कोरोना ‘काल’ र कर्तव्य

182

राजेश मिश्र

सीमित शब्दमार्फत कोरोना अवधिभरिको वर्णन साध्य छैन। यद्यपि विपत्ति भोगाइका केही परिदृश्य पस्किने सानो प्रयास गरिएको छ। कोरोनाकालमा अन्य क्षेत्रहरूका साथै सञ्चारजगत् पनि प्रभावित थियो। वीरगंजमा प्रथमतः कोरोना सङ्क्रमित पुष्टि भएपछि जनजीवन निकै तनावग्रस्त भएको थियो। दिल्लीको जमातीबाट नेपाल आएका दुई भारतीय नागरिक र एक नेपालीसहित तीनजना सङ्क्रमित फेला परेपछि वीरगंज त्रसित भयो। त्यति बेला भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको थियो। भारतीय सीमा नजीक भएकोले वीरगंज आसपासका नागरिक भयभीत थिए। यस भेगमा काम गरिरहेका सञ्चारकर्मीहरूको अवस्था अत्यन्तै चुनौतीपूर्ण थियो। जनसमुदाय त्रसित थियो। त्यति बेलासम्म कोरोना महाव्याधिको औषधिको विकास भई नसकेकोेले जनमानसमा त्रास उत्पन्न हुनु अस्वाभाविक थिएन।  
वीरगंजमा दुईजना सञ्चारकर्मी सङ्क्रमित भएपछि वातावरण झन् भयभीत भएको थियो। पत्रकारको लागि समाचार सङ्कलन गर्ने काम अत्यन्तै जोखिमयुक्त थियो। विषम परिस्थतिमा सञ्चारक्षेत्रको भूमिका र उत्तरदायित्व अझ थप हुन्छ भन्ने कुरा प्रतीक दैनिकका प्रधानसम्पादक आदरण्ीाय जगदीश (शर्मा) अङ्कल पटक–पटक भन्नुहुन्छ। आरम्भकालदेखि हालसम्म कठिन परिस्थितिमा पनि प्रतीक दैनिकको प्रकाशन र पत्रिका वितरणको कार्य कहिल्यै बन्द नभएको इतिहास छ। विसं २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, माओवादी द्वन्द्वकाल, मधेस आन्दोलन, विस २०७२ को भुइँचालो, पर्सा–बारामा आएको हुन्डरीलगायत विभिन्न प्रतिकूल परिस्थितमा कर्तव्य निरन्तर निर्वाह हुँदै आयो। तर विगतको विपत्तिभन्दा कोरोनाकालले पृथक अनुभूति गराएकोे छ। एकलाई अर्कोसँग डर थियो र छ पनि। कोरोनाकालमा रत्तीभर असावधानीले आफैं सङ्क्रमित हुने डर थियो।
पेशागत कर्तव्य र मानसिक त्रासबीच पत्रिका प्रकाशनको निरन्तरता कम चुनौतीपूर्ण थिएन। यद्यपि विश्वव्यापी कोरोनाकालीन विषम परिस्थितिमा पनि सावधानीपूर्वक काम गर्दै प्रतीक दैनिक जनसेवामा लागिरह्यो। छपाइसम्बन्धी कागजलगायत आवश्यक सामग्रीको अभावमा ६ पेजको पत्रिकालाई ४ पेजमा सीमित गर्नुको विकल्प थिएन। मानवीय चहलपहच घरभित्र सीमित भयो। त्यसैले पत्रिकाको छपाइ सङ्ख्यात्मकरूपमा सामान्य अवस्थाको तुलनामा कम गर्नु बाध्यता थियो। यद्यपि पत्रिका छाप्ने कार्य कहिल्यै रोकिएन। सावधानीपूर्वक प्रतिदिन काम हुन्थ्यो। त्रासयुक्त वातावरणको कारण पत्रिका वितरण गर्ने सहकर्मीहरू पनि घरमा बस्न बाध्य भए। नितान्त आवश्यक कर्मचारी मात्र कार्यालयमा आउँथे। सेनिटाइजर, पञ्जा, मास्क र साबुनपानीले हात धुने प्रक्रिया अनिवार्य गरिएको थियो। कार्यालयको ढोका खोल्नेबित्तिकै विकास दाइको आवाज कानसम्म आइपुग्थ्यो, ‘साबुनपानीले हात धोएर र हातमा सेनिटाइजर लगाउन नबिर्सनु है।” यो शब्द दाइले सधैं भन्नुहुन्थ्यो।
