खोपप्रति उत्सुकता र मानसिक भरोसा

112

सञ्जय साह मित्र

गत वर्ष यतिबेला कोभिड–१९ बारे तीव्र उत्सुकता थियो। ‘यो महामारी हो र ?’ ‘यो ठूलो महामारी हो।’ ‘महामारीको रूप लेला।’ ‘महामारीले भयावह रूप लेला वा महामारी आइ नै हाल्ला ?’ जस्ता अनेक शङ्का, उपशङ्का, अनुमान तथा गन्थन–मन्थन चलिरहेका थिए। हुनत चीनमा शुरू भएको महामारीले त्यसरी भयावह रूप लेला भन्ने पत्यार धेरैलाई लागेकै थिएन। चीनमा फैलिएको महामारीप्रति कतिपयको विश्वास कम थियो भने कतिपयले सतर्कताको अवस्था आउन सक्ने पनि अनुमान गरेका थिए। त्यति बेला केही मिडियाहरूले कोरोना भाइरसको विषयमा निरन्तर प्रमुखताका साथ समाचार प्रसारण तथा प्रकाशन गरिरहेका थिए।
अहिले एक वर्षपछि कोरोनाविरुद्ध खोपको व्यावसायिक उत्पादनमात्र होइन, लगाउन पनि थालिएको छ। जाँगर र दूरदृष्टि नभएका शासकहरूको मुलुक हाम्रो नेपालमा समेत एक हप्ताभित्र खोप आइपुग्ने र दिने तयारी हुन थालेको छ। केही महीनापछि त अन्य खोपसरह सामान्यरूपमा प्राप्त होला भन्ने विश्वास पनि लिन थालिएको छ। खोपको उत्पादन शुरू भएको मनोविज्ञानले साधारण ग्रामीणलाई पनि उत्साहित गरेको छ। पहिले निकै डराउने सर्वसाधारण पनि खोपको उत्पादन शुरू भएको समाचारले उत्साहित भएको पाइएको छ। यसले सचेतनामा कमी ल्याएको छ भने आत्मबल वा आत्मविश्वास बढाएको छ। यद्यपि हरेक दिन नेपालमैं सयौं बिरामी भइरहेका छन्, कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेकै छ, सङ्क्रमण हराइसकेको छैन। बिस्तारै कम हुँदै गएको भने अवश्य हो, तर एक वा दुई दिन बिराएर नेपालमा कोरोना सङ्क्रमणका कारण मानिस मरिरहेको खबर पनि आउन छोडेको छैन। कोरोनाको उपचार सहज नहुँदै र कोरोनाको खोप सहज नहुँदै यसलाई पनि अन्य रोगसरह सर्वसाधारणको मनोविज्ञानले स्वीकार गर्नु नितान्त फरक कुरा भएको छ।
गत वर्षजस्तो त होइन, तर बिस्तारै अर्को भाइरसको सङ्क्रमण फैलिंदो क्रममा रहेको सुनिन थालेको छ। गत वर्ष चीनबाट कोरोना भाइरस फैलिएको भनिएको थियो भने अहिले बेलायतबाट नयाँ प्रजातिको कोरोना भाइरस फैलिन शुरू भएको र नेपालमा पनि यसले ढोका घच्घच्याइसकेको देखिएको छ। पहिलेभन्दा बढी खतरनाक भनेर केही समय पहिलेदेखि नै यसलाई जनाइएको छ। यो झन् लक्षणविहीन रहेको बताइएको छ। हुनत बेलायतबाटै नेपाल फर्केका तीनजनामा यो नयाँ प्रजातिको कोरोना देखिएको हो र बेलायतबाट फर्केका जति सबैलाई क्वारेन्टिनमा नै राखिएको छ। स्वास्थ्य मन्त्रालयले नै यसको पुष्टि गरिसकेको छ। यसले गर्दा नेपालमा सङ्क्रमणको खतरा त तत्काललाई रहेको देखिंदैन, यद्यपि यसले विश्वलाई कतै फेरि चिन्तामा पार्ने पो हो कि भन्ने आशङ्का बढ्न थालेको छ। यस प्रकारको आशङ्काले वास्तविक रूप लिन नपाओस् भन्ने आम नागरिकको आकाङ्क्षा रहेको छ।
अहिले सतर्कता निकै कम भएको छ। सर्वसाधारणले सामाजिक दूरी कायम गर्न छाडिसकेका छन्। जनजीवन सामान्य भइसकेकोजस्तो लाग्दछ। कोहीकोही मास्क लगाउँछन्। मास्क लगाउनेसित कहिलेकाहीं मानिसले उल्टै प्रश्न गर्छन् – अब किन लगाउनुप–यो ? अझै पनि कोरोना छ र ? के कोरोनाको डर छ ? वा कसैले नसोधे पनि कहिलेकाहीं हुलमुल वा हाट बजारमा मास्क लगाउने आफूमात्रै परेको पनि देखिन्छ। एक्लै पर्दा मास्क लगाउनेलाई अप्ठ्यारो परेको छ। सबै कुरा सामान्य भइसकेको जस्तो देखेर विज्ञहरूले सतर्क रहन र केहीगरी लापरवाही भयो भने फेरि कोरोनाले भयावहता ल्याउला चिन्ता जाहेर गरेको पाइन्छ। पहिलेजस्तो महामारी नआउला तर सामाजिक दूरी बनाई वा मास्क लगाएर काम गर्दा के नै बिग्रिहाल्छ र ?
अहिले मास्क त कोरोना रोकथामको सफल उपाय बनेको मनोविज्ञान विकसित भएको छ। यसले प्रदूषणबाट पनि जोगाएको छ। धूलो र धूवाँले बजार टन्न छ। केही दिन पहिले काठमाडौं उच्च प्रदूषित भएकोले बालबालिका तथा रोगी र ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन नै भनिएको थियो। त्यस प्रकारको प्रदूषण हाम्रो बजारमा नहोला तर धूलो र धूवाँले हाम्रो बजारलाई छोडेको छैन। अझ कतिपय गल्लीमा फोहोर वा नालाको पानी गन्हाइरहेको हुन्छ। धूलो, धूवाँ तथा गन्धलाई सजिलै रोक्ने मास्कले नजीकै बसेको वा गफ गरिरहेको मानिसको रुघा सर्नबाट पनि रोकेको हुन्छ। यस्तो चीसो मौसम वा निकै तातो मौसममा नाकमा निकै चीसो वा निकै तातो हावा जानबाट पनि रोक्दछ। यसबाट पनि केही समस्या कम गरेको हुनुपर्छ। पहिलेका वर्षभन्दा यस वर्ष जाडोजन्य बिरामी कम भएको अस्पताल तथा चिकित्सकहरूले बताइरहेका छन्। यसको मुख्य कारण मास्कको प्रयोग तथा घरमा साबुन–पानीको प्रयोग हो भन्ने उनीहरूको ठहर छ। हो, कोरोनाको समयमा मास्क लगाउन सर्वसाधारणले पनि सिकेका छन् तर कोरोना महामारीभन्दा पहिले यसको प्रचलन छँदै थिएन भन्ने होइन। कोरोनाको समय सकिएपछि मास्कको प्रयोग गर्नै पर्दैन भन्ने पनि छैन। यसले धेरै किसिमले फाइदा गरेको छ। हुन सक्छ, मास्कका केही नकारात्मक प्रभावहरू पनि होलान् तर नकारात्मक प्रभावलाई सकेसम्म न्यून पार्ने उपाय अवलम्बन गर्दै नियमित मास्क प्रयोग गर्नुपर्दछ। यसको लागि बौद्धिक वर्गले प्रोत्साहित गर्नु पनि आवश्यक छ।
नेपालका दुवै छिमेकी देश भारत र चीनले हजारौंलाई खोप उपलब्ध गराइरहेका छन्। नेपालका दुवै छिमेकीले खोप उपलब्ध गराइरहँदा नेपालीलाई पनि आशा हुनु स्वाभाविक हो। अति नै स्वाभाविक हो कि अब नेपालीहरू खोपप्रति उत्सुक र आशावादी हुनुलाई नराम्रो पनि मान्न सकिन्न। अहिले देशको राजनैतिक वातावरण नतातेको वा पहिलेजस्तो सामान्य अवस्था भएको भए सबैभन्दा बढी चर्चा खोपकै हुन्थ्यो। खोपसित सम्बन्धित सामग्री मिडियामा बढी आइरहेका हुन्थे। अहिले विकास र निर्माणका कुरा र खोपको कुरा ओझेलमा परेका छन् तर राजनीतिमा उति धेरै चासो नराख्ने, तर बिहान र साँझ मोबाइलबाट एफएम रेडियो सुन्नेले देशको राजनीतिसँगै खोपको कुराप्रति बढी उत्साह देखाइरहेका छन्। केही महीना पहिले कोरोना त्रासले भरिएको मन अहिले खोपको आगमन हुने आशाले हलुको हुँदैछ।
कोरोनाको प्रत्यक्ष वा परोक्ष प्रभाव साधारण किसान–मजदूरलाई पनि परेको थियो। अहिले पनि साधारण किसान र मजदूरहरू पूर्णरूपमा कोरोनाको प्रभावबाट मुक्त हुन सकेका छैनन्। जहाँ स्वास्थ्य प्रसङ्ग आउँछ, त्यहाँ अवश्य पनि कोरोनाले थलिएको शङ्का उब्जन्छ। लामो समय बन्दाबन्दीले प्रभावित नहुने क्षेत्र त कमै होला, सामान्य दैनिकीमा पनि कोरोनाको नकारात्मक असर परेको स्वीकार गर्ने जनसाधारणलाई के पनि आशा छ भने कोरोनाको खोप सर्वसुलभ भएपछि अरू त जे होला, उपचार सम्भव हुन्छ र अर्को मनोविज्ञान यो पनि रहेको छ कि अब विगतजस्तो कष्टकर दिन फेरि नआउला। कोरोनाकालजस्तो कठिन दिन विगतमा सर्वसाधारणले सुनेको भए पनि भोगेको चाहिं थिएन। यसकारण पनि खोपप्रति बढी उत्सुक र खोप आउँदैछ भन्ने खबरले चारैतिर उत्साह भरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्