बज्जी, वैशाली र वैश्य

90

सञ्जय मित्र

महात्मा बुद्धको महापरिनिर्वाणको केही समयपछि वैशाली ध्वस्त भयो। स्पष्टरूपले भन्नुपर्दा इतिहास अनुसार महात्मा बुद्धको महापरिनिर्वाणको तीन वर्षपछि लगभग ५४८ ईपूमा वैशालीको पतन भएको देखिन्छ। अजातशत्रुले वैशालीमाथि आक्रमण गरेका हुन्। वैशालीमा जहाँ महात्मा बुद्धले उपदेश दिएका थिए, त्यो ठाउँ अझ पनि तीर्थस्थलको रूपमा परिचित छ। महात्मा बुद्धले आफ्नो जीवनको अन्तिम उपदेश दिएको मानिएको ठाउँको स्मृतिमा ईसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले बनाएको स्तम्भ (अशोकस्तम्भ) अहिले पनि रहेको छ।
वैशाली कति पुरानो वा कति ऐतिहासिक ठाउँ हो भन्ने तथ्यको रूपमा यसलाई सामान्यतया मान्नुपर्ने हुन्छ कि अहिले पनि अशोकस्तम्भ अस्तित्वमा छ। महात्मा बुद्धले अत्यन्त मन पराएको ठाउँ वैशाली त्यस बेला समृद्ध थियो। विश्वको पहिलो गणतान्त्रिक शासन व्यवस्थाको लागि पनि यसको महत्व रहेको इतिहासले बताउँछ। अझ अलिक पुरानो इतिहासतिर जाने हो भने वैशालीको चर्चा रामायणमा पाइन्छ। वाल्मीकीय रामायणमा राम र लक्ष्मणसहित आचार्य विश्वामित्र जनकपुर जाने क्रममा एक रात त्यहीं बसेका थिए। तर वैशालीको इतिहास त्यतिमा मात्र सीमित हुँदैन।
विष्णु पुराणमा पनि यस ठाउँको उल्लेख पाइन्छ। यस वंशका सम्भवतः २४औं राजा सुमति थिए, जो अयोध्याका राजा दशरथका समकालीन थिए। यति पुरानो ठाउँको नाम वैशाली कसरी रहन गयो भन्ने विषयमा अनेक तर्क पाइन्छ। तर एउटा तर्क चाहिं वैश्य समुदायसित सम्बन्धित रहेको छ। यहाँ यसैलाई छोटकरीमा प्रकाश पार्ने काम गरिएको छ।
बनिया बसाढ भन्ने शब्दावली अहिले पनि प्रचलित छ। कतिपय सन्दर्भमा यसलाई अपमानको अर्थमा लिइन्छ भने कतिपय सन्दर्भमा यो गर्व वा गरिमाको विषय वा पक्षको रूपमा पनि आउँछ। यस शब्दावलीमा आएको बनिया चाहिं प्राचीन वणिक ग्राम र बसाढ चाहिं वैशाली ग्रामसित सम्बन्धित शब्द हुन् भन्ने कुरा कतिपय प्रमाणबाट पुष्टि हुन्छ। वैशालीलाई बसाढ वा वसाढ पनि धेरै ठाउँमा उल्लेख गरिएको पाइन्छ भने वणिक ग्रामको नामोल्लेख पनि वैशालीको इतिहासमा विभिन्न ठाउँमा जोडिएर आएको देखिन्छ।
ज्ञातव्य छ, लिच्छविहरू वैशालीबाट नै नेपाल उपत्यका प्रवेश गरेका थिए। प्रसिद्ध भारतीय शोधकर्ता डा सुरेन्द्रमोहन प्रसादको एउटा पुस्तकमा लिच्छवि र बज्जी दुवैलाई पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ। अन्य धेरै सन्दर्भमा पनि लिच्छवि र बज्जी एकै हुन् भनी उल्लेख गरिएको पाइन्छ।
वैशाली र बज्जी शब्दमा धेरै तालमेल रहेको पनि डा सुरेन्द्रमोहन प्रसादले उल्लेख गरेका छन्। वैशालीमा वैश्यको सङ्ख्या अत्यधिक थियो। वैश्यहरूको अत्यधिक सङ्ख्या भएको र अर्थतन्त्रमा निकै धेरै नियन्त्रण रहेको वैश्य वैशालीमा निकै सम्मानित थिए।
कतिपयको यस्तो पनि अनुमान छ कि वैशालीमा राज्यको स्थापना गर्ने राजा विशाल थिए, उनले स्थापना गरेको नाम उनकै नामबाट विशालापुरी रहेको र कालान्तरमा वैशाली कहलिएको हो। राजा विशाल पनि वैश्य समूहकै थिए र वैश्य भएकैले वैश्यलाई धेरै प्रधानता दिए तर आफूले राज्य सञ्चालन गरेपछि क्षत्रिय धर्म निर्वाह गर्न थाले भनेर अनुमान लगाउनेहरू पनि छन्। पहिले यस नगरीको नाम वैश्यपुरी रहेको र वैश्यपुरी विशाल बन्दै गएपछि विशालापुरी र वैशाली भएको हुन सक्ने पनि मानिएको छ।
एउटा अनुमान यस्तो पनि पाइन्छ– यो पनि सम्भव छ कि विश अर्थात् चाँदी या धातुबाट बनेको सिक्काको विनिमय–विनियोग गर्ने कारणले विशबाटै वैश्य बनेको होला र वैश्यहरूको विशाल हृदय भएको कारण नगरको नाम विशाला या वैशाली सामुन्ने आएको होला।
बज्जीहरू सबैतिर फैलिए। बज्जिका भाषाको पहिचान निकै पछि मात्र भयो। तर वैशालीसित वैश्यहरूको निकै घनिष्ट सम्बन्ध रहेको भन्ने यसबाट स्पष्ट हुन आउँछ। यद्यपि ठोस प्रमाण यही नै हो भन्न खोजिएको होइन। धेरै अनुमान  सार्वजनिक भएका छन्। विभिन्न पुस्तकमा अनुमान नै पनि भनिएको पाइन्छ तर बज्जी, वैशाली र वैश्यको सम्बन्ध अहिले पनि अन्योन्याश्रित देखिन्छ। इतिहासदेखि वर्तमानसम्म यी तीनमा अन्तर्सम्बन्ध रहेको देख्न सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्