कार्यालयमा सम्पादक विकाश (शर्मा) दाइ, शत्रुघ्न (नेपाल) दाइ, प्रताप (श्रेष्ठ) दाइ, सामाचार सम्पादक आरके पटेल, संवाददाता राधेश्याम पटेल, कम्युटर प्राविधिक मुकेश बस्नेत र म उपस्थित हुन्थ्यौं। छपाइ कार्यको लागि पनि सीमित कर्मचारी आउँथे। लगभग बिहान ११ बजेदेखि काम शुरू हुन्थ्यो। बेलुका ५ बजे काम सकाउनुपर्ने बाध्यता थियो। त्यसपछि एकातर्फ पत्रिका छपाइको कार्य आरम्भ हुन्थ्यो भने अर्कोतर्फ अनलाइनमा समाचार अद्यावधिक गर्ने काम हुन्थ्यो। पत्रिका छापिइसकेपछि हामी सबै पत्रिका लिएर घरको लागि प्रस्थान गथ्र्यौं। पत्रिका वितरण कार्यमा दीपक जैसवाल, रमेश जैसवाल, नैना (शीतल गौतम, विकाश दाइका ससुराहजुर) र मधुप दाइका कर्मचारी सतीश महर्जनलगायतको पनि सहयोग थियो।
गत वर्ष माघ १ गते मकर सङ्क्रान्ति र १६ गते सरस्वती पूजा मनाइरहँदा उत्तरी छिमेकी मुलुक चीनमा कोभिड–१९ ले आतङ्क मचाइरहेको थियोे। यता नेपालमा भने भ्रमण वर्ष २०२० को माहोल थियो। केही हप्ताभित्र संसारका अन्य मुलुकमा कोभिड–१९ पुगिसकेको थियो। छिमेकी मुलुक भारतमा समेत कोरोनाको उदय भइसकेपछि नेपालमा पनि सतर्कतासम्बन्धी सूचना प्रसारित हुन थालेको थियो। फागु पर्व मनाइरहँदासम्म राज्यमा लकडाउनको परिस्थिति उत्पन्न होला भन्ने अनुभूति कसैलाई थिएन।
अन्ततः नेपालमा पनि कोरोनाको सङ्क्रमण फैलिन थाल्यो। लकडाउन र निषेधाज्ञाको विकल्प थिएन। प्रहरी प्रशासन भीडभाड नहोस् र कोरोनाको जोखिम नहोस् भन्ने कुरामा सचेत थियो। प्रहरीलाई घरपरिवारको चिन्ता हुँदाहुँदै पनि कर्तव्य निर्वाह गर्नुपर्ने बाध्यता थियो। अर्कोतर्फ सामान्यजनलाई कोरोनाबाट मर्ने कि भोकबाट भन्ने चिन्ता थियो। बच्चालाई दूध चाहिएकोे थियो। रोगीलाई औषधि चाहिएको थियो। यस्तो अवस्थामा पीडितको आवाज नियामक निकाय र जनसमक्ष पु–याउने काममा सतर्कता अँगाल्दै प्रतीक दैनिक अघि बढिरहेको थियो।
प्रताप दाइको लकडाउन अनुभव यस्तो छ। उनी प्रत्येक दिन पत्रिका लिएर जान्थे। वीरगंजको मुडली चोकदेखि आफ्नो निवास श्रीपुर जाँदा पाठकलाई बाँड्दाबाँड्दै थोरै पत्रिका बच्दथ्यो। बचेको पत्रिका टोलछिमेकका मानिसहरू लिन आउँथे। दूरसञ्चारको क्षेत्रीय कार्यालय श्रीपुरको उत्तरतर्फको गल्लीको एक सम्झना छ उनीसँग। उनले भने– “चिनजानका एकजना साथीलाई पत्रिका दिइरहँदा अर्का अपरिचित एक अधबैंसे पुरुष एकसरो मेरो हातमा हेरिरहेका थिए, पत्रिकातर्फ उनको ध्यान थियो जस्तो लागेको थियो। मलाई लाग्यो उनी पत्रिका लिन चाहन्छन्। मैले एउटा पत्रिका उनीतिर बढाएँ, तर उनले पत्रिका हातले छोएनन् र फर्केर जान थाले।” एक अर्को रोचक प्रसङ्ग पनि सुनाए। एकजना ईरिक्शा चालक थिए। उनको व्यवसाय बन्द भइसकेको थियो। त्यसैले उनी तरकारी बेच्न थालेका थिए। एकपटक तीन/चारवटा पत्रिका तरकारी पसलेलाई उनले दिए। त्यसपछि नियमित दिन थाले। एक दिन अर्को बाटो गएकोले पत्रिका दिन सकेनन्। भोलिपल्ट पसलेले गुनासो पोख्दै भने, “धेरैजना त पत्रिकाकै लागि तरकारी खरीद गर्न आउँदा रहेछन्, कृपया दिनहुँ दिनुहोस्।”
