परिवार, समाज र सरकारबाट उपेक्षित तेस्रो/सम लिङ्गी

75

प्रस, वीरगंज, ७ माघ/
सदीऔंदेखि समाज र परिवारबाट अपहेलित हुँदै आएका तेस्रो लिङ्गी र समलिङ्गीहरू सरकारबाट पनि अपहेलित हुँदै आएका छन्।
सहयात्री समाज नेपालले आयोजना गरेको जिल्लास्तरीय सरोकारवाला निकायसँग समन्वय बैठकमा बोल्दै प्रोग्राम कोअर्डिनेटर समता बमले संविधानले तेस्रो लिङ्गी र समलिङ्गीलाई अधिकार दिएपनि स्थानीय तहबाट अहिलेसम्म कुनै सहयोग नपाएको गुनासो गरिन्।
समाज र परिवारबाट विस्थापित भएका तेस्रो लिङ्गी  र समलिङ्गीहरूको दैनिक गुजारा टार्न पनि समस्या परिरहेको बताइन्।
उनले पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहमा सहयात्री नेपालले काम गरिरहेको तर स्थानीय सरकारले उनीहरूको लागि कुनै किसिमको सीपमूलक तथा आयआर्जन वा व्यवस्थापन गर्न नसकेको गुनासो गरिन्। अन्य जिल्लाहरूमा तेस्रो लिङ्गी र सम लिङ्गी समाजलाई स्थापित गर्न विभिन्न किसिमका सीपमूलक कार्यक्रम ल्याएर समाजमा स्थापित गर्ने प्रक्रिया शुरू गरिसकेको उनको भनाइ थियो। अन्य महिला–पुरुषजस्तै आफूहरूलाई पनि कोरोनाकालमा राहत वितरण, आपतविपद् परेमा सहयोग तथा दैवीप्रकोपमा समेत चन्दा सङ्कलन गरी सहयोग गरे तापनि भेदभाव भने यथावत् रहेको उनको गुनासो थियो।
वीरगंज महानगरका उपप्रमुख शान्ति कार्कीले महानगरले पनि तेस्रो लिङ्गीको लागि रकम निकासा गरेको र योजनासहित अगाडि आएमा सक्दो सहयोग गर्ने बताइन्। समाजकै अङ्ग तेस्रो लिङ्गीहरूलाई आफ्नो अधिकारको लागि आफैं अगाडि बढेमा आम समुदायले पनि सहयोग गर्ने बताइन्।
कार्यक्रममा सहभागीहरूले तेस्रो र सम लिङ्गीहरूको व्यवहारको कारण अपहेलित हुने गरेको बताए। घण्टाघर तथा बाइपास सडकमा रातिको समयमा देखिएको दृश्यले सो क्ष्Fेत्रमा बस्ने चेलीबेटीहरूलाई समेत असर पर्ने गरेको उनीहरूको भनाइ थियो।
सहयात्री समाज नेपालकी प्रतिनिधि ममता भाटले बाटोमा घुम्नु वा नाचगान गरेर गुजारा गर्नु बाध्यता रहेको बताइन्। घरबाट निकालिएको, समाजले स्वीकार नगरेको र कसैले आर्थिक सहयोग नगर्दा दैनिक गुजारा चलाउन बाध्यवश बाटोमा घुमफिर गर्नुपरेको बताइन्।
सेभ द चिल्डे«न ग्लोबल फन्ड, ब्लु डायमन्ड सोसाइटीले सहयात्री नेपालमार्फत एचआइभी रोगीहरूको पहिचान र त्यसको व्यवस्थापनको क्षेत्रमा काम गर्दैआएको भाटले जानकारी गराइन्।
कार्यक्रममा वडा नं. १४ का वडाध्यक्ष भरतराउत कुर्मी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चौरसियालगायत विभिन्न वडाका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मीहरूको उपस्थिति थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्