प्रेसकी आमा

115

सञ्जय मित्र

“मेरो काँखमैं आमाले आँखा चिम्लनुभएको हो,” कठोरतालाई सहजतामा जस्तो अनुभूति गराउन अझ अलिक बल गर्दै प्रेसले थप्नुभयो, “आमाले पानी माग्नुभयो, मैले आफ्नै हातले कपासलाई भिजाएर मुखमा पानी हालेको हुँ। देख्दादेख्दै आँखा चिम्लनुभयो।” भन्दाभन्दै प्रेसको गला अवरुद्ध भएको छ।
लमहा खोलामा चिता सजाइएको छ। पुसको जाडो साँझ छ। अब आँखाले टाढा देखिन छाडिसक्यो। मलामी जानेहरू सयौं छन्। कुहिरोले घेर्दै आएको छ। कठ्याङ्ग्रिंदो जाडोमा आमाको अन्तिम संस्कार गर्न बाँकी छ। प्रेससित म छु र मिल्ने साथीहरू पनि छन्। खासमा यतिबेलासम्म लाशलाई जलाएर मलामीहरू फर्किसक्नुपर्ने हो तर प्रेसका एक भाइ हेटौंडाबाट आउनुपर्ने। जङ्गलमा निकै बेर जाममा परेर अब केही मिनेटमा आइपुग्ने सुनिंदैछ।
उता आगोको मोलमोलाइ भइरहेको छ।
प्रेस उनको लाक्षणिक नाम हो। वास्तवमा कतिपय शब्दमा अत्यधिक बलाघात गर्ने बानीलाई कुनै शिक्षकले प्रेस दिएर बोल्ने उपनाम दिएका थिए विद्यालय पढ्दा। प्रेस दिएर बोल्ने मान्छे भनेर प्रेस उपनाम लक्षणको आधारमा राखिंदा पनि बिस्तारै स्वाभाविक नामजस्तै भएको थियो। यस उपनामले कहिलेकाहीं फाइदा पनि दिएको छ उनलाई। प्रेस भनेर स्वाभाविकरूपमा कसैले बोलाउँदा कतिपयले प्रेसको मान्छे वा पत्रकार भनी बुझ्दा छिटो काम भएको पनि अनुभव छ।
अलिक हलुँगो महसूस गरेपछि प्रेसको कथन अगाडि बढ्छ– “मेरी आफ्नै आमा त होइन तर आफ्नी आमाजस्तै हुनुहुन्थ्यो। चार दिन भयो अन्न न पानी भएको, ओछ्यानमा कोल्टो फेर्न पनि सक्नुहुन्थेन। मैले दुई दिन आमाको लुगा फेरिदिएँ। आज बिहानदेखि मलाई कस्तो कस्तो लागिरहेको थियो, शायद मैले कुरो बुझिसकेको थिएँ। मैले खाना नै खाइनँ, खानै मन लागेन। दिउँसो इशाराले मलाई आमाले बोलाउँदा म पुगेको हुँ। आमानजीक स्वाभाविकरूपमा बसें र आमाको टाउकोलाई आफ्नो तिघ्रामा राखेर छोरीलाई पानी ल्याउन अ–हाएँ।” केही सेकेन्ड रोकिएर प्रेसले थप्नुभयो, “अरू दिनभन्दा आमाको अनुहार उज्यालोजस्तो लाग्यो र अन्तर्हृदयबाट केही हराउन लागेको अनुभूति भयो। आमाको अनुहारमा सन्तोषको एउटा आभा देखेजस्तो भएको थियो। आमाले मलाई हेर्दै हुनुहुन्थ्यो। अनुहारमा हेर्दाहेर्दै नै आँखा चिम्लनुभयो।”
प्रेसको मोबाइल साइलेन्ट मोडमा छ। खल्तीमा उज्यालो बलेपछि झिकेर काननजीक लैजाँदै, “सोझे घाटेपर आबा, हमनी इँहमे तोहर पैंडा तकैछी” भन्नुभयो र मोबाइल फेरि खल्तीमा हाल्दै “उहाँका आफ्नै छोराहरूभन्दा म आफूलाई भाग्यमानी ठान्दछु। आज म सौताको छोरा होइन, आफ्नै कोखको छोराजस्तै भएको छु। आमाले पनि मलाई सोही दर्जा जाँदाजाँदै दिनुभयो।”
यति भन्दै प्रेसले अगाडि पाइला सार्दै फेरि थप्नुभयो, “भाइको फोन थियो। अब पाँच–सात मिनेटमा आइपुग्छ। हामी आगोको झन्झट सल्टाऔं अब।”
शेषअघि र शेषपछि अरूभन्दा बढी जिम्मेवार देखिएका छन् प्रेस। कोही पनि आमाबुबाका सबै सन्तान एकैनासले जिम्मेवारी वहन गर्न सक्दैनन्। कोही अलिक बढी व्यावहारिक भएर काम गर्ने हुन्छन् र कोही अ–हाए–खटाएको गर्ने पनि हुन्छन्। प्रेसमा आफैं अगाडि बढेर काम गर्ने क्षमता छ।
एउटा डोम परिवारले आगोको दुई कट्ठा खेत र पचास हजार रुपैयाँ मागिरहेको छ।
उतैतिर हाम्रा पाइलाहरू अगाडि सर्छन्।