प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाल दाइको निवास रहेको वीमनपा–३ छपकैया सिल भएपछि उनी घरबाटै भर्चुअल काम गरिरहेका थिए। आजसम्मको पत्रकारितामा विभिन्न प्रकृतिका आरोह–अवरोह पार गरेको अनुभव छ उनीसँग। उनी भन्छन्, “कोरोनाकालीन समयले मानवजीवनलाई घरभित्रै थन्काइदिएको थियो। यद्यपि यो परिस्थितिले जनमानसलाई र सरकारलाई पनि धेरै कुरा सिकाएको छ। प्रकोप कहिले आउँछ, कसैलाई थाहा हुँदैन तर भविष्यबारे सचेत हुनुपर्छ भन्ने कुरा सिकाएको छ।”
आरके पटेल आफ्नो अनुभव सुनाउँदै भन्छन्, “लकडाउनको समयावधिमा समाचार सङ्कलन कार्य धेरै जटिल थियो। यो जीवनको पहिलो अनुभव पनि हो। गाउँघरका पुरनियाहरूबाट हैजा र भूकम्पलगायत बितेका प्रकोपहरूबारे सुन्दा कथाझैं लाग्थ्यो। तर आफ्नै जीवनमा यस्तो पीडादायी क्षण महसूस गर्न पाइयो,” उनी भन्छन्, “फिल्डमा जाँदा डर लाग्थ्यो, यस्तो विपत्ति अब फेरि नदोहोरियोस्।”
घण्टाघरस्थित सङ्गीता मेडिकल हलका सञ्चालक प्रदीप साह लकडाउन अवधिभरि आफ्नो पसलबाट प्रतीक दैनिक वितरण गरिरहेका थिए। साँझपख म उनीकहाँ पत्रिका पु–याइदिन्थें। उनी भन्छन्, “बिहान औषधि किन्न आउने ग्राहक काउन्टरमा रहेको पत्रिका एउटा दिनुस् भन्थे, दिएपछि पैसा दिन्थे। पैसा लाग्दैन भनेपछि आश्चर्य मान्थे। औषधिसँगै निश्शुल्क पत्रिका पाएर खुशी हुन्थे। कतिपय यस्ता ग्राहक थिए, जसलाई यहाँ पत्रिका पाइन्छ भन्ने जानकारी भइसकेको थियो, उनीहरू नित्य दिन पत्रिकाको लागि आउँथे।”
गीता मन्दिरमा रहेको दूधपसलका सञ्चालक झाजीले एउटा प्रसङ्ग सुनाए। बिहान दूध किन्न आउने ग्राहक निश्शुल्क पत्रिका पाएर खुशी हुन्थे। एक दिन बिहान दूध लिन आएका वृद्धले सधैंझैं दुई पाकेट दूध लिए। काउन्टरमा पत्रिका देखेनन्। पत्रिका आएन ? सोधे। उनले भने सधैं बेलुकी आइपुग्ने पत्रिका खोई आज अहिलेसम्म किन आएन ? म बिहान करीब आठ बजे पत्रिका दिन गएको थिएँ। उनी मलाई परैबाट देखेर हाँसिरहेका थिए। म नजीक पुगेपछि गुनासो पोखे, “बिहानदेखि एकजना वृद्ध तेस्रोपटक आएर अहिले भर्खरै फर्केका छन्, उनी पहिलेदेखि मेरा ग्राहक होइनन्, पत्रिका आएदेखि मेरो पसलको ग्राहक बनेका हुन्।” मेनरोड निवासी सन्तोष रौनियार र पे्रmस कोल्ड स्टोरका सञ्चालक सुमन नेवा लकडाउनको असहज परिस्थितिमा प्रतिदिन प्रतीक दैनिकमार्फत समाचार पढेको बताउँछन्।
कोरोनाको भयले मानिसलाई एकबाट अर्को ठाउँमा जान मुश्किल थियो। अपवादबाहेक सुनसान सडकमा उभिरहेका प्रहरी रुचिपूर्वक पत्रिका लिन्थे। अहोरात्र ड्युटीमा खट्ने प्रहरीहरू पत्रिकामार्फत ताजा समाचार पढेर खुशी त हुन्थे नै, केही समयका लागि पत्रिका साथी जस्तै छ, भन्थे। कतिले कोरोना सङ्क्रमित भएर जीवन गुमाए। अन्य रोगीमध्ये कतिले उपचार नपाएर मृत्युवरण गरे। एकातर्फ केही पात्रको लागि कोरोनाकाल कमाइखाने भाँडो बन्यो। अर्कोतर्फ किसान, चिकित्सक, विद्यार्थी, व्यापारी, गरीब तथा विपन्न वर्ग सास्ती खेप्न बाध्य थियो। कोरोनाकालको पीडादायी अवस्था थोरै शब्दमा बयान गर्न कठिन छ। विगतझैं कोरोना ‘काल’मा पनि प्रतीक दैनिकले आफ्नो कर्तव्य निर्वाहमा ग–यो र भविष्यमा पनि गर्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्