स्वर्णिम संसारका संवाहक – प्रजापिता ब्रह्माबाबा

187


    मानव सृष्टिको विगतदेखि वर्तमानसम्म नियाल्दा हरेक युगमा अनेकौं पुण्यात्मा, महात्मा, धर्मात्मा, महान् आत्माहरूको आगमन यस पृथ्वीमा भयो। उहाँहरूले तत्कालीन सामाजिक व्यवस्था र समयको मागअनुरूप मानवजगत्मा निकै अतुलनीय योगदान र पथ प्रदर्शन पनि गर्नुभयो। जसका कारण ती महामानवहरू आजसम्म पनि सम्पूर्ण जगत्मा वन्दनीय, अनुकरणीय र पूजनीय बनेका छन्। उहाँहरूप्रति सबैको मस्तक श्रद्धाभावले नतमस्तक छन्।
    वास्तवमा तिनै महान् पूर्वज एवं अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै प्रेरणा ग्रहणका लागि उहाँहरूको जन्मदिवस र मरण दिवसलाई आज शताब्दीऔं र हजारौं वर्षपश्चात् पनि विशेष उत्सव र पर्वको रूपमा मनाइने गरिएको छ। यसरी विश्व इतिहासमा अमर भएका छन्, ती महान हस्तीहरू।
    आज तिनै हस्तीहरूमध्ये एक साधारण मानव परन्तु बहुआयामिक व्यक्तित्व, अद्वितीय, अद्भुत र असाधारण व्यक्तित्वको सम्पूर्णता दिवस, महाप्रस्थान, महाप्रयाण र पुण्य स्मृति दिवस १८ जनवरीको उल्लेख यहाँहरूमाझ गर्दैछौं। उहाँ हुनुहुन्छ स्वयम् सर्वशक्तिमान् निराकार ईश्वरका साकार माध्यम एवं ईश्वरप्रदत्त विश्वव्यापी आध्यात्मिक एवं शैक्षणिक संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका निमित्त संस्थापक पिता प्रजापिता ब्रह्माबाबा। आजभन्दा करीब १४४ वर्षपूर्व सन् १८७६ डिसेम्बर १५ मा तत्कालीन सिङ्गो अविभाजित भारतको सिन्ध प्रान्तस्थित हैदराबादमा सम्पूर्ण शुद्ध बनेर गीता पाठ नगरीकन एक थोपा पानी पनि ग्रहण नगर्ने वैदिक दिनचर्या भएको अति संस्कारी वैष्णव कृपलानी ब्राह्मण परिवारमा लेखराज कृपलानीको रूपमा उहाँको जन्म भएको थियो।
    बाल्यावस्थादेखि नै बालक ध्रुव समान परम नारायणभक्त, श्रवणकुमारसमान मातृ–पितृ सेवक तथा सबैप्रति परम संस्कारी, उपकारी, गरीब, दीनदुःखीहरूप्रति अति दयालु र आज्ञाकारी कुलदीपकका रूपमा समाजमा निकै गहिरो प्रभाव छोड्नुभएको दादा लेखराजले किशोरावस्था पार गर्दादेखि नै आफ्नो तीक्ष्ण विवेक र गहिरो सुझबुझका कारण कोलकातामा हीराको व्यवसायमा जम्न सफल हुनुभयो। केही समयमैं नेपालका राजघराना र बेलायतका महारानीसमेत नियमित ग्राहकका रूपमा रहेका अति प्रसिद्ध हीरा व्यापारीको रूपमा प्रख्यात हुन सफल दादा लेखराजको संयमित दिनचर्यामा लेस मात्र पनि अन्तर आएको थिएन। तत्कालीन समयका अनेकौं राजा, महाराजा तथा महाराणाहरूसँगको व्यापारिक सम्बन्धका बावजूद पनि उहाँको लागि प्रथम स्थान सधैं धर्म, संस्कार र मर्यादाको रहन्थ्यो। यो अद्भुत सन्तुलनबाट उनीहरू सबै निकै प्रभावित थिए। नारीशक्ति तथा मातृशक्ति नै सम्पूर्ण जगत्का वास्तविक उद्धारक हुन् भन्ने दृष्टिकोण राख्ने दादा लेखराजको मनमा नारी जाति तथा माताहरूप्रति अत्यन्तै अगाध सम्मान थियो। विष्णुका परमभक्त भएपनि क्षीरसागरमा विष्णुको पाव