पक्की पुल हेर्दै बाँसेपुलबाट जोखिमपूर्ण यात्रा

148

सञ्जय मित्र, रौतहट, ७ माघ/
सर्लाही र रौतहट जिल्ला जोड्नेगरी बागमती नदीमा तीन ठाउँमा पक्की पुल निर्माण भइरहेको छ। सबै ठाउँको पुल निर्माण समयमा भइदिएको भए सर्लाही र रौतहटबीच सञ्चालन हुने पुलको सङ्ख्या पाँच पुगिसकेको हुन्थ्यो तर पूर्व–पश्चिम राजमार्गमा रहेको वर्षौं पुरानो पुलबाहेक अन्य पुल भरपर्दो हुन सकेको छैन।
मध्य रौतहट र मध्य सर्लाहीमा पर्ने धर्मपुर तथा महिनाथपुरबीच पक्की पुलको निर्माण भइसकेको छ तर सडक निर्माण नभएकोले आवतजावत गर्न निकै सास्ती बेहोर्नुपरिरहेको यात्रुहरू बताउँछन्। पुल तयार भएर पनि सर्लाहीतर्फको सडक निर्माणले पूर्णता नपाएको हुँदा सवारी साधनलाई आवतजावत गर्न निकै कठिनाइ भएको सर्लाही, रामनगरका रामपवित्र साहको भनाइ छ। मध्य सर्लाहीबाट रौतहट जानुपर्दा अप्ठ्यारोको कारण महेन्द्र राजमार्ग भएर जानुपर्ने बाध्यता रहेको साहको भनाइ छ।
पक्की पुल निर्माण भएर पनि सडकको अभावमा सास्ती भोग्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर समनपुर, पिपरा र बडहर्वामा पुल निर्माणले गति नलिंदा यात्रुहरूले थप पीडा भोग्नुपरेको छ। हुलाकी राजमार्गमा पर्ने बागमतीमा पुल निर्माण रोकिएको आधा दशक भइसकेको छ। पिपरा र समनपुरमा पनि पुल निर्माण हुनुपर्ने म्याद नाघिसकेको छ तर पुल निर्माणको काम अधूरो छ।
रौतहटको समनपुर र सर्लाहीको बरहथवा बजार जोड्ने बागमतीमा निर्माणाधीन पुल गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने हो तर ठेकेदारको लापरवाहीले अझै कम्तीमा एक वर्ष लाग्ने गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवको भनाइ छ। जति ताकेता गरे पनि ठेकेदारले अपेक्षित काम नगरेपछि पुल निर्माण सुस्त हुन पुगेको मेयर यादवको भनाइ छ।
रौतहटको पिपरा र सर्लाहीको रामनगरबीच पनि पुल निर्माण भइरहेको छ। गत वर्ष नै निर्माण पूरा हुनुपर्नेमा आगामी एक वर्ष थप लाग्ने देखिन्छ। ठेकेदारले चासो नदिंदा निर्माण आधा पनि नसकिएको आरोप स्थानीयवासीको छ।
सर्लाहीको रामनगर र रौतहटको दुर्गा भगवती गाउँपालिकाले सहमति गरेर बागमती नदीमा बाँसको कच्ची पुल निर्माण गरेका थिए तर मरम्मतको अभावमा एक महीना नबित्दै भत्किएपछि नदीको माछा सकार गर्ने ठेकेदारहरूले अर्को पुल बनाएका छन्। ठेकेदारहरूले साइकलबाट पचास र मोटरसाइकलबाट एक सय रुपियाँ असुल गरिरहेका छन्।
समनपुरमा पनि निर्माण गरिएको बाँसको पुलबाट पार गर्दा उत्तिकै रकम यात्रुहरूले तिर्नुपरिरहेको छ।
समनपुर र पिपराघाटमा बागमती नदीमा वर्षौंदेखि निर्माणाधीन पुल टिठलाग्दो आँखाले हेर्दै बाँसको कच्ची पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरू बताउँछन्। हल्लिइरहने बाँसेपुलबाट जोखिमपूर्ण यात्रा गर्नु बाध्यता रहेको पिपरास्थित बाँसेपुल भएर सर्लाहीबाट रौतहट आएका किशुनदयाल यादवले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्