दोहोरो नागरिकता लिने सिंहमाथि कारबाई शुरू

103

प्रस, वीरगंज, ५ माघ/
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान र गृह मन्त्रालयको निर्देशनपछि दोहोरो नागरिकता लिने एकजनामाथि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाई प्रक्रिया शुरू गरेको छ।
वीरगंज महानगरपालिका–७ निवासी सोमेन्द्र सिंहलाई पक्राउ गर्न जिप्रका पर्साले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।
समाचार स्रोतका अनुसार बिहार, वैशालीको हाजीपुर निवासी किशोर सिंहका छोरा सोमेन्द्र सिंहले २०६३ चैत १२ गते टोलीबाट नागरिकता लिएका थिए। भारतीय नागरिक सिंह भारतको अहमदाबादस्थित क्याडिला फर्मास्युटिकल्सको नेपालका लागि आधिकारिक विक्रेता रहेको स्रोतले दाबी गरेको छ। २०५४ चैत २८ गते भारतीय दूतावास लैनचौरमा आफ्नो नाम दर्ता गरी नेपाल छिरेका सिंहले रकमको प्रभावमा नेपाली नागरिकता लिन सफल भएको उजूरीमा उल्लेख छ।
उजूरीमा तत्कालीन नागरिकता टोलीका प्रमुख राजकुमार अधिकारीले सिंहलाई जन्मको आधारमा नागरिकता दिएका थिए। नेपाली नागरिकताको आधारमा यातायात विभागबाट ०२.०५.००४११४६६ नम्बरको सवारीचालक अनुमतिपत्र तथा भारतमा जन्मेकी उनकी पत्नी मीना सिंहले पनि वैवाहिक अङ्गीकृत नागरिकता लिएकी छन्।
२०६९ जेठ १६ गते जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत सुकदेव लम्सालले सिंहकी पत्नी मीनालाई वैवाहिक अङ्गीकृत नागरिकता दिएको उजूरीमा उल्लेख छ।
प्रदीप खण्डेलवालका छोरा राहुल खण्डेलवालसँग मिलेर सिंहले भारतबाट औषधि आयात गरी अवैधरूपमा नेपाली मुद्रा विदेश पठाउने गरेको अनुसन्धान ब्युरोले अनुसन्धानको क्रममा फेला पारेको उजूरीमा उल्लेख छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्