प्रेसका दुई आमा। जन्म दिने आमा अलिक पहिल्यै परलोक जानुभएको हो र सौतेनी आमाले पनि आँखा चिम्लनुभयो आज। आमाविहीनताको सम्पूर्णतः अनुभूति अझै हुन बाँकी छ। “कात्रोमा बेरिएर चितामा सजिएको लाश मेरी आमा हुन्” अभ्यन्तरबाट अनायास बाहिर फुत्कन्छ प्रेसको।
प्रेस दुई दाजुभाइ। दुवै आमाका दुई/दुई। खासमा हेटौंडामा जागीर खाने भाइकी आमा अहिले चितामा सजाइएकी। तर प्रेसलाई कहिल्यै सौतेनी आमाको अनुभूति भएन र आमालाई पनि सौताको छोरा प्रेस नभएको जीवनको अन्तिम घडीमा पनि प्रमाणित भयो।
“हम कम्तीमे एक कट्ठा खेत लेहम न त आगी ओहिना लेजाऊ” डोमको नवयुवक छोरोले अलिक झोक्किएर बोलेपछि सबै एकछिन शान्त हुन्छन्। एकदम मुर्दा शान्ति।
उनको तर्क छ– मैले भर्खर गाउँ किनेको छु, आफ्नो मौसाबाट। एक लाख रुपैयाँ र दश जोडा सुङ्गुर तिर्नुपरेको छ गाउँ किन्न। अझ मेरो पुरानो खरपुरबा गाउँलाई पनि दिनुप–यो। म अलिकति पढेलेखेको छु भनेर न यति लगानी गरेको छु गाउँमा। अनि यति ठूलो महाजनको घरमा मरनहरन हुँदा पनि मैले केही पाउन सकिन भने नगरपालिकाको फोहोर बहारेर मेरो गुजर जान्छ ?
उनको प्रश्न पनि जायज छ, आफ्नो ठाउँमा। जायज छ भन्दैमा लाश जलाउने आगो किन्न कसैले एक कट्ठा खेत दिन्छ ? आजसम्म कतै कसैले दिएको छ ?
बगरको बालुवामा एक जोडी स्याल हो कि फ्याउरो ? मैले छुट्याउन सकिनँ तर सन्नाटालाई चिर्दै सम्झाउने पाराले संवादलाई अगाडि बढाएँ– “आगीके राजा तू त गाँओके ही राजा। राजा होके अपना प्रजासे एतना कर लेबहू त केना होतई ? कुछ कम करहू न त मरेके बेर लोग दोसरा गाँओमे जाए लगतई।”
अरूलाई पनि अलिक बल मिलेछ क्यारे। नवयुवक डोमलाई त गाउँको राजा भएर प्रजालाई लाश जलाउने आगोको मूल्य धेरै लिनुहुँदैन, प्रजा दुःखी हुन्छन् भनेर फकाउन शुरू गरेछन्। आखिरमा उनले सबैको कुरा मान्न बाध्य हुनुपरेछ। पाँच हजार रुपैयाँ नगद, चार जोडी बाँस र दुई जोर साडी दिन तयार भएपछि खुशी भएछन्। “राम नाम सत हए, सबके इहे गत हए” भन्दै मुखाग्नि दिने बाटो खोलिदिएछन्।
अलिक अप्ठ्यारो भएपनि भाइ बाइक लिएर घाटैसम्म पुगेछ। बाइकको साउन्ड रोकिंदा उनको कण्ठको रोदनले वातावरणलाई फेरि अर्कै बनाइदिन्छ। प्रेसको गला पनि अवरुद्ध हुन्छ। दाजुभाइ एकअर्कालाई अँगालोमा बाँधेर केहीबेर ह्वाँ–ह्वाँ रुन्छन्। सजाएर राखिएको चितामा चिर निद्रामा रहेको आमातिर दाजुभाइका पाइला बढ्छन्।
चारै दाजुभाइ सम्भवतः धेरै वर्षपछि यसरी एकसाथ आमाको मुख हेर्दैछन्। हुनत ग्यास सिलिन्डरको मिन्टलको ठूलो प्रकाश छँदैछ तर छेउमा उभिएका एकजनाले आमाको अनुहार देखाउन मोबाइल बाल्छन्। आमाको अनुहार अन्तिम उज्यालो यही भइदिन्छ। यही अनुहार हेर्न छोरो हेटौंडाबाट फर्किन पाँच घण्टा लगाएको हो। छोरो आएपछि अन्य कर्म अगाडि बढाउनुपर्छ भन्दै सबै लमहामा पर्खेर बसेका हुन्।
नवयुवक डोमले मुख खोलेको सुनिन्छ– “अभी अएलन ह से हाकिम साहे छथिन, हमरा त आउरो चाहिं।” भर्खर आएको मानिस हाकिम हुनुहुन्छ। मलाई त अझै पनि चाहिन्छ। म ठगिएँ। प्रेसको मात्र आमा भन्ने ठानेको थिएँ। अहिलेसम्म त आगोको राजा म छु र यस गाउँको राजा पनि मै हुँ। एकजनाको आमाको मात्र मैले पाएको छु, अर्काको आमाको मलाई अझै चाहिन्छ।
बढ्यो लफडा। सन्तुष्ट भइसकेको नवयुवकले फेरि कताबाट के थाहा पाए र अत्तो थापिहाले।
हाकिम भनाउँदो युवकको प्रश्न आउँछ– “के भनेको ? कसरी राजा हुन्छ कोही ? आमा बित्नुभएको छ मेरो र कोही लाशको राजा कसरी हुन्छ ?”