दबाइरहेकी लक्ष्मी देवीको चित्रलाई परिवर्तन गरी विष्णुसमान नै सम्मानित देखियोस् भनी लक्ष्मीनारायण दुवैको समान चतुर्भुजरूपमा उभिएको चित्र छपाइ भक्तहरूलाई वितरण गराउनुभएको थियो। एकातिर आर्थिक समृद्धिको उत्कर्षमा पुग्न लागेको तथा अर्कोतिर आफ्नो भक्ति संस्कारको पनि चरम अवस्थामा पुग्नुभएको उहाँले परमात्मा मिलन तथा ईश्वरको खोजी गर्ने तीव्र लगनको क्रममा अति आतुर हुँदै कुनै दुई वा चार जना होइन तर बा–हजना गुरुसमेत बनाइसक्नुभएको थियो। यी सम्पूर्ण मानवीय मूल्यहरूले सुशोभित उहाँको व्यक्तित्व यति भव्य र शालीन थियो कि उक्त समयका महाराजाहरूसमेत सार्वजनिकरूपमा मुक्त कण्ठले प्रशंसा गर्दै खुल्लारूपमा भन्ने गर्दथे कि लेखराजबाबू विधाताले हामीलाई राजा बनाएर ठूलो भूल गरे राजाको रूपमा सुशोभित हुने सम्पूर्ण गुण त हजुरमा भरिएको छ। यसको जवाफमा उहाँ भन्ने गर्नुहुन्थ्यो कि महाराज, हामी अल्पज्ञ र सीमित विवेक भएका मानवबाट भूल हुन सक्छ, सर्वज्ञ र सर्वशक्तिमान् ईश्वरबाट हैन। विधाताको हरेक व्यवस्थामा कल्याण निहित छ।
    भगवान् विष्णुको प्रखर भक्तिकै क्रममा एक दिन उहाँलाई भगवान् विष्णुकै साक्षात्कार (जागृत अवस्थामा साक्षात्रूपमा आँखाको सामुन्ने प्रकट हुनु) भयो। अकस्मात् र अकल्पनीयरूपमा भएको उक्त साक्षात्कारबाट दादा लेखराज परम आनन्दित तर परम आश्चर्यमा पनि पर्नुभयो कारण अत्यन्तै दिव्य र भव्यरूपमा प्रकाशपुञ्ज आभामण्डलमा सुसज्जित शङ्ख, चक्र, गधा र पद्मसहितको विष्णुजीको मुखबाट अहम् विष्णु चतुर्भुजम् तत्वम् अर्थात् म चतुर्भुज विष्णु तिम्रो आफ्नै दिव्य रूप हुँ भन्ने अनहद नाद गुञ्जिरहेको थियो। एकातिर परम हर्ष तर अर्कोतिर आफूले भगवान्को रूपमा अति श्रद्धाका साथ भक्ति अर्पण गर्दै आइरहेको आफ्नो इष्टदेव आफ्नै दिव्य स्वरूप कसरी हुन सक्छ भन्ने परम आश्चर्यले भरिएर आफ्ना १२ जना गुरुसँग उक्त दिव्य घटनाबारे जिज्ञासा राख्दा ती सबै गुरु झन् घोर आश्चर्यमा परेछन्। यस घटनाबाट उहाँलाई आभास भयो कि यो कुनै देहधारी मनुष्यले विश्लेषण गर्न सक्ने या गुरु आदिको कृपाबाट सम्भव भवितव्य नभई जरुर उनै अदृश्य परमसत्ताको कुनै ठूलो दिव्य सङ्केत हुनुपर्छ। अब साक्षात्कारको सिलसिला यहाँ मात्र रोकिएन बरु हप्तौंसम्म भगवान् विष्णुका विभिन्न अवतारको साक्षात्कार लगातार हुन थाल्यो तर उही संस्कृत वाक्यांश …तत्वम्का साथ। यी सबै घटना यसरी आश्चर्यजनकरूपमा घटित हुन पुग्यो कि अब उहाँको मन बिस्तारै यस भौतिक दुनियाँबाट विरक्त हुन थाल्यो। एक दिन पुनः अचानक यो विद्यमान कलियुगी संसारका विभिन्न प्रकारका गृहयुद्ध, भूकम्प, सुनामी र क्षेप्यास्त्र आदि आणविक हतियारद्वारा अति विकराल महाविनाश भएको, रगतको नदीमा यत्रतत्र लाखौं मानवका लाश बगिरहेको बीभत्स दृश्यको साक्षात्कार भयो। अति अकल्पनीय र असह्य दृश्य देखेर उहाँको आँखाबाट अविरल अश्रुधारा बग्न थाल्यो र ‘बस गर प्रभु