टीठलाग्दो दृश्य

85

एकातिर बडेमानको पक्की र आधुनिक पुल बन्दैछ, अर्कोतिर मानिस बाँसले बनेको, अहिले भाँचिएला कि भरे भाँचिएला भन्ने त्रासका बीच पैसा तिरेर यात्रा गर्नुपरेको दृश्यले कसको मन भावुकताले भरिएर नरोला ? हो, यस्तो देश विश्वमा एउटा मात्र छ, र त्यो हो नेपाल। यस्ता धेरै टीठलाग्दा दृश्य हामीले देख्न पाउँछौं नेपालमा। हाम्रो देश जलविद्युत्को लागि विश्वमैं दोस्रो धनी मुलुक हो, तर यै देशमा छिमेकी मुलुकबाट बिजुली नकिनी न गर्मी भगाउन सकिन्छ, न जाडोको सामना गर्न सकिन्छ। तातो न तातो अरब मुलुकमा गएर पसिना खेर फालिरहेका युवाहरूले भरिपूर्ण यसै देशमा शक्तिशाली युवा पाखुराको अभावमा कृषिकर्म अपहेलित भएको छ र विदेशबाट खाद्य पदार्थ आयात नगरी दुई छाक टार्न असम्भव छ। निरक्षरताको साम्राज्य रहेको यस देशमा कहीं एउटा विद्यालयमा चाहिनेभन्दा बढी शिक्षक छन् भने कहीं शिक्षकविना विद्यालय सञ्चालन हुन सक्दैन। गतिलो शिक्षक नपाएर कति ठाउँमा विद्यार्थीहरू सबै विषय पढ्न सक्दैनन् भने गतिला पढेलेखेका मानिस विदेशमा जागिर खोज्दै रल्लिरहन्छन्।
यस्तै विविधताले यो देश भरिएको छ। गणितको औसत हिसाब जोड्ने हो भने सुख र समृद्धिका लागि यहाँ दशकपिच्छे राजनीतिक आन्दोलन हुन्छ, सत्ता परिवर्तन हुन्छ, नयाँ–नयाँ राजनीतिक व्यवस्था स्थापित हुन्छ। नागरिकले जीवनको आहुति दिन्छन्, तर जसको क्रियाकलापविरुद्ध आन्दोलन हुन्छ, तिनै व्यक्तिहरू अर्को राजनीतिक व्यवस्थाका अगुवा बनेका देखिन्छन्। देशमा उपर्लिखित टीठलाग्दा दृश्यहरू यस्तै अवस्थाले गर्दा देखिएको हो। घरीघरी भाँडो फेरिइन्छ, तर भाँडोभित्रको वस्तु चाहिं उही हुन्छ। अनि कसरी सुख र समृद्धिको आस गर्न सकिन्छ ? वास्तवमा हामी स्थितप्रज्ञ बनिसकेका छौं। सबै परिस्थिति र स्थितिलाई भावनाशून्य बनेर सहने बानी परिसकेको छ। त्यसैले त पक्की पुल दशक बित्दा पनि बन्दैन, एउटा सडक बनाउन ६ दशक लाग्छ। खानेपानी आयोजना तीन दशकमा पनि पूरा हुँदैन। काम थाल्नुमात्र बहादुरी हो, सम्पन्नता भगवान् भरोसे छाड्दा देश यस्तो दुर्गतिमा पुगेको हो। हामी किन कुनै काम सम्पन्न गर्न सक्दैनौं, देशको उन्नति र प्रगतिमा बाधक बनिरहेका व्यक्ति र राजनीतिक दलप्रति हाम्रो सहिष्णुता किन कायम रहिरहन्छ, विकराल प्रश्नचिह्न बनेर ठडिन पुगेको छ।
केही हजारको एउटा चेक बाउन्स भयो भने चेक काट्ने व्यक्ति तत्काल थुनामा पर्छ, तर लाखौं होइन, करोडौं भुक्तानी दिनुपर्ने व्यक्ति भने सामान्य उखु किसानलाई रुवाएर उद्योग बन्द गरेर मोज गर्दछ, किसानले आफ्नो नैसर्गिक अधिकार भएको उखुको दाम पाउन ठिहि–याउँदो जाडोमा राजधानी गएर चीसो भुइँमा पलेटी कसेर आन्दोलन नै गर्नुपर्छ। यी विसङ्गति र विडम्बनाको जन्मदाता कुनै राजनीतिक व्यवस्था हो कि व्यक्ति हो ? जनता आफैं दुःख पाएर, समस्त सास्ती भोगाइको पात्र भएर, आफैं सार्वभौम हुँदाहुँदै आफ्नो शक्ति पहिचान गर्न किन सकिरहेको छैन ? यही गुह्य लुकेको छ। कुनै पनि व्यवस्था माध्यम मात्र हो। माध्यम सजिलो भयो भने गन्तव्य छिटो भेटिन्छ, तर व्यक्तिको प्रवृत्तिले माध्यमलाई नै साध्य वा दुस्साध्य बनाइदिन्छ। तसर्थ हाम्रो लडाइँ यस्ता प्रवृत्तिविरुद्ध हुनु आवश्यक छ। अहिलेको अवस्था त राजमार्गमा बहलवानलाई गाडी हाँक्न दिएजस्तो छ। अनि दोष राजमार्गमाथि दरेर के उपलब्धि प्राप्त हुन्छ ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्