एक बुजुर्गको सान्त्वना आउँछ प्रत्युत्तरमा– “संस्कार र संस्कृति ठूलो कुरो हो। मृत्यु संस्कारमा गरिने मुखाग्निको आगोमाथि डोम जातिकै हक लाग्छ। उनीहरूले आगो नदिएसम्म मुखाग्नि कर्म हुँदैन। यो हाम्रो सनातन चलन हो र यसलाई नमान्ने हो भने हामी यसरी यहाँ आउनुको कुनै अर्थ रहँदैन। बौआ, अहिले उनको हक लाग्छ। उनलाई सन्तुष्ट नपारी खुशी नतुल्याइ आमाको मुखमा आगो लगाउने हो भने आमाको आत्माले शान्ति पाउँदैन।”
नवयुवक अलिक तर्केर बोलेको छ– “प्रेस त हामीलाई अँध्यारो–उज्यालोमा पनि काम लाग्छन् तर हाकिमसित हाम्रो कुनै कामै पर्दैन। हाम्रो समाजको सदस्य नै होइन। अब उनकै आमा हो भने हामी आगो दिन्नौं र उनलाई जसरी कर्म गर्नु छ गरून्।”
नवयुवकमा नयाँ जोश हुन्छ। तर्क गर्ने क्षमता हुन्छ। उनको तर्कअगाडि सबै अवाक्। आखिर संस्कृति र संस्कारलाई नाघ्न सजिलो छैन नि। नवयुवकले भनेको पनि सत्य हो– समाजमा सहयोगको लेनदेन भइरहन्छ। जो समाजसित जस्तो सम्बन्ध राख्न सक्छ, समाजले पनि ऊसित त्यस्तै सम्बन्ध राख्न सक्छ।
हाकिमले केही बोल्न चाहेका हुन्छन् तर बूढापाकाहरूको प्रेमपूर्ण हप्काइले मुखले केही निकाल्न सक्दैनन्।
युवकको जीत भएको मानिन्छ। युवकलाई थप एक हजार थपिन्छ– हाकिमले अनावश्यक प्रतिवाद गरेको जरिवानास्वरूप। राजाको मुखमुखै लाग्नुहुँदैन, यद्यपि तर्क र बहस आफ्नै किसिमले गर्न सकिन्छ। राजा हो, सबै कुरा माफ पनि गर्न सक्छन्।
चारजना प्रेस दाजुभाइ र काकाको एक छोरा गरी पाँच दाजुभाइ मिली मुखाग्नि गर्दै परिक्रमा गर्दछन्। हरेकपटक एकचोटि अलिक ढलेजस्तो गर्नुपर्छ। पाँचौंचोटिमा प्रेस साँच्चै ढल्दछन्। सबैलाई कर्म गरेको जस्तो लाग्दछ र पाँच–सात सेकेन्डसम्म नउठ्दा भने शङ्का लाग्छ। पहिलेदेखि नै अलिक गम्भीर प्रकृतिका मान्छे, अति समवेदित भएर मूर्छित भएछन्। एक मिनेटजतिमा होश खुल्छ, सबै आत्तिइसकेका हुन्छन्। वातावरण शान्त हुन्छ।
म सान्त्वना दिन्छु।
प्रेसको मुखबाट निस्कन्छ– “आमालाई जलाउँदैछु। यो कुरो मनमा उम्रनासाथ एकैचोटि भूकम्प आएजस्तो ठूलो रिङ्टा चल्यो अनि म ढलें।”
अरूलाई सम्झाउन र बुझाउन सजिलो जस्तो लाग्छ तर आफैंलाई परेपछि भने आफैंलाई बुझाउन निकै कठिन हुँदो रहेछ।
केही मिनेटपछि आगो ह्वार्रह्वार्ती बल्न थाल्छ। चिताको आगोको लप्काले लमहा नदीको किनारलाई उछिनेको छ। उज्यालोले टाढाको उखु पनि देखिन्छ। अघि स्यालजस्तो देखिएको ठाउँतिर शून्यताबाहेक केही देखिंदैन।
