तीन सय मिटरको दूरीमा तीनवटा विद्यालय, शिक्षकको अनुपस्थितिमा कार्यालय सहायकले अध्यापन गराउँदै

120

प्रस, पोखरिया, ४ माघ/
पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–४ मा तीनवटा विद्यालय तीन सय मिटरको दूरीमा छन् तर त्यहाँको अध्यापन व्यवस्थित छैन।
नेराप्रावि श्यामपुर भेलाहामा बालविकासदेखि कक्षा ४ सम्म अध्यापन हुन्छ। यो विद्यालयको रजिस्टरमा ८० जना विद्यार्थी देखाइएको छ। तर दैनिक ३५ भन्दा बढी विद्यार्थी आउँदैनन्। ८० जना भर्ना भएपनि दैनिक हाजिरीमा विद्यार्थी सङ्ख्या ३५ मात्रै देखिएको छ। विद्यालयमा दुईवटा कोठा मात्र छन् र त्यहाँ बालविकासदेखि कक्षा ४ सम्म अध्यापन गराइन्छ। एउटा कोठामा बालविकास, कक्षा १, २ र स्टोर तथा कार्यालय सञ्चालन छन्। अर्को कोठामा ३ र ४ कक्षाका विद्यार्थीहरू एकैसाथ अध्ययन गर्छन्। विद्यालयमा प्रधानाध्यापक, बालविकास शिक्षिका र कार्यालय सहायक गरी तीनजना मात्र छन्।
शीतलहर र चीसोको कारण प्रअ अशोक साह र बालविकासकी शिक्षिका आइतवार उपस्थित भएनन्। त्यहाँ आएका विद्यार्थीलाई कार्यालय सहायक मन्टुप्रसाद चौहानले अध्यापन गराएका थिए। उनले बालविकास र कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर सामूहिक अध्यापन गराइरहेका थिए।
यसैगरी, सोही विद्यालयदेखि सय मिटरको दूरीमा हरिहर साह प्रावि छ। यो विद्यालयमा पनि बालविकासदेखि कक्षा ५ सम्म अध्यापन हुन्छ। विद्यालयमा दुईवटा कोठा छन् र एउटा कोठामा बालविकास, कक्षा १, २, ३ को अध्यापन हुन्छ भने सोही कोठामा स्टोर र कार्यालय छन्। अर्को कोठामा ३, ४, ५ को अध्यापन गराइन्छ। त्यहाँ प्रअ शेषनाथप्रसाद साह स्थायी छन् र दुईजना शिक्षक निजी स्रोतबाट छन्। तीनजनाले ६ वटा कक्षा सञ्चालन गर्दै आएका छन्।
यो विद्यालयको अर्को पक्ष्F के छ भने विद्यालय जाने बाटो छैन। अध्ययनरत विद्यार्थीहरू खेतको आली भएर विद्यालय पुग्छन्। विद्यालयमा १४८ जना विद्यार्थीको भर्ना देखाइएको छ तर दैनिक हाजिरीमा आधा विद्यार्थी सङ्ख्या मात्र देखिएको छ। यही विद्यालयको दुई सय मिटरको दूरीमा हरिराजप्रसाद उपाध्याय प्रावि खेस्राहा छ।
दुईवटा विद्यालयको तुलनामा यो विद्यालय अलि व्यवस्थित छ। प्रअसहित ५ जना शिक्षक छन्। २२५ जना विद्यार्थी छन्। बालविकासदेखि कक्षा ५ सम्म अध्यापन हुन्छ। विद्यालयमा अध्यापनको लागि पर्याप्त कक्षा कोठा छन्। तीन सय मिटरको दूरीमा तीनथरी विद्यालय अव्यवस्थित तरीकाले सञ्चालन हुनुभन्दा एकै ठाउँमा व्यवस्थित गरी विद्यालय सञ्चालन गर्नुपर्ने स्थानीयको सुझाव छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्