बस गर तिमी को हौ र मलाई यस्तो किन देखाउँदै छौ’ भनेपछि ती सबै दृश्य शान्त भए। यस प्रकारका अद्भुत र अनौठो घटनाबाट अति मर्माहत र विरक्त भएको उहाँले आफ्ना व्यापारिक भाइभारदारहरूलाई बोलाएर सबै भौतिक कारोबार समेट्नुभयो। अचानक उहाँमा आएको यस प्रकारको आमूल परिवर्तन देखेर सबै आश्चर्य मानिरहेका थिए। अब अध्यात्म र अन्तरजगत्को यात्रामा झन् गहिरिंदै गइरहेको अवस्थामा एक दिन आफ्नै निवासमा सबै गुरुजनलाई निमन्त्रण गरी सबैभन्दा अगाडि बसेर सत्सङ्ग गरिरहेका बेला उहाँलाई अचानक कुनै दिव्य अदृश्य शक्तिले बारम्बार त्यहाँबाट उठी एकान्तमा जानलाई दबाब र प्रेरणा दिइरहेको आभास भयो। अकस्मात् सबैलाई घोर आश्चर्यमा पार्दै उहाँ आफ्नो कोठामा गई योग मुद्रामा बस्नुभयो। पिछा गर्दै उहाँकी धर्मपत्नी माता जशोदा उहाँको कोठामा प्रवेश गर्दा उहाँको अभूतपूर्व दिव्य कान्तिमय रूप देखेर अवाक हुनुभयो। आँखाबाट निरन्तर सुनौलो र रातो किरण मिश्रित प्रकाश प्रवाह भइरहेको थियो। निधार अति तेजस्वी प्रकाशले भरिएर बलिरहेको थियो। अचानक उहाँको मुखबाट पहिले मधुर र बिस्तारै त्यो ध्वनि बढ्दै अनहदको रूपमा गुञ्जायमान हुन थाल्यो। त्यो ध्वनि यस्तो थियो।
    निजानन्द स्वरूपम् शिवोहम्। शिवोहम््।।
    ज्ञान स्वरूपम् शिवोहम्। शिवोहम्।
    प्रकाश स्वरूपम् शिवोहम्। शिवोहम्।।
अर्थात्
    म साक्षात् आनन्द स्वरूप शिव हुँ। म शिव हुँ।।
    म साक्षात् ज्ञान स्वरूप शिव हुँ। म शिव हुँ।।
    म निराकार ज्योतिस्वरूप शिव हुँ। म शिव हुँ।।
    यसरी स्वयम् साक्षात निराकार ज्योति स्वरूप, ज्ञान र आनन्दका परम स्रोत सर्वशक्तिमान् परमात्मा शिवले नै उहाँलाई केही समयदेखि विभिन्न दिव्य साक्षात्कारहरू गराउँदै महान् दिव्य रहस्य उजागर गर्न तयार पार्दै हुनुहुन्थ्यो। र यो आजभन्दा करीब ८४ वर्षपूर्वको सन् १९३६ मा घटित यो सृष्टिकै अत्यन्तै महान्, अद्भुत र अभूतपूर्व दिव्य घटना थियो, जुन समयमा स्वयम् यो जगत्का नियन्ता, सृष्टिका परमाधिपति, अजन्मा शिव परमात्मा आफ्नो परमधाम छाडेर यस धराधाममा आई एक साधारण मानवी तनमा दिव्य प्रविष्ट हुनुभएको थियो। यी सबै दृश्यपछि उहाँले आँखा खोल्नुभयो। आश्चर्यको उत्कर्षमा पुगेकी पत्नीको जिज्ञासामा भन्नुभयो– स्वयम् अजन्मा निराकार सर्वशक्तिमान् परममङ्गलकारी परमात्मा शिव आज आफ्नो परमधाम छोडेर यस पृथ्वीमा आई मेरो यो शरीरमा प्रविष्ट हुनुभएको थियो, उहाँ अति मनोहारी, अति सुन्दर, परम ज्योति बिन्दु हुनुहुन्थ्यो, उहाँले मप्रति अति दिव्य प्रेम बर्साउनुभयो र आफ्नो परिचय आफैं दिनुभयो… उहाँले मलाई चारैतिर सुन र हीराको महल र प्रकृतिको अद्भुत सौन्दर्य भएको पुष्पक विमान उडिरहेका, अति सुन्दर देवीदेवताहरू विचरण गरिरहेको स्वर्णिम संसार देखाउनुभयो अनि अति प्रेमले भन्नुभयो– मेरो प्यारो बच्चा अब यो संसारमा यस्तै दिव्य युगको आगमन हुनेछ र त्यो महान् कार्यको माध्यम तिमी हुनेछौ, त्यसपछि उहाँ गायब हुनुभयो।