जलिरहेको चिताभन्दा अलिक टाढा उज्यालोमा कोही सेल्फी लिइरहेका छन्। हामी करीब एक दर्जन जतिले प्रेस दाजुभाइलाई घेरेको जस्तै गरेर एकातिर बसेका छौं। किरिया बोक्ने हाकिम नै हुन्। किरिया कि त कान्छोले कि त जेठोले बोक्नुपर्छ। हाकिम भने अघिदेखि मौन छन्।
“अब मैले कसलाई आमा भनेर बोलाउने होला ? मैले खाएको र नखाएको कसले विचार गर्ने होला ?” प्रेसका प्रश्नहरू निस्कँदा आवाजमा चिन्ताको गहिरो आभास छ कि आमाप्रतिको अनुराग बुझ्न सजिलो लाग्दैन। करीब साठी वर्षका प्रेसका यी प्रश्नको उत्तर कसले दिने ? घरको पूर्णतः अभिभावकलाई मर्यादाको अभिभावक गुमेको अनुभूति झल्कन्छ।
“आमाले अब यस्ता सबै जिम्मेवारी तपाईंको काँधमा हस्तान्तरण गर्नुभएको छ, अनि त तपाईंको काखमा अन्तिम सास बिसाउनुभयो ?”
अँध्यारोबाट अपरिचितको स्वरप्रति सकारात्मक टाउको हल्लाउँछन् प्रेस।
लकडीको टुक्राटाक्री बाँड्दै एकजना आउँछन्। सबैका हातमा पाँच/पाँच वटा थमाउँछन्। मुठीमा सजिलै अटाउने पाँचवटै लकडीमध्ये दायाँ हातमा तीनवटा र बायाँ हातमा दुईवटा राख्ने कि बायाँमा तीन र दायाँमा दुई ? यस विषयमा अलिक कुरो चल्छ। महिलाको मृत्यु भएकोले बायाँ हातमा तीनवटा राख्नुपर्ने संस्कार छ भनेपछि त्यहाँका सबैले त्यसै गर्दछन्।
अब आगो जसरी पनि निभ्दैन। एकै छिनमा खरानी भइहाल्ला सबै। यस्तो भएपछि किरिया बोक्नेलाई अगाडि सार्दै खोलामैं अलिक माथि नुहाउनलाई अगाडि बढ्छन् सबै। हातको लकडीको टुक्रो पछाडितिर फाल्दै सबैले बोल्छन्– “राम नाम सत हए, सबके इहे गत हए…।”
रात छिप्पिइसकेको छ। हतारहतार डुबुल्की मार्दै निस्कन्छन् सबै। खोलाको पानी चीसो न चीसो छ। झन् अलिक हावा पनि चलेको अनुभूति हुन्छ। जाडोले मुटु काम्दैछ सबैको।
खोलाबाट निस्कँदै गर्दा सबैलाई विचित्र हतार छ। कोहीकोही किनारबाटै घरमा फोन गर्दछन्– टोक्नुपर्ने रातो खुर्सानी र एक लोटा पानी लिएर ढोकामा उभिराख, आइहालें।
जाडो भएको छ कि छैन, प्रेसलाई कुनै अनुभूति छैन। कुनै हतार छैन। उल्टो बन्चरो काँधमा बोकेर पहिले आएको बाटो काट्दै प्रेस घरतिर अगाडि बढ्छन्। किरिया बोकेको भाइ सबैभन्दा अगाडि छ। लस्कर पछाडि हिंड्दैछ मानिसको। कसैले पनि पछाडि फर्केर हेर्नुहुँदैन।
मित्रनगर, गरुडा नगरपालिका–४, रौतहट
लेखक परिचयः सञ्जय मित्र बज्जिका र नेपालीमा लेख्ने गर्दछन्। मध्यरौतहट बहुमुखी क्याम्पसमा स्नातक तहमा नेपाली विषय अध्यापनरत मित्र कविता, लघुकथा, कथा, समालोचना र संस्कृति तथा इतिहासपरक अनुसन्धानमूलक लेख पनि लेख्छन्। पत्रकारितामा रुचि राख्ने मित्रका विभिन्न विधाका गरी १२ कृति प्रकाशित छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्