ड्राइपोर्ट भन्सारका हाकिम कुटिए

225

प्रस, परवानीपुर, ८ माघ/
वीरगंज–२५ स्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्री कुटिएका छन्।
गत पुस २९ गते दिउँसो २ बजे प्रमुख भन्सार अधिकृत डा खत्रीले नेपाल इन्टरमोडेल यातायात विकास समिति ड्राइपोर्ट शाखाका अधिकृत तर्कराज जोशी, अर्का कर्मचारी किशोर कुर्मी र क्वारेन्टाइनका एकजना कर्मचारी गरी तीनजनालाई दुव्र्यवहार गर्दै शौचालयमा थुन्ने प्रयास गरेपछि ती कर्मचारीहरूले उनलाई कुटपिट गरेको बताइएको छ।
कर्मचारीहरूले उनको कठालो समातेर धक्कामुक्का दिई कुटपिट गरेको भन्सार कार्यालयका कर्मचारीहरूले बताएका छन्।
यस विषयमा डा खत्रीसँग बुझ्दा उनले कार्यालयलाई राम्रो बनाउनुपर्ने उपदेश सिखाउँदा आफूले दुव्र्यवहार खेप्नुपरेको बताए।
भन्सार कार्यालयको पहिलो तलामा रहेको इन्टरमोडेलको शौचालयलाई व्यवस्थित बनाउनुपर्ने विषयमा इन्टरमोडेलका कर्मचारी जोशीसँग विवाद पर्दा आफू दुव्र्यवहारको शिकार भएको उनले स्वीकार गरे। उनले भने, “शौचालय सफा छैन, न साबुन छ, न सेनिटाइजर राखिएको छ, महिला/पुरुष छुट्याउने बोर्ड थिएन, मैले यसै विषयमा जोशीसँग कुरा राखे, त्यसपछि आफूलाई कुटपिट गर्ने नियतले धक्का दिएर हातपात गरेका हुन्।”
यता, इन्टरमोडेलका शाखा अधिकृत जोशीले आफूहरूले हाकिमलाई नकुटेको र ज्यान जोगाउन धक्का दिएर शौचालयबाट निस्केको प्रतिक्रिया दिए। “हाकिम साहेबले आफ्नो पदको गरिमा राख्नुभएन, हामीलाई शौचालय व्यवस्थित भएन भनी हप्काउनुभयो, मलगायत तीनजना कर्मचारीलाई शौचालयमा थुनिसक्नुभएको थियो, त्यसपछि आफूहरू आक्रोशित बन्दै उहाँलाई धक्का दिएर त्यहाँबाट निस्केका हौं।” उनले भन्सार प्रमुख भएर उनको व्यवहार सोअनुरूपको नभएको बताए। उनले ड्राइपोर्ट भन्सारमा जहिलेदेखि प्रमुख भन्सार अधिकृत डा खत्री आएका छन्, त्यस दिनदेखि कार्यालयका कर्मचारी र सेवाग्राहीहरू असन्तुष्ट छन्। उनले वीरगंजमा आएर कर्मचारीलाई चीनमा दिने सेवाजस्तो प्रभावकारी भएन, कार्यालय व्यवस्थित भएन, कहिले ड्राइपोर्ट भन्सार इन्टरमोडेलको नाममा किन छ भनी सोध्छन् भनी बताए। जोशीले भने, “पिएचडी गरेको व्यक्तिले मीठो बोलेर काम लिनुपर्नेमा सबैसँग आफ्नो पदको रवाफ झारिरहेको कारण दिनहुँ विवाद भइरहेको छ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्