ठोरीमा भारतीय एसएसबीको ज्यादती

204

चिरञ्जीवी सापकोटा, ठोरी, ८ माघ
ठोरी गाउँपालिकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती बढेको छ।
बिहीवार भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीहरूमाथि एसएसबीले लाठीचार्ज गरेको छ। भारतीय बजारबाट सरसामान खरीद गरी नेपाल फर्किंदै गर्दा ठुटेखोलामा एसएसबीका हिमांशु र घुमुवा जाकिर अलि खानले ठोरी–३ बुद्धनगर निवासी विष्णु घिमिरे, राजकुमार अधिकारी, भीमलाल तामाङ, विकास गुरुङलगायत सातजनाभन्दा बढी महिला तथा पुरुषमाथि लाठीचार्ज गरी घाइते बनाएका छन्।
नेपालीले पिटाइ खाएको खबर सुनेर ठुटेखोलामा जम्मा भएका नेपाली र भारतीय भिखनाठोरीका स्थानीयवासीले संयुक्तरूपमा एसएसबीको चर्काे विरोध गरेपछि उनीहरू भागेको प्रत्यक्षदर्शीहरूले बताए।
जम्मा भएका नेपाली र भारतीयले एसएसबीले केही दिनदेखि ज्यादती गरिरहेको गुनासो गरे। एसएसबीका पुरुष जवानले नेपाली महिलाहरूको शरीर चेकजाँच गर्ने गरेको स्थानीय मीना गिरीले गुनासो गरिन्। आज पनि बाँदरझुलाकी एक महिलामाथि एसएसबीले अभद्र व्यवहार गरेको गिरीले जानकारी गराइन्। भारतीय भिखनाठोरीका स्थानीयहरूले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकोले एसएसबीले  गर्ने अमानवीय व्यवहारको विरोध गरेका थिए।
ठुटेखोलामा जम्मा भएका दुवै पक्षका स्थानीयले एसएसबीले माफी माग्नुपर्ने माग राखे। आक्रोशित भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निकै हम्मेहम्मे परेको थियो।
दिनभरि तनाव भएपछि भारतको सुभद्रा थानाबाट आएका प्रहरी अधिकारीले माफी मागेपछि केही साम्य भए तापनि पुनः दुवै पक्ष बसी सम्झौता गर्ने सहमति भएपछि हाललाई समस्याको समाधान भएको सशस्त्र प्रहरी बिओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइरालाले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्