलाई सक्षम बनाएर मात्र गर्न सकिन्छ। सक्ष्Fम बनाउनु भनेको रोजगारको उपलब्धता वा स्वरोजगार मात्र हो। यसतर्फ सरोकारवालाको ध्यान गए, गरीबहरूको कल्याण हुने थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्