पशुपालकहरू कृत्रिम गर्भधानतर्फ आकर्षित

62


धर्मेन्द्र चौरसिया, पोखरिया, ४ माघ/
    पर्साका गाईभैंसी, बाख्रापालक किसानहरू कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन्। बोका, राँगा, साँडे लगाएर प्राकृतिक गर्भाधान गराउँदा समय र पैसा बढी खर्च हुने गरेकोमा अहिले कृत्रिम गर्भाधान गराउँदा समय र पैसाको बचत देखेर किसानहरू यसतर्फ आकर्षित भएका हुन्।
    पोखरिया नगरपालिकामा मात्र चालू आवको साउनदेखि पुस मसान्तसम्म २८२ वटा कृत्रिम गर्भाधान भएको पशु चिकित्सक कौशलकिशोर झाले बताए।
    प्राकृतिक गर्भाधान गराउने क्रममा पशुपालक किसानहरूले बोका, राँगा, साँडे लगाउनुपर्ने र सोको लागि व्यवस्थापनमा समय खर्चिनुका साथै बोकाबाहेक साँडे र राँगा लगाउँदा प्रतिगाईभैंसी रु ५ सय तिर्नुपथ्र्यो। स्थानीय एकजना किसानले गाईको प्राकृतिक गर्भाधान गराउन सजिलो भएपनि भैंसीको गराउँदा समस्या हुने गरेको बताए।  गाईले कराएर समागमको सङ्केत दिने गरेको तर भैंसीले सङ्केत नदिने भएकोले प्राकृतिक गर्भाधानमा समस्या हुने गरेको उनले बताए। अहिले गाईभैंसीको कृत्रिम गर्भाधानले सहज भएको छ।
    प्रतिगाईभैंसी, बोकाको कृत्रिम गर्भाधान गराउँदा स्थानीय पालिका अन्तर्गत पशु सेवा केन्द्रमा रु २५ मात्र शुल्क तिर्नुपर्छ। कृत्रिम गर्भाधानका लागि पशु सेवा केन्द्रमा लग्नुपर्ने र त्यहाँका प्राविधिकले इन्जेक्सनमार्फत गर्भाधान गराउने भएकोले सजिलो भएको पशुपालकले बताएका छन्।
    कृत्रिम गर्भाधान गराउँदा पशुहरूको नश्ल परिवर्तन भई बढी दूध दिने गरेको किसानहरूले बताए। प्राकृतिक गर्भाधान गराउँदा एकै नश्लको हुने भएकोले गाईभैंसीले कम दूध दिने गरेको किसानहरू बताउँछन्।
    यसैबीच, अहिले पर्सा जिल्लाको स्थानीय पालिकाहरूमा गाईभैंसीमा कृत्रिम गर्भाधान गराउँदा केही समस्या देखा परेको छ। किसानहरूले २० प्रतिशत कृत्रिम गर्भाधान असफल हुने गरेको बताएका छन्। पालिकास्तरमा  गर्भाधान गराउँदा यस्तो समस्या आएको तर यसअघि जिल्लास्तरमा यो समस्या नदेखिएको किसानहरूले बताए।
    कालिकामाई गापाका पशु चिकित्सक मुरलीधर पाण्डेले पालिकास्तरमा नयाँ प्राविधिकहरू नियुक्त भएकाले अनुभवको कमीले केही कृत्रिम गर्भाधान असफल हुने गरेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्