    अब उहाँमा परमात्माको आगमनको क्रम लगातार चल्न थाल्यो। स्वयम् परमात्माले उहाँको माध्यमबाट आत्मा, परमात्मा, सृष्टि र कर्म सिद्धान्तको गहिरो भेद बताउन शुरू गर्नुभयो। गीताको वास्तविक अर्थ बताउन शुरू भयो। सत्सङ्गमा आउने सबैले ओमध्वनि उच्चारण गर्दै अनेकौं दिव्य अनुभूति गर्न थाले। त्यसबाट चारैतिर चर्चा हुन थाल्यो। यसै क्रममा स्वयम् परमात्माको साकार माध्यम बनेर सबैको आध्यात्मिक पालना गर्ने र सबै आत्माको उद्धार गरी स्वर्णिम युगको स्थापना गर्ने निमित्त महान् आत्मा भएको कारण दादा लेखराजको भौतिक नाम परिवर्तन गरी स्वयम् परमात्माले सबै आत्माका अलौकिक पिता प्रजापिता ब्रह्मा नामले उहाँलाई सम्बोधन गर्नुभयो। सन् १९३७ मा उहाँले आफ्ना सबै चलअचल सम्पत्ति केही माताको समूह बनाएर सुम्पिएर पछि ओममण्डली ट्रस्टको स्थापना भयो, तब शुभारम्भ भयो विश्व परिवर्तनकोे महान् ईश्वरीय कार्य। अबला सम्झिएर माता बहिनीहरूलाई जिउँदै जलाइने कुप्रथा सती प्रथाले जरा गाडेर बसिरहेको उक्त समयमा स्वयम् ईश्वरको प्रेरणा अनुसार नारी अबला होइनन् परन्तु सम्पूर्ण कलियुगी सृष्टिमा व्याप्त विषय विकार र दुर्गुणहरू नाश गरी जगत् उद्धार गर्ने सामथ्र्य धारण गर्ने असुर संहारिनी दुर्गा, महाकाली आदि शिवशक्तिका अवतार हुन् भन्ने आध्यात्मिक चेतनाको प्रवाह गर्दै नारीशक्ति, मातृशक्तिहरूलाई अनेक दिव्य गुण र आध्यात्मिक मूल्यहरूको अस्त्रले सशक्त बनाउनुभयो, प्रजापिता ब्रह्माबाबाले। यस अर्थमा उहाँ नारी सशक्तीकरणका आध्यात्मिक संवाहक हुनुहुन्थ्यो। एकातिर परमात्माको आध्यात्मिक शक्तिले सशक्त हुँदै स्वर्णिम युगको आधारशिला तयार भइरहेको अवस्थामा अर्कोतिर महान कार्यमा विघ्न पर्नु स्वाभाविक भएझैं यस महान् ईश्वरीय कार्यमा पनि विभिन्न प्रकारका षड्यन्त्र, विघ्न तथा चुनौतीहरू देखा पर्न थाल्यो। तर सत्यको डुङ्गाको हलिन्छ तर डुब्न सक्दैन भनेझैं अन्ततः स्वयम् सर्वशक्तिमान परमात्माको शक्तिद्वारा सञ्चालित यस ईश्वरीय कार्यको अगाडि सबै विघ्न–बाधाहरू समाप्त हुन थाले।
    भारत र पाकिस्तानको विभाजनपश्चात् सन् १९५० मा ओममण्डलीको स्थानान्तरण भारतको राजस्थानस्थित माउन्ट आबुमा भयो। जहाँ परमात्माको प्रेरणा अनुसार उहाँले आफ्ना अलौकिक सन्तानहरूलाई १४ वर्षसम्म अखण्ड तपस्यामा तपाएर समस्त जगत्को उद्धार गर्ने सामथ्र्यको विकास गराउनुभयो। बिस्तारै ती महान् तपस्वीहरू भारतका विभिन्न स्थान हुँदै नेपाललगायत अनेकौं राष्ट्रमा गई ईश्वरप्रदत्त आध्यात्मिक ज्ञान र राजयोग अभ्यासको माध्यमबाट मानव आत्माहरूलाई काम, क्रोध, लोभ, मोह तथा अहङ्कार आदि विषय विकार एवं दुर्गुणहरूबाट मुक्त गराउँदै शान्ति, एकता, भाइचारा र अहिंसाको स्थापना गर्ने पवित्र कार्यमा जुट्न थाले। यसरी सर्वशक्तिमान परमात्माको परम आज्ञालाई शिरोधार्य गर्दै मानवताको निस्स्वार्थ सेवामा