बनाएको भन्दा बिगारेको राम्रो

74

कुनै पनि वस्तु बिग्रेपछि बनाइन्छ। बनाएपछि त्यस वस्तुको उपयोगिता बढ्छ र सबैलाई उपयोग गर्न सजिलो हुन्छ। तर आश्चर्य छ, वीरगंज महानगरपालिकामा बनाइएको सडकभन्दा बिगारेको सडक राम्रो भएको छ। महानगरपालिकाको मूल सडक केही वर्ष पहिले विस्तार गरिएको थियो। उक्त विस्तारित सडक एकपटक बनाएपछि, दुई–चार महीनामैं भत्कन थालेको थियो। भत्केको सडकको मरम्मत गर्ने नाउँमा महानगरपालिकाका हाकिमहरूले बेला–बेला प्याच वर्क गराएका थिए। एउटाले प्याच वर्क गर्दा साबिक सडकभन्दा अग्लो पारेको थियो। त्यसैको देखासिकी जतिपटक प्याच वर्क हुँदै गयो, सडकको अवस्था चेचकले बिगारेको अनुहार बन्दै गयो। साइकल, मोटरसाइकल वा आधुनिक गाडी नै किन नहोस् उक्त सडकमा चल्दा धेरै मानिसले ढाड र कम्मर दुखाइको सामना गर्नुप–यो। मरम्मतको नाममा सडकलाई विकृत पार्ने काम किन गरियो त्यसको कसैसँग पनि तर्कसङ्गत जवाफ छैन। जवाफ दिने क्रममा महानगरका हाकिमहरू, गाडी चलेपछि प्याचवर्क आफैं सम्म हुन्छ भन्थे। यो गैरजिम्मेदार जवाफ हो भन्ने थाहा पाएर पनि पछिपछिका हाकिमहरूले पनि त्यही जवाफ दोहो–याइरहे।
अहिले किन हो, त्यो सम्पूर्ण सडक (घण्टाघरदेखि हुलाकी सडकसम्म) भत्काइँदै छ। शायद नयाँ र राम्रो बनाउनका लागि होला। हुनत मूल सडक (साबिकको पूर्वपट्टिको) त्रिभूवन राजमार्गको अंश हो। त्यसैले त्यो सरकारी सडक भनेर चिनिन्छ। तर त्यसैको विस्तार भागलाई चाहिं सरकारी मानिएको छैन। त्यसैले सडक विभागले पश्चिमपट्टिको उक्त भाग बनाउँदैन। त्यसको जिम्मेदारी महानगरपालिकाको थाप्लोमा छ। आलोचकहरू भन्छन्, त्यसैले त्यो सडक कहिले पनि राम्रो बन्दैन। बितेको मरम्मत सम्भारले यस कुरालाई साबित गरिसकेको छ। त्यसैले हिजो प्याचवर्क गरेको पश्चिमी किनाराको सडकभन्दा अहिले बिगारिएको सडक बरु सवारी साधन चलाउनका लागि सजिलो भएको छ। किनकि यसमा सवारी साधन हल्का उफ्रन्छ, प्याचवर्कमा ढाड सुस्कने गरी उफ्रन्थ्यो। नयाँ कालोपत्रे गर्न लागिएको सडक गुणस्तरीय हुन्न भन्ने कुरा महानगरपालिकाकै प्राविधिकहरूले भन्न थालेका छन्। यी त्यही प्राविधिक हुन् जसले हिजो प्याचवर्क गर्न लगाएका थिए। तर जब पुराना सम्पूर्ण उखेलेर नयाँ बनाउन थालिएको छ भने उच्च गुणस्तरकै बनोस्। गुणस्तरीय बनाउँदा बजेटले नभ्याउने भनी समाचारमा बताइएको छ, ठीकै छ जति बन्छ राम्रो बनोस्। बरु बाँकी बिग्रेकै अवस्थामा रहोस्। किनकि राम्रो बनेपछि केही वर्षका लागि ढुक्क हुन सकिन्छ। नराम्रो बन्यो भने फेरि दुई महीनामा भत्कने, फेरि प्याचवर्क गरिने र फेरि नगरवासीको ढाड झस्कने प्रक्रिया अनवरत चलिरहन्छ।
विकासको अर्थ आजको लागि मात्र राम्रो होइन। विकासको अर्थ हो, दीर्घकालका लागि संरचना निर्माण। भारतमा ब्रिटिश राज्य छँदा बनाएको जीटी रोड कैयौं दशकसम्म जस्ताको त्यस्तै थियो। सडक बनाउन प्रयुक्त हुने सामग्री त्यही हो, तर हामी कहाँ भने सडक बनाउन पाएको हुँदैन, भत्कन शुरू भइसकेको हुन्छ। यसमा सडक बनाउन सिपालु ठेकेदारलाई जिम्मा नदिएकोले हो, काम पाउने आशमा ठेकेदारले कम मूल्यमा ठेका सकार गरेर हो वा नेपालमा सदाचार बनेको कमिशनतन्त्रले गर्दा हो जनताले बुझ्न सकेको छैन। कम्तिमा यसपटक त्यस्तो कुनै बाध्यता देखा नपरोस् !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्