मोबाइललाई जीवनोपयोगी बनाउनुपर्छ

80

अनन्तकुमार लाल दास
    “म मोबाइलबेगर एकछिन बस्न सक्दिनँ।” “मोबाइल नहुँदा अपाङ्ग भएजस्तो ठान्छु।” “एसएमएस सुविधाले त जिन्दगी झनै सरल भएको छ। कसैलाई प्रेम सन्देश पठाउनु छ वा गाली, मात्र एउटा सन्देशले काम हुन्छ।” “गाना सुन्नुप–यो वा कुनै फिल्म हेर्नुप–यो, वा क्रिकेटको स्कोर, घरमैं हुनुपर्छ भन्ने छैन। सबै सुविधा मेरो मोबाइलमैं छ।” यी वाक्य आजभोलिका युवाहरू भन्ने गर्छन्। मोबाइल फोन आज जीवनको अभिन्न अङ्ग बनिसकेको छ। हाम्रो दिनको थालनी र अन्त्य यसैबाट हुन्छ। आज अभिभावकहरू पनि झन्झटबाट जोगिन ससाना केटाकेटीहरूको हातमा मोबाइल फोन राखिदिन्छन्।
    विश्वव्यापीकरणको यस युगमा प्रविधिले यति विकास गरिसकेको छ कि आधुनिक जीवनशैलीको प्रतिविम्ब बनेका उपकरणहरू हरेकको पहुँचमा छ। खेलौनाजस्तो देखिने मोबाइल फोन आज हाम्रो जीवनको हिस्सा बनिसकेको छ। आज यसको माध्यमले विश्वभरि सजिलै कुरा वा च्याट गर्न सकिन्छ। तर विभिन्न शोधले के देखाएको छ भने केटाकेटीका लागि यो अति नै हानिकारक उपकरण हो। नेशनल रेडियोलाजिकल प्रोटेक्शन बोर्ड, ब्रिटेनले मोबाइल फोनबाट हुने खतराबाट केटाकेटीहरूलाई जोगाउन चेतावनी दिएको छ। यसैगरी, जवाहरलाल युनिभर्सिटीमा भएको एक अध्ययन अनुसार लामो समयसम्म मोबाइल फोनलाई कानमा लगाइराख्नाले त्यसबाट निस्कने विद्युत् चुम्बकीय तरङ्गले प्रयोगकर्ताको मस्तिष्कको टिश्यु नष्ट गर्दछ। यस कारण प्रतिवेदनमा १६ वर्ष देखि कम उमेरका केटाकेटीलाई मोबाइल फोन उपयोग नगर्ने सल्लाह दिइएको छ।
    नेपालमा पनि लकडाउनको बेला शिक्षाको रूपमा यसको प्रयोगले ससाना केटाकेटीहरूको हातमा समेत मोबाइल फोन पु–याइदिएको छ र वर्तमानमा यसको माग र प्रयोग दिनानुदिन बढ्दै गएको छ। ससाना केटाकेटी पनि एकअर्काको देखासिकी मोबाइल माग गर्ने र अभिभावकको मोबाइलमा गेम खेल्न थालेका छन्। जब केटाकेटीहरू मोबाइलमा भएको विशेषताहरूबारे अभिभावकलाई जानकारी गराउँछन्, त्यस बेला अभिभावकहरू पनि दङ्ग पर्छन् र आफन्तलाई मेरो छोरा वा छोरी कतिको जान्ने भइसकेका छन् भनी गर्व प्रकट गर्छन्। बजारमा उपलब्ध वा आउने नयाँ मोडेलका मोबाइलहरूबारे अभिभावकभन्दा बढी केटाकेटीहरूलाई थाहा हुन्छ। यही कारण हो उनीहरू पढाइका कुराहरू बिर्सन सक्छन् तर मोबाइलमा भएको गेमको नियम उनीहरूलाई सधैं याद रहन्छ।
