वीरगंज कोरिडोरका दुर्ई तेल उद्योगलाई कारबाई

147

प्रस, परवानीपुर, ७ माघ/
सरकारले महँगो दाममा खानेतेल बेच्ने वीरगंज कोरिडोरका दुईवटा उद्योगलाई कारबाई गरेको छ।
अस्वाभाविक मूल्य राखेर खानेतेल बिक्री गरेको आरोपमा बारा, परवानीपुर गाउँँपालिका वडा नं ३ लिपनीमा पर्ने अन्नपूर्ण भेजिटेबल्स प्रालि र सोही उद्योग परिसरभित्र पर्ने महालक्ष्मी सोल्भेन्ट प्रालिलाई कारबाई गरिएको हो।
तीन महीनाको अवधिमा लिटरमा ५० रुपियाँ वृद्धि गरी बिक्री वितरण गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यी दुर्ई उद्योगलाई कारबाई गरेको हो। दुवै उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम जनही रु ३ लाख जरिवाना गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी गराए।
त्रिवेणी समूह अन्तर्गत यी दुवै खानेतेल उद्योग पुराना कम्पनी हुन्। यी उद्योगले सस्तो दाममा कच्चा पदार्थ आयात गरेको र ऐन अनुसार अधिकतम २० प्रतिशत मुनाफा राखेर एमआरपी छाप्नुपर्नेमा सोभन्दा बढी मूल्य राखेर तेल बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको हो।
बजारमा १६ वटा उद्योगविरुद्ध अचाक्ली महँगी बढाएको भन्दै उजूरी परेपछि १६ वटा उद्योगका कागजात मगाएर अनुसन्धान तीव्र पारिएको विभागका प्रवक्ता सेढाईंले बताए।
तिहारपछि बजारमा खानेतेलको मूल्य लगाताार बढ्दै गएपछि विभागले छानबिन शुरू गरेको हो। एक महीनामा मात्र भटमास र सूर्यमुखीको तेलमा प्रतिलिटर ४० रुपियाँँसम्म मूल्य बढाइएको थियो।
हाल बजारमा खानेतेलको मूल्य २१० देखि २२० रुपियाँँ प्रतिलिटरसम्म छ। यसअघि प्रतिलिटर १८० रुपियाँँसम्ममा बिक्री भइरहेको थियो। बजारमा खानेतेलको मूल्यमा एकरूपता नभएको व्यवसायीहरूले पनि बताउँदै आएका छन्। खानेतेलको मूल्य बढिरहँदा केही व्यवसायीले पुरानो स्टकको तेल प्रतिलिटर १९० रुपियाँँमा बिक्री गरिरहेको पनि पाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्