आफ्ना सर्वस्व आहुति दिनुभयो। अब ओममण्डलीबाट परिवर्तन भई यो महान् ईश्वरीय यज्ञको नाम प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय रह्यो। अब परमात्माको महान् ईश्वरीय कार्य अत्यन्तै दु्रत गतिमा अगाडि बढ्दै गयो भने अर्कोतिर प्रजापिता ब्रह्माबाबाले बिस्तारै सबै स्थुलता र भौतिकताबाट आफूलाई समेट्दै जानुभयो। सम्पूर्ण र सम्पन्न आध्यात्मिक स्वरूप कर्मातित अवस्था तथा सर्वश्रेष्ठ आध्यात्मिक अवस्था प्राप्त गर्ने तीव्र लगनको अग्निलाई प्रज्वलित गर्दै आफ्ना सम्पूर्ण ब्रह्मावत्स, ब्रह्माकुमार, ब्रह्माकुमारीहरूलाई पनि आफूसमान दिव्य गुण र आध्यात्मिक ऊर्जाले सम्पन्न गराउने धुनलाई अगाडि बढाउनुभयो। ती नै महान् हस्तीहरू नै आजका शक्ति स्वरूपा राजयोगिनी तपस्वीनी परम श्रद्धेय दादीज्यूहरूका रूपमा आज यो ईश्वरीय यज्ञ सञ्चालनमा निमित्त बनेका छन्।
    यसरी ब्रह्माबाबाले आध्यात्मिक धारणा र राजयोग अभ्यासको चरम उत्कर्षमा पुगी सन् १९६९ जनवरी १८ मा आफ्ना सम्पूर्ण ब्रह्मावत्सहरूलाई निराकारी, निरहङ्कारी र निर्विकारी भवको वरदान दिंदै आफ्नो सम्पूर्ण आध्यात्मिक ऊर्जा राजयोगिनी दादी प्रकाशमणिमा हस्तान्तरण गरेर भौतिक देहरूपी कलेवर त्याग गरी सम्पूर्ण फरिस्ता स्वरूप धारण गरी परमात्मा शिवपितामा गई एकीकृत हुनुभयो। सर्वशक्तिमान परमात्माकै आदेश र उहाँको सूक्ष्म प्रेरणा अनुसार नै प्रकाशमणि दादीको नेतृत्वमा विभिन्न देशमा संस्थाको विस्तार भई संयुक्त राष्ट्रसङ्घमा समेत विश्वव्यापी सङ्गठनको रूपमा आबद्ध भई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्तिदूत पुरस्कारहरूद्वारा सम्मानित हुन सफल भयो।
    उहाँपछि गिनिज बूक अफ वल्र्ड रेकर्डमा ‘मोस्ट स्टेबल माइन्ड इन दी वल्र्ड’ उपाधिबाट सम्मानित १०४ वर्षकी राजयोगिनी जानकी दादी तथा राजयोगिनी हृदयमोहिनी दादीको नेतृत्वमा आज १४५ देशका करीब ९५०० शाखा, उपशाखामार्फत समस्त विश्वमा शान्ति, एकता, विश्वबन्धुत्व, अहिंसा र पवित्रताको स्थापना गरी मूल्यनिष्ठ समाजको निर्माणमा अहोरात्र तत्पर रहेको छ।
    आज पनि परमात्मा शिवसँगै सम्पूर्ण मानवताका अलौकिक पिता, आदिदेव तथा स्वर्णिम युगका महान् सर्जक पिताश्री प्रजापिता ब्रह्माबाबा निरन्तर सूक्ष्म आध्यात्मिक शरीरको माध्यमबाट हामी ब्रह्मावत्सहरूलगायत सकल मानव आत्माहरूलाई निरन्तर श्रेष्ठ आध्यात्मिक प्रेरणा प्रदान गरिरहनुभएको छ। आजको दिनलाई संसारभरि नै विश्वशान्तिका महानायक प्रजापिता ब्रह्माबाबाले सम्पूर्ण अव्यक्त स्वरूप धारण गर्नुभएको सम्पूर्णता दिवसको रूपमा मनाइँदै छ। यस परमपावन दिवसमा सम्पूर्णमा ब्रह्माबाबासमान आध्यात्मिक ऊर्जाले सम्पन्न बनी स्वर्णिम युगको स्थापनामा सहयोगी बन्ने सामथ्र्य प्राप्त होस् भन्ने हार्दिक मङ्गलमय शुभकामना।
                –ब्रह्माकुमारी रविना

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्