    यदि मोबाइल फोनको प्रयोग सही तरीकाले गरियो भने यसबाट अनेकन लाभ प्राप्त गर्न सकिन्छ। मोबाइल एप्स खेलसँगै मनोरञ्जन, विश्वको समसामयिक घटनाबारे अद्यावधि गराउनुको साथै किनमेल गर्न पनि सघाउ पु–याउँछ। यसले बाटो देखाउने र सही बाटो खोज्न पनि मदत गर्छ। आज मोबाइल छ भने क्यामरा लिएर हिंड्ने वा समय हेर्न घडी लगाउनुपर्दैन। नेटको माध्यमले आज पढ्न सजिलो भएको छ, नजानेका कुरा जान्न सजिलो भएको छ। खुशी साटासाट गर्न र दुःख बाँड्न सजिलो भएको छ। मोबाइलको स्पर्श मात्रले साथी वा परिवारका सदस्यहरूसँग फेस–टू–फेस कुरा गर्न सकिन्छ। यसमा हुने विभिन्न प्रकारका सफ्टवेयर जस्तै क्यालकुलेटर, क्यालेन्डर, रेडियो, भ्वाइस रेकर्डर, म्युजिक प्लेयर, भिडियो प्लेयर, टर्च आदिको प्रयोगले घरमा यी सामान राख्नैपर्दैन। टेलिभिजनमा आउने सबैखाले कार्यक्रम जहाँ पनि हेर्न सकिन्छ। वर्तमानमा बिल भुक्तानीका लागि लाइनमा उभिने, कुनै सामान किन्न जाँदा पैसा बोकेर लग्ने आवश्यकता छैन। कहीं जानु छ भने घरमैं बसीबसी टिकट बूक गर्न सकिन्छ। आज विश्वप्रसिद्ध पुस्तक पढ्न कुनै पुस्तकालय जानुपर्दैन। इमेलको माध्यमले जुनसुकै सन्देश जहाँ पनि पठाउन सकिन्छ। लकडाउनको बेला घरमैं बसेर कार्यालयको काम व्यवस्थापन गर्न मोबाइलले सजिलो बनाएको थियो।
    मोबाइलको यति बृहत् उपयोग भएपनि यसको नराम्रो असर केटाकेटीहरूमाथि मानसिकरूपले पर्छ। उनीहरू यसको अभ्यस्त हुन थाल्छन्। उनीहरूका लागि यसबेगर एकछिन बिताउन असम्भव हुन्छ। उनीहरू घण्टौं बन्द कोठामा बसी मोबाइलमा कुराकानी गरिराख्छन्। यसले गर्दा उनीहरूको सोच सीमित हुन थालेको छ। यदि उनीहरूको हातमा मोबाइल छ भने बाहिर निस्कन पनि रुचाउँदैनन्। अभिभावकहरू सुरक्षाको कारण मोबाइल दिएको कुरा स्वीकार्छन्, किनभने उनीहरूलाई के लाग्छ भने मोबाइलले सधैं उनीहरूबीच सम्पर्क रहन सकिन्छ। आफ्ना छोराछोरीलाई समय दिन नरुचाउने अभिभावकहरूले केटाकेटीहरूलाई मोबाइल दिएर यो भन्न चाहेका होलान् कि उनीहरू आफ्नो सन्तानको कति ख्याल राख्छन्। यसरी कलिला केटाकेटीको हातमा हुने मोबाइलको जिम्मेवार अभिभावक स्वयम् पनि हुन् भने अर्कोतिर यदि केटाकेटीहरूको हातमा मोबाइल छैन भने उनीहरू आफूलाई पिछडिएको महसूस गर्छन् र यसको प्रभाव उनीहरूको समस्त क्रियाकलापमा पर्छ।
    मोबाइल फोन आवश्यकताभन्दा बढी आज हरेकको आदत र जीवनमा सामेल हुँदै गइरहेको छ, किनभने आम मानिसको टेलिफोन नम्बर, क्रेडिट कार्ड नम्बर, बैंक अकाउन्ट, प्यान नम्बर सबै मोबाइलमा दर्ज हुन्छ। यसलाई गुमाउनुको अर्थ जीवनको एउटा अहम् हिस्सा गुमाउनु हो। कहिलेकाहीं कुरा गर्दागर्दै जब ब्याट्री डिस्चार्ज हुन्छ, त्यस बेला प्रयोगकर्ताको बेचैनी बढ्न थाल्छ। अबेरसम्म मोबाइलको घण्टी नबज्दा मानिसहरू प्रायः मोबाइलको स्वीच त अफ भएको छैन भनी हेर्न थाल्छन्। बस्दाबस्दै कहिलेकाहीं मोबाइलको घण्टी बजिरहेको जस्तो लाग्छ तर त्यस्तो हुँदैन। यसलाई विज्ञानको भाषामा ‘नोमोफोबिया’ भनिन्छ। यो फोबिया प्लेगजस्तै फैलिरहेको छ। हामी मोबाइलको यति अभ्यस्त भइसकेका छौं कि ब्याट्री डिस्चार्ज भएको बेला वा नेटवर्क बाहिर हुनासाथ तनाव महसूस गर्न थाल्छौं।
    सबैले ध्यान दिनुपर्ने कुरा के हो भने यो बहुउपयोगी भए तापनि एउटा खतरनाक ग्याजेट हो। यसमाथि निर्भर हुँदा हाम्रो प्राकृतिक जागरूकता र सञ्चार सीपमा –हास हुन्छ। यसले हाम्रो छरछिमेकमा रहेका प्रियजनबाट हामीलाई टाढा लगिरहेको छ। एकै घरमा बसे तापनि सातासम्म एकअर्काबीच कुरा नहुँदा सम्बन्ध विच्छेद हुने घटनामा वृद्धि भइरहेको छ। हाम्रो संविधानले गोपनीयताको अधिकार दिएको छ तर हामी स्वयंले यसलाई मोबाइलको माध्यमले गुमाइरहेका छौं। अवाञ्छित क्रियाकलापमा वृद्धि, व्यक्तित्वमा –हास, आर्थिक सङ्कट, इष्टमित्रलाई बिर्सने बानी यसकै नकारात्मक परिणाम हो। यसको बढी प्रयोगले हामी असुरक्षित पनि भइरहेका छौं। हाम्रो स्वास्थ्य खासगरी आँखा, हृदयाघात, निद्रा नलाग्नु यसकै नराम्रो प्रभाव हो। एकातिर मोबाइल फोन धेरैजसो दुर्घटनाको कारण बन्दै गएको छ भने यसबाट साइबर क्राइमको खतरा पनि बढ्दै गएको छ।
    मोबाइल प्रयोगकर्तामाथि भएको शोधले के देखाएको छ भने यसको बढी प्रयोग गर्ने मानिस नपुंसक पनि हुन सक्छ। यस कारण पैन्टको खल्तीमा यसलाई नराख्ने सुझाव दिइएको छ। साथै कमीजको खल्तीमा राखे हृदयमाथि असर पर्न सक्ने सम्भावना देखाइएको छ। मोबाइल बढी प्रयोग गर्ने मानिस प्रायः अवसादको शिकार, टाउको दुख्नु, रिङ्टा लाग्नु, छालामा झम्झमाउनु, जीउ दुख्नुजस्ता रोगबाट पीडित हुने गरेका छन्। एउटै कानले लामो समयसम्म मोबाइल सुन्नाले कानको भित्री कोशिका क्षतिग्रस्त हुन सक्छ र प्रयोगकर्ता कम सुन्ने रोगको शिकार हुन सक्छ। स्वीडेनमा भएको एक अध्ययन अनुसार मोबाइलको अत्यधिक प्रयोग गर्ने मानिसमा सामान्य मानिसभन्दा बढी ब्रेन ट्युमर हुने खतरा अढाई गुणा बढी हुन्छ। जर्मनीमा भएको अनुसन्धानले के देखाएको छ भने मोबाइलको प्रयोग गर्ने मानिसमा उच्च रक्तचाप र ह्दयाघात हुने खतरा बढी हुन्छ। सबैभन्दा ठूलो कुरो आधुनिक युगमा मोबाइल समय कटाउने राम्रो साधनको रूपमा उपयोग हुन थालेको छ भने अर्कोतिर केटाकेटीहरूको स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छ। यस कारण मोबाइलभन्दा बढी ल्यान्डलाइन फोन प्रयोग गर्नु बेस हुन्छ। मोबाइलको सिग्नल कमजोर भएको बेला यसको प्रयोग नगर्नु नै राम्रो हुन्छ।
    अन्त्यमा हरेक कुराजस्तै मोबाइल फोन सकारात्मक र नकारात्मक दुवै हुन सक्छ। उपयोगकर्ताले कसरी प्रयोग गर्छ, त्यो उसमा निर्भर गर्छ। आज मोबाइल जीवनको अभिन्न अङ्ग बनिसकेको छ। यसको अनुचित प्रयोग गर्नुको साटो सावधानीपूर्वक सदुपयोग गर्नुपर्छ र यसलाई जीवनोपयोगी बनाउनुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्