वीरगंजलगायतका विद्यालयहरू तीन दिन बन्द

98

प्रस, वीरगंज, ४ माघ/
    केही दिनदेखि चीसो बढेसँगै वीरगंज महानगरपालिकालगायत पर्सा जिल्लाका पालिकाहरूले विद्यालय बन्द गरेका छन्।
    वीरगंज महानगरपालिकामा प्याब्सन, एन–प्याब्सनले माघ ६ गते मङ्गलवारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरको शिक्षा शाखाले भने शीतलहर सम्बन्धमा प्याब्सन, एन–प्याब्सन र शिक्षक महासङ्घसँग सुझाव माग गरेको तर सुझाव नदिएरै प्याब्सन, एन–प्याब्सनले विद्यालय बन्द गराएको शिक्षा शाखाले जनाएको छ।
    वीरगंजका संस्थागत तथा सामुदायिक विद्यालयहरू आइतवार बन्द रहे। यसैगरी, विन्ध्यवासिनी गाउँपालिकाको शिक्षा शाखाले बढ्दो शीतलहरसँगै माघ ७ गते बुधवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
प्रस, बिरुवागुठी/
    पर्सागढी नगरपालिकामा पनि सामुदायिक तथा निजी विद्यालयहरू शीतलहरको कारण आइतवारदेखि बन्द गरिएका छन्।
    माघ ६ गतेसम्म तीन दिन नगरपालिका अन्तर्गतका संस्थागत तथा सामुदायिक विद्यालयहरू बन्द गरिएको शिक्षा शाखा प्रमुख प्रदीप चौरसियाले बताए। पर्सागढी नगरपालिकामा तीनवटा मावि, आठवटा आधारभूत र पन्ध्रवटा प्रावि सामुदायिकतर्फ छन् भने निजी ८ वटा विद्यालय छन्।
    विद्यालय बन्द गरिएकै दिन आइतवार दिउँसोदेखि घाम लागेको छ।
प्रस, ठोरी/
    ठोरी गापाभित्रका विद्यालयहरू आइतवारदेखि माघ ६ गतेसम्म बिदा गरिएका छन्।
    जाडो बढेको कारण विद्यालय बन्द गरिएको गापाका शिक्षा संयोजक भुपालकुमार जोशीले बताए। उनले जाडो बढेकोले बालबालिकाहरूलाई पठनपाठनमा समस्या भएको हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्