सफल किसान जसले तरकारी बेचेर ३ बिघा जग्गा जोडे

87

प्रस, परवानीपुर, ६ माघ/
पर्सामा सफल किसानको रूपमा नवलकिशोर झा चिनिन्छन्। वीरगंज महानगरपालिकाको वडा नं ३१ बेल्वा (भेडियाही)का बासिन्दा ५८ वर्षीय झा साढे तीन दशकदेखि तरकारीखेतीमैं रमाइरहेका छन्। बुबाको जागीर पर्साको बेल्वामा शारदा प्राविमा भएपछि झा परिवार महोत्तरीको बतनाहाबाट बसाइँ सरेर भेडियाही आएको थियो। त्यति बेला झा एसएलसी उत्तीर्ण गरेर जेटिएको जागीर गर्दै आफ्नै गाउँमा तरकारीखेती गर्ने सपना देख्थे। भेडियाहीमा तीन कट्ठा जग्गा हुण्डीमा लिएर भन्टाखेतीबाट शुरू गरेको तरकारीखेती ३८ वर्षदेखि निरन्तर चलिरहेको छ। पछिल्लो ३८ वर्षमा तरकारीखेतीबाट उनले घरपरिवारलाई पाल्दै करीब तीन बिघा जग्गा जोडिसकेका छन्।
अहिले सो जग्गा करोडभन्दा बढी मूल्यको छ। दुई छोरा, तीन छोरीका बुबा झाले महोत्तरीबाटै २०३६ सालमा मुख्य विषय बागवानी लिएर एसएलसी गर्दा नै व्यावसायिक तरकारीखेती गर्ने सपना देखेका थिए। जुन भेडियाहीमा आएर सफल भएको छ। उनले दुई छोरीको बिहे गरिसकेका छन् भने २१ वर्षीय जेठो छोरा तीन वर्षे आइएस्सी (एग्रिकल्चर) पढ्दैछन्। फुर्सदको समयमा आफूलाई सघाउने छोरालाई कृषि वैज्ञानिक बनाउने उनको सपना छ। झाले व्यवसायीको रूपमा वर्षमा तीनपटक तरकारीखेती गर्ने गर्छन्। १० कट्ठा जग्गामा आँप र बाँसको बगैंचा लगाएका छन् भने १ बिघामा धान र गहुँ उब्जाउने गर्छन्। बाँकी दुई बिघामा वर्षभरि तरकारीखेती गरेर जीतपुर बजारमा बेच्दै आएका छन्। असारदेखि असोजसम्मको वर्षात्को समयमा लौका, करैली, बोडी, भन्टा लगाउँछन् भने कात्तिकदेखि फागुनसम्मको जाडोको समयमा काउली, बन्दा, गोलभेंडा, खुसार्नी, केराउ, तोरी, दलहन लगाउँछन्। चैतदेखि जेठसम्मको गर्मी मौसममा करेला, बोडी, घिरौला, लौका उत्पादन गर्छन्। वर्षमा धानखेतीबाट ५० हजार रुपैयाँ आम्दानी गर्ने झाले तरकारीखेतीबाट रु ६ लाखभन्दा बढीको आम्दानी गर्छन्।
गत आर्थिक वर्ष रु ११ लाख खर्च गरेको तरकारीखेतीबाट घाटा लागेको झाले बताए। कोरोना महामारी र वर्षात्को समयमा उत्पादन र बिक्री प्रभावित भएपछि रु पाँच लाख मात्र आम्दानी भएको र ६ लाख रुपैयाँ घाटा लागेको उनले जानकारी गराए। अघिल्लो वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा ६ लाख रुपैयाँ खुद मुनाफा भएको उनको भनाइ छ।
अहिले काउली १०–१२ रुपैयाँ किलोमा बिक्री गर्दा निकै घाटा लागिरहेको उनले बताए। स्थानीय, प्रदेश र केन्द्र सरकारले कागजी किसानलाई मात्र सहयोग गर्छन् भने फिल्डमा काम गर्ने वास्तविक किसानलाई अनुदान नदिएर अन्याय गरेको उनको आरोप छ। उनको तरकारीखेती हेरेर अहिले भेडियाही बेल्वाका दर्जनौं किसान तरकारीखेतीतर्फ आकर